arrow

भागिरथी हत्या प्रकरण : आरोपित भट्टमाथि अनुसन्धान गर्न अन्तिम पटक म्याद थप

logo
प्रकाशित २०७७ फागुन १९ बुधबार
bhagirathi-hatyara1.jpg

बैतडी  । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।

बुधवार जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच दिनका लागि अनुमति मागेको हो ।  दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको आरोप छ । उनले उक्त आरोप स्वीकारीसकेका छन् ।

गत माघ २१ गते भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेशलाई फागुन ४ गते पक्राउ गरेको थियो । पक्राउ गरेसँगै दिनेशविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो ।  

अनुसन्धानका लागि प्रहरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधबार चौथोपटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्रहरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअनुसार  अन्तिम तथा चौथोपटक म्याद थप भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

“अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन”, उनले भने, “एक-दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ ।” हाल प्रहरीले घटनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ । प्रहरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ ।  

दिनेशको डिएनए परीक्षणका लागि काठमाडौँ प्रयोगशालामा पठाइएको र रिपोर्ट  नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्रहरीले बताएको छ । यसअघि भागरथीको पनि भजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन । जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ ।  

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा वीभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ