arrow

अब हाम्रोपात्रोमै अङ्ग्रेजी सिक्न सकिने

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
hamropatro-pocast-eng.jpg

काठमाडौँ। नेपालको लोकप्रिय एप हाम्रो पात्रोमा अब अङ्ग्रेजी भाषा समेत सिक्न पाइने भएको छ। हाम्रोपात्रो एपले आफ्नो पोडकास्ट फिचर अन्तर्गत अडियो भर्सनमा अङ्ग्रेजी भाषा सिकाई सुरु गरेको हो।

यो पोडकास्टले नेपाली प्रयोगकर्तालाई सामान्य र सहज तरिकाबाट अङ्ग्रेजी उच्चारणमा सघाउने कम्पनीको विश्वास छ। विपुल पोखरेलले सञ्चालन गर्ने पोडकास्ट अतिथिहरूका अनुभव सहित अङ्ग्रेजी उच्चारणमा आइपर्ने व्यवहारिक समस्या र त्यसको सही उच्चारणको विषयमाथि केन्द्रित हुनेछ।

कक्षाकोठामा शिक्षक सँग प्रश्न सोध्न, ग्राहकसँग कुराकानी गर्न र विदेशी व्यक्तिहरूसँग पूर्ण आत्मविश्वासका साथ कुरा गर्न यो पोडकास्टले सहयोग पुर्‍याउने छ। हाम्रो पात्रो इंकका अनुसार हाम्रो पोडकास्ट अन्तर्गत दुई सातामा एउटा नयाँ एपिसोड अपलोड हुनेछ। तीन वटा एपिसोड अपलोड भइसकेको यो पोडकास्ट खास गरी दश कक्षा माथिको अध्ययन गरेका व्यक्तिहरूलाई लक्षित गरी सुरु गरिएको हो।

‘पोडकास्ट आधारभूत अङ्ग्रेजी सिकाई मा भन्दा पनि अङ्ग्रेजी जानेका तर उच्चारणमा समस्या भएका प्रयोगकर्ता प्रति लक्षित गरेका छौँ,’ पोडकास्ट सञ्चालक पोखरेलले भने, ‘अङ्ग्रेजी जाने पनि उच्चारण नमिल्दा विदेशीहरूलाई आफ्नो कुरा बुझाउन नसक्ने समस्या धेरैले भोगिरहेका हुन्छन्। यसबाट त्यस्ता व्यक्तिहरूलाई अङ्ग्रेजी प्रस्ट बुझ्न तथा बोल्न सहयोग पुग्ने आशा लिएका छौँ।’

एन्ड्रोइड प्रयोगकर्ताले हाम्रो पात्रोको मुख्य पेजमा केही तल स्क्रोल गरेर फिचर्ड पोडकास्ट इन हाम्रो पात्रो अन्तर्गत ‘इङ्लिस फर नेपाली  स्पिकर’मा यो पोडकास्ट फेला पार्न सक्नेछन्।

आईफोन प्रयोगकर्ताले भने हाम्रो विशेष पोडकास्टमा जानुपर्ने हुन्छ। यसका साथै यहाँ क्लिक गरी सोझै वेबसाइटमार्फत पनि पोडकास्ट सुन्न सकिनेछ।

कम्पनीले पोडकास्टलाई विशेष प्राथमिकताका साथ छुट्टै वेबसाइट पोडकास्ट डट हाम्रोपात्रो डट कम सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक शङ्कर उप्रेतीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ