arrow

सरकार-विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
Biplop_barta.jpg

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित दलबीच पहिलो चरणको वार्ता भएको छ ।

उच्च स्रोतका अनुसार सरकारी वार्ता समिति र विप्लव समूहको वार्ता समितिबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार भित्रै पहिलो चरणको वार्ता भएको हो ।

वार्तामा सरकारी पक्षबाट वार्ता समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सदस्य राजन भट्टराई सहभागी थिए भने विप्लव समूहतर्फबाट वार्ता समिति संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

पहिलो चरणको वार्ताका क्रममा सरकार पक्षसमक्ष विप्लव समूहले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताहरुको रिहाइ तथा प्रतिवन्ध फुकुवासहित आफ्ना नेताहरुमाथि लगाइएका मुद्दा खारेजीको माग गरेको छ ।

सो मागका सम्वन्धमा सरकार पक्षको वार्ता समितिले भने सकरात्मक जवाफ दिएको स्रोतले जनाएको हो । वार्ता सकरात्मक दिशामाअघि बढेको स्रोतको भनाइ छ ।

सरकारले मंगलबार गृहमन्त्री थापाको नेतृत्वमा दुई सदस्सीय वार्ता समिति बनाएको थियो भने हिजो नै विप्लव समूहले समेत वार्ता समिति गठन गरेको थियो ।

सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता समिति बनाए पनि सो समूहमाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरि लगाएको प्रतिवन्ध भने अझै फुकुवा गरिसकेको छैन । सरकारले सो समूहमाथि २८ फागुन २०७५ मा प्रतिवन्ध लगाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ