arrow

 ‘मोहमद आफ्ताव आलमलाई छुटाउन आफु लागि परेको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
aalam.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले एक कार्यक्रममा ‘मोहमद आफ्ताव आलमलाई छुटाउन आफु लागि परेको’ भनी दिएको अभिव्यक्तिप्रति जवाफदेहिता निगरानी समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मिति २०७७ साल फागुन १९ गते कांग्रेस सभापति देउवाले बारा जिल्ला गढीमाई नगरपालिका वार्ड नं.६ मा आयोजित एक सार्वजनिक कार्यक्रममा ‘मोहमद आफ्ताव आलमलाई छुटाउन आफु लागि परेको’ भनी दिएको अभिव्यक्ति प्रति उक्त समितिले एक विज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

जवाफदेहिता निगरानी समितिको तर्फबाट संयोजक चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशका प्रमूख राजनीतिक दल नेपाली कांग्रेसका सभापति जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिको अभिव्यक्तिले मानवअधिकार, विधीको शासन र कानूनी सर्वोच्चतामाथी ठाडो हस्तक्षेप गर्नुका साथै अदालतको गम्भिर अवहेलना गरेको छ । जिम्मेवार व्यक्तिहरुका त्यस्ता अभिव्यक्तिहरुले अपराधिक कार्यलाई दुरुत्साहन गर्ने र भविष्यमा पनि अपराधलाई राजनैतिक संरक्षण प्रदान गर्ने प्रष्ट छ र त्यस्ता अभिव्यक्तिलाई सामान्य तथा स्वभाविक रुपमा किमार्थ स्विकार्न सकिन्न् ।’

आलम मिति २०६४ साल चैत्र २७ गतेको पहिलो संविधानसभाको निर्वाचनमा रौतहट जिल्लाको क्षेत्र नं. २, फरहदवावाट नेपाली कांग्रेसका उम्मेदवार थिए । तत्कालिन संविधान सभा सदस्य तथा हाल संघिय संसदका निलम्बित सदस्य मोहमद आफ्ताव आलम निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मनसायले बम बनाउने क्रममा विष्फोट हुँदा केही नेपाली तथा भारतीय व्यक्तिहरु घाईते भएकोमा निजहरुलाई जिउँदै ईँटाभट्टामा जलाई हत्या गरेको अभियोगमा हाल नख्खु कारागारमा थुनामा रहेका छन् ।

आलम विरुद्धको उक्त मुद्दालाई जिल्ला सरकारी वकिलको कार्यालय रौतहटको मद्दा नचलाउने निर्णयलाई सर्वोच्च अदालतले २०६९ साल जेठ १६ गतेको आदेशले बदर गरी मुद्दा चलाउन आदेश दिए बमोजिम जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरी कर्तव्यज्यान मुद्दा दायर गरेको र जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएकोमा सो आदेशलाई उच्च अदालत जनकपुर, विरगञ्ज ईजलासले समेत सदर गरेको थियो ।

उक्त आदेश विरुद्ध आलमले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ७३ नं बमोजिमको थुनामुक्त गरी पूर्पक्ष गरिपाउँ भनी हालेको निवेदन सर्वोच्च अदालतमा विचाराधिन रहेको छ ।

‘यस्तो गम्भिर मुद्दामा यस्ता गैरजिम्मेवार अभिव्यक्ति र कार्यले दण्डहिनता थप संस्थागत हुने र पीडितको अधिकारमाथि अवरोध हुने हुँदा मानव अधिकारका आधारभूत मूल्य मान्यता, विधीको शासन र कानूनी सर्वोच्चताको पालना गर्न जवाफदेहिता निगरानी समिति नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा तथा सम्बद्ध पक्षहरुसँग हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ