arrow

तराईमा दुई प्रदेश नहुने र पहाडसँग पुरै नछुट्याउने एमालेको बटमलाईनः सचिव आचार्य

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
726319892.jpeg
काठमाडौ । नेकपा एमालेका सचिव भीम आचार्यले सम्पूर्ण मधेसलाई दुई प्रदेश बनाउने मधेसी मोर्चाको माग कुनै पनि हालतमा पुरा नहुने भन्दै यो नेकपा एमालेको बटमलाईन भएको स्पष्ट पारेका छन ।  रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ तराईमा दुई प्रदेश कुनै पनि हालतमा हुँदैन, यो नेकपा एमालेको बटमलाईन हो । मधेसलाई पहाडसँग पुरै छुट्याउने काम पनि हुँदैन । दुई चार प्रतिसतले विदेशीको बुई चढेर मुलुकलाई ९५ प्रतिसत जनताको घाटी थिच्नेकाम कुनै पनि हालतमा सहिदैन ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा आचार्यले सरकारले धेरै आन्दोलनकारी शक्तिहरुसँग विगतमा सम्झौता गरेको र ती सम्झौताहरुले एकले अर्कोको माग काटेको सबै माग लागु हुन नसक्ने ठोकुवा गर्दै मधेसी मोर्चासँग भएको ८ र २२ बुँदे सम्झौता सम्पूर्ण रुपमा लागु भईसकेको दावी गरे । उनले भने,‘मधेसमा एक वा दुई प्रदेश बनाउने भनेर सम्झौता भएको छैन । समग्र तराईलाई मधेस प्रदेश बनाउने हो भने चुरे भावरसँग गरेको सम्झौता के गर्ने ? जनतालाई भ्रममा पारेर आफ्नो माग पुरा गर्ने माग मानिदैन ।’ आचार्यले नेपाली काग्रेस नेतृत्वको सरकारले ब्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्तावमा एमालेको समर्थन रहेको स्पष्ट पार्दै तर संविधान संसोधन भएपछि आन्दोलन रोकिनु पर्ने बताए ।

उनले भने,‘ संविधान संसोधन गरेपछि मधेस आन्दोलन रोकिनु पर्छ भन्ने पर्छ । संविधान संसोधन भएरपनि आन्दोलन रोकिएन भने सरकारले शक्ति प्रस्तुत गर्छ ।’  आचार्यले आन्दोलनकारीलाई भात खुवाउने, आफ्नो मान्छे आन्दोलनमा पठाउने छिमेकीको काम ठिक नभएको भन्दै अर्काको स्वार्थ पुरा गर्न  संविधान संसोधन गर्न नसकिने स्पष्ट पारे । 

उनले सुनसरी मोरङ्ग र झापाका ९५ प्रतिसत जनताले अहिलेको एक नम्बर प्रदेशमा बस्न चाहेको दावी गर्दै दुई नम्बर प्रदेशमा हुनु पर्छ भन्नेहरु अहिले एक दुई सय कराई रहेपनि साच्चै दुई नम्ब प्रदेशमा राखे त्यसको विरुद्धमा दुई लाख जनता सडकमा आउने दावी गरे । 
आचार्यले सुनसरी मोरङ्ग र झापामा जनमत संग्रह गरे एक नम्बर प्रदेशका बस्ने गरी ९० प्रतिसत मत आउने दावी गर्दै त्यस्तो नभए आफूले राजनीति छाडिदिने घोषणा गरे ।  उनले भने,‘म १५ दिन गाँउ गाँउ घुमेर आएको छु । त्यहाँका मधेसी पहाडी कोही पनि दुई नम्बर प्रदेशमा जान चाहँदैनन । मधेसी बाहुल्य सुनसरीका दक्षिणी भेगका जनताहरुको मलाईअहिले पनि फोन आईरहेको छ । हामीलाई छुट्याउने कुरा हुँदैन भनेर ।’ यद्यपि उनले एउटा विषयमा जनमत संग्रह गर्दा भोली अन्य विषयमा पनि जनमत संग्रहको माग उठ्दा जातीय विभाजन हुने भएकोले त्यसको पक्षमा आफूहरु नरहेको स्पष्ट परो । 

एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बाबुराम भट्टराईको नयाँ शक्तिले अन्यौलता सृजना गरेको भन्दै त्यसले केही पनि गर्न नसक्ने ठोकुवा गरे ।  उनले भने,‘ बाबुराम भट्टराईले गल्ती गरे । क्रान्ति, देश, पार्टी र आफूमाथि नै हानी पुर्याएका छन । उनले गोरखा क्षेत्र नम्बर १का जनतामाथि विश्वास घात गरेका छन । नयाँ शक्तिले विकास गर्ने विश्वास छैन । ’

पाण्डेले मधेससहित थारुवान र मगरातको समस्या आयोगमार्फत हल गर्नु पर्ने भन्दै समस्या समाधान गर्न फाष्ट ट्रयाक विधी अपनाउनु पर्ने धारणा राखे ।  समस्या हल गर्नु पर्ने बेलामा सप्तरी घटना घटाएर सरकारले झनै संकट थपेको भन्दै उनले सबै गंभिर भएर समस्या समाधानमा तत्काल बार्तामा बस्नु पर्नेमा जोड दिए । 

उनले संविधान संसोधन मात्रै होईन सीमांकनसहित सबै विषयमा छलफल गरेर एकै पटक संबोधन हुनु पर्ने भन्दै औषधीको ट्रक र एम्बुलेन्समाथिको आक्रमणको विषयमा आन्दोलनकारीले सोच्नु पर्ने बताए । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का बरिष्ठ उपाध्यष रामेश्वर राय यादवले सरकार गठन हुँदा भएको आठ बुँदे सहमति कार्यान्वयन गराउन नसकेको र स्वयम अध्यक्ष विजयकुमार गच्छदारमाथि पनि सरकारमा अनादर भईरहेकोले पार्टी सरकारमा बसिरहनुको औचित्य नभएको बताए । 

उनले भने,‘ हाम्रो अध्यक्ष मधेस र सरकारवीच मध्यस्थ गर्न सरकारमा जानु भएको हो । तर तीन दलले बेवास्ता गरिरहेका छन । सरकार गठन हुँदा भएको सहमति कार्यान्वयन नगर्ने र सरकार यस्तै रबैयाले चलिरहने हो भने कि त तुरुन्त यस्तो कार्य बन्द गर्नु पर्यो कि सरकार छाड्नु पर्यो ।’ यादवले आफ्नो पार्टी ९० प्रतिसत अहिल पनि आन्दोलनमा रहेको भन्दै सरकारले जनतालाई चिढ्याउने काम गरेकोले तत्काल आफ्नो रबैया परिवर्तन गर्नु पर्ने बताए । 

तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ताले सीमांकन नटुङ्गीएसम्म आन्दोलन नटुङ्गीने भन्दै अहिले विवादित बनेका पाँच जिल्ला मधेसमै हुनु पर्ने अडान ब्यक्त गरे ।  यद्यपि उनले बार्तामा बसेपछि गिभ एण्ड टेक हुने भन्दै कसैले एक रत्ति पनि दिदैनौ र कसैले एक ईन्च पनि छाड्दैनौ भन्ने अडान छाड्नु पर्ने बताए । 

उनले भने,‘दिनेले पनि एक ईन्छ दिन्न भन्नु हुँदैन । हामीले पनि पुरै पाउनु पर्छ भन्नु हुँदैन । विन विन स्थितिमा टुङग्याउनुु पर्छ ।’  पूर्वमा शान्ति र्यालीको नाममा तीन दलले आन्दोलनलाई भाड्ने काम गरिरहेको भन्दै आन्दोलन भाड्न घुसपैठ गराईएको आरोप लगाए ।  उनले औषधीको ट्रक र एम्बुलेन्समाथि आक्रमण गर्ने आफूहरुको कुनै नीति नभएको भन्दै त्यसमा सरकारले छानविन गरेर कारवाही गर्नु पर्ने बताए । यद्यपि उनले त्यस्तो आक्रमण आन्दोलनलाई बद्नाम गराउन सरकारले गरेको आरोप समेत लगाए । 

गुप्ताले अहिलेको आन्दोलन भारतले नगराएको भन्दै सरकारले सद्रमुकाममा कफ्यू लगाएपछि बाध्यताबस आफूहरु नाकामा आन्दोलन गर्न बाध्य भएको दावी गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ