arrow

महाशिवरात्रीका दिन दुई किसिमका विशेष पूजा

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन १९ बुधबार
millankumar-thapa.JPG

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण  एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।

हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रीको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रीका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए ।

केही दिन अघि मात्रै पशुपतिनाथ मन्दिरमा १०८ केजी सुनको जलहरी राखिएसँगै अघिल्लो सालको शिवरात्रीको तुलनामा यसपटक दर्शन गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य बढोत्तरी हुने कोषाध्यक्ष डा. थापाले बताए ।

महाशिवरात्रीका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो ।

 गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ