arrow

नेपालमा कोरोना बिरुद्धको खोप: कहाँ र कसरी लगाउन पाईन्छ ?

चार लाख बढीले लगाइसके खोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १८ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं । सरकारले फागुन २३ गतेबाट दोस्रो चरणको खोप अभियान अघि सारेको छ ।भारतको सेरम इन्स्टिच्युटबाट सरकारले खरिद गरेको २० लाख डोज खोप देशभरका ६ हजार भन्दा बढी खोप केन्द्रबाट लगाइने भएको हो ।

यो खोप सुरुमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।

खोप लगाउने स्थानहरु
प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्र एवं अस्पताल गरेर देशभर ६ हजारभन्दा बढी खोप केन्द्र रहने खोप शाखाका प्रमुख डा. झलक शर्माले बताएका छन् ।

तोकिएका स्वास्थ्य केन्द्रमा गएर २३ गतेदेखिको खोप अभियानमा ५५वर्षभन्दा माथि उमेरका नागरिकहरूले खोप लगाउन सक्नेछन् ।

उमेर प्रमाणित गर्ने कागजात
उमेर प्रमाणित गर्ने कागजातका रूपमा नागरिकता एवं अन्य परिचय खुलाउने कागजात लगेर खोप लगाउन सकिने खोप शाखाका प्रमुख डा. शर्माले बताएका छन् ।

यस्तो परिचयपत्र नभएका व्यक्तिहरुले वडा कार्यालयको सिफारिस बोकेर पनि खोप लगाउन सक्नेछन् ।

कसले लगाउन मिल्दैन ?
सेरम इन्स्टिच्युटले उत्पादन गरेको यो कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी छ । त्यस कारण सबैजसोले खोप लगाउन सक्नेछन् ।

तर, सुरुको डोज खोप लगाएर एलर्जीको समस्या देखिएका व्यक्तिहरुले भने खोप लगाउन नमिल्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले बताएका छन् ।

यसबाहेक, गर्भवती महिलालाई पनि खोप लगाउन निर्णय भएको छैन । केही अध्ययनले गर्भवती महिलाले लगाउँदा पनि सुरक्षित देखिए पनि सरकारले कस्तो निर्णय गर्छ भन्ने कुरा बाँकी रहेको डा. बास्तोलाले बताए ।

उच्च ज्वरो र सिकिस्त बिरामी भएका व्याक्तिहरु र १८ वर्षभन्दा मुनिका किशोरकिशोरी एवं बालबालिकाहरु पनि खोप नलगाइने खोप शाखा प्रमुख डा. शर्माले बताएका छन् ।

चार लाख बढीले लगाइसके कोरोना बिरुद्धको खोप
नेपालमा गत माघ १४ गते पहिलो चरणको खोप अभियान सुरु भएको थियो । भारत सरकारले अनुदान स्वरूप दिएको १० लाख डोज खोप पहिलो अभियानमा स्वास्थ्यकर्मी एवं अग्र भूमिका निभाउनेहरुले लगाएका थिए ।जसअन्तर्गत ४ लाख २९ हजार ७०५ जनाले खोप लगाइसकेका छन् ।

फागुन २३ गतेबाट २० लाख डोज खोप लगाउने गरी दोस्रो चरणको खोप अभियान सुरु हुनेछ ।

थप ५० लाख खोप खरिद गर्दै सरकार
दोस्रो चरणको खोप अन्तर्गतका १० लाख नेपाल भित्रिइसकेको अवस्था छ भने, बाँकी १० लाख यसै हप्ता नेपाल भित्रिँदै छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले बाँकी १० लाख खोप यसै हप्ता नेपाल आइपुग्ने बताएका हुन् ।
दोस्रो चरणको खोप अभियानकै क्रममा थप ५० लाख डोज खोप खरिद गर्ने तयारी अघि बढाएको प्रवक्ता डा. गौतमले बताए ।भारतको सेरम इन्स्ट्यिुटले नै उत्पादन गरेको खोप तेस्रो चरणका लागि खरिद पक्रिया अघि बढेको हो ।

कोभ्याक्स खोप कहिले आउँछ ?
विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)लगायतका संस्थाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराउने खोप पनि फागुन अन्तिमसम्म नेपाल आइपुग्ने भएको छ ।

विभिन्न चरणमा गरेर २० प्रतिशत जनताका लागि उपलब्ध गराइने कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणको खोप नेपाल भित्रिने भएको हो ।

चीनले ८ लाख खोप अनुदानमा दिने
चीनले नेपाललाई अनुदान स्वरूप दिने भनेको खोपको मात्रा ८ लाख पुर्‍याएको छ । सोमबार काठमाडौं स्थित चिनियाँ दूतावासले ८ लाख खोप अनुदान स्वरूप दिने जनाएको हो ।

चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्म र सिनोभ्याकले उत्पादन गरेको खोप चीनले अनुदान स्वरूप दिनेछ ।
यो खोप मृत भाइरसको अंशबाट बनेको हो । फाइजर र मोडर्नाले बनाएका एमआरएन खोप नयाँ पद्धतिका मानिन्छन्, भने यो खोप पुरानो पद्धतिको मानिन्छ ।

कति प्रभावकारी छ चिनियाँ खोप ?
लान्सेट जर्नलमा प्रकाशित चिनियाँ अध्ययनमा यो खोपको पहिलो र दोस्रो चरणको जानकारीमा मात्रै उल्लेख छ ।
उक्त अध्ययनका लेखक झु फेंग्काइका अनुसार १४४ जनामा गरिएको पहिलो र ६०० जनामा गरिएको दोस्रो चरणको परीक्षणबाट खोप सुरक्षित र प्रभावकारी देखिएको छ ।

विभिन्न देशमा यो खोपको तेस्रो चरणको परीक्षण पनि जारी नै छ भने, धेरै देशमा यो खोप लगाउन थालिएको छ ।
टर्कीमा गरिएको परीक्षणले यो खोप ९१.२५ प्रतिशत प्रभावकारी देखाएको थियो भने इन्डोनेसियामा गरिएको परीक्षणले ६५.३ प्रतिशत प्रभावकारी देखिएको थियो ।

ब्राजिलमा सुरुमा गरिएको परीक्षणमा ७८ प्रतिशत प्रभावकारी देखिएको थियो भने, दोस्रो पटकको परीक्षण ५०.४ प्रतिशत प्रभावकारी देखिएको थियो ।

गत डिसेम्बरमा सिनोफार्मले यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको बताएको थियो । तर, युएईमा गरिएको परीक्षणबाट यो खोप ८६ प्रतिशत प्रभावकारी देखिएको थियो ।

कति प्रभावकारी छ भारतीय खोप ?
भारत विश्वकै सबैभन्दा ठुलो खोप उत्पादक हो । विश्वभर उत्पादन हुने खोपको ६० प्रतिशत भारतमा मात्रै उत्पादन हुन्छ ।
अक्सफोर्ड र एस्ट्राजेनेका मिलेर विकास गरेको खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।सेरम विश्वकै सबैभन्दा ठुलो खोप उत्पादक कम्पनी पनि हो । यसले मासिक ५ करोड डोज खोप उत्पादन गर्छ ।

यो खोप कमजोर किसिमको रुघाखोकी गराउने भाइरस (एडेनो भाइरस)बाट बनेको हो । र यो भाइरस चिम्पान्जीबाट लिइन्छ ।यसलाई बदलेर कोरोना भाइरस जस्तै बनाइन्छ तर, शरीरलाई कुनै असर गर्दैन ।

शरिरमा हालिसकेपछि यसले कोरोना भाइरसको संक्रमणबाट जोगाउँछ ।अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणबाट ९० प्रतिशत प्रभावकारी देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ