arrow

वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितताको चाङ

छानबिन गर्न स्वास्थ्य मन्त्रालयले बनायो समिति

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
bir-trauma.jpg

काठमाडौँ । देशकै ठुलो अस्पताल तथा स्वायत्त प्रतिष्ठान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता छानबिन गर्न स्वास्थ्य मन्त्रालयले समिति बनाएको छ ।  स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय   (सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा) को गत ५ फागुनको पत्र साथ संलग्न उजुरी तथा स्वास्थ्य मन्त्रालयका सचिवलाई सम्बोधन गरी परेका उजुरीका आधारमा वीर अस्पताल तथा ट्रमा सेन्टरमा भएको अनियमितता छानबिन गर्न समिति बनाएको हो ।

गत १३ फागुनको नेपाल सरकार सचिव स्तरीय निर्णयबाट बनाइएको चार सदस्सीय छानबिन समितिको संयोजकको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीलाई दिइएको छ ।   समितिको सदस्यहरूमा वीर अस्पतालका उपसचिव दीपक घिमिरे, स्वास्थ्य मन्त्रालयकै शाखा अधिकृत दीपक रिजाल र ट्रमा सेन्टरका शाखा अधिकृत जुना खड्का खत्री तोकिएका छन् ।  समितिलाई सत्य तथ्य छानबिन गरी १५ दिन भित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

दुवै अस्पतालका नेतृत्वले बनाए बिजोग
यी दुवै अस्पतालमा अनियमित रूपमा कर्मचारी भर्ना गरिएको, सरुवा र कमिसनमा आफू निकट व्यापारीसँग सामान खरिद गरिँदै आएको कर्मचारीहरूले नै बताउँदै आएका छन् । ट्रमा सेन्टरको क्यान्टिनको टेन्डर मासमेत गलत प्रक्रिया अपनाइएको भनिएको छ ।  सबैभन्दा जुनियर डाक्टर भएर पनि भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा  ट्रमा सेन्टरको निमित्त निर्देशक बनेका डा. सन्तोष पौडेल लगायत आइसियु र ओटी प्रमुखको मिलेमतोमा अनियमित कर्मचारी भर्ना, ठेक्कापट्टा, अस्पतालभित्रै व्यापार गरिरहेको कर्मचारीहरूकै आरोप छ ।

टेन्डरमा गुणस्तरीय र सस्तो उपकरण दिँदा पनि यो समूहले कमिसन लिँदै महँगोमा करोडौँको सामान खरिद गरिरहेको स्रोतको दाबी छ । सो सम्बन्धमा उच्च अदालतमा समेत मुद्दा दायर भएको जनाइएको छ । यो समूहले २० जना भन्दा बढी स्टाफ नर्स १० जना फार्मेसीमा कर्मचारी गैर कानुनी तरिकाले नियुक्ति गरेका छन् ।

सामान्य बिग्रिएको उपकरण नबनाउने, कमिसनको कारण नयाँ किन्ने गरिएका गुनासो पनि छ । २० करोडमा किनिएको इन्टा अट सिटी १ वर्षदेखि सञ्चालन नगरी थन्काएर राखिएको छ । सिटी स्क्यान एक महिनादेखि बिग्रिएको छ । कर्मचारीले बनाउन माग गर्दा पनि निर्देशक डा. पौडेलले ध्यान नदिएको गुनासो छ । यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण बिरामीहरू परेका छन् । बिरामीलाई सिटी स्क्यान र एमआरआई गर्न निजी अस्पतालमा पठाएर सो अस्पतालमा मासिक कमिसन लिने गरेको कर्मचारीहरूको आरोप छ ।
 
कतिसम्म भने ट्रमा सेन्टरमा भर्ना भएका बिरामीको अपरेसन गर्दा प्रयोग हुने सर्जिकल सामान इम्पान्ट (पाता,स्क्रु),स्पाइनल सर्किजल सामान जो एकदेखि तीन लाखसम्म पर्छ सो सामान डा. पौडेलले त्रिपुरेश्वरको एक व्यापारी मार्फत अस्पताल भित्रै ओटी अगाडि र वार्डको बेड बेडमै बोलाएर बिरामीलाई किन्न लगाएर कमिसन लिने गरेको स्वयं कर्मचारीहरूले नाम नबताउने शर्मा बताएका छन् ।

यसै गरी बिरामीलाई अपरेसन गर्दा प्रयोग हुने बेहोस गराउने सामान र आइसियुको सामान डा. नवीन पोखरेलले आफ्नै ससुराको फर्ममार्फत निर्देशक पौडेलको मिलेमतोमा बिना टेन्डर फार्मेसीमा राख्न लगाइ महँगोमा किन्न बाध्य बनाएको पनि आरोप छ ।  यसै गरी ट्रमा सेन्टरमा बिरामीको स्याहार गर्ने र कपडा धुने तथा सरसफाइ गर्ने ७० जना कर्मचारीहरूसमेत आफूहरूलाई अस्पताल प्रशासनले बिना जानकारी नआउनु भनेको र अस्पताल आउँदा फर्काएको भन्दै गुनासो गर्दै हिँडिरहेका छन् ।

यस्तै वीर अस्पतालको खरिद एकाइमा पाँच  वर्षदेखि व्यापारीसँग मिलेमतोमा बसिरहेको समूहका कतिपयलाई कारबाही गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयको सुशासन एकाइसमेतले निर्देशन दिए पनि स्वास्थ्य सचिव र मन्त्रीले हालसम्म कुनै कारबाही गरेका छैनन् ।  बरु संरक्षण गर्दै आएका छन् ।

निर्देशक केदार सेन्चुरी, खरिद प्रमुख नर्स भगवती थपलिया, लगायतलाई छानबिन गर्ने अख्तियार दुरुपयोग आयोगमा एक दर्जन भन्दा उजुरीसमेत परेको छ । सो सम्बन्धमा वीर अस्पतालका कर्मचारीहरूले बोल्दा खरिद प्रमुख भगवती थपलिया सिधै डर देखाउने, धम्काउने, सरूवा गर्दिने भन्दै हिँडने गरेकी आरोप छ ।

कर्मचारीले उपकुलपति समक्ष सो विषयमा गुनासो गर्दा नसुनेको आरोप छ । वीर अस्पताल खरिद एकाइले कोरोना महामारीको समयमा विभिन्न सामान खरिद,  मर्मत सम्भार, पाटेशन गर्दा दश करोड भन्दा धेरै भ्रष्ट्राचार गरेको वीरका लेखा, प्रशासन र बेरुजु शाखाका कर्मचारीहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ