arrow

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
corona-japan.jpg

टोकियो। जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रवार घोषणा गरेका छन्।कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ।

सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए। राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए।

कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेको हो। प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका छन्। उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका हुन्। उनले करोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्र्याइँ नगर्न पनि सबैलाई आह्वान गरेका छन्।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरूले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए। सङ्कटकाल लागु गरिए पनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरूले जनाएका छन्। बार तथा रेस्टुरेन्टहरू केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ। भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। 

जापानको राजधानी टोकियोमा मात्रै शुक्रवार पनि थप ३०१ जना सङ्क्रमित भएका छन्। योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टामा देश भरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ।

कोरोनाभाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ। ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ