arrow

महाशिवरात्रीका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

logo
रासस,
प्रकाशित २०७७ फागुन २२ शनिबार
shiva-ratri-pashupati-maha.jpg

काठमाडौँ। कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ। कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ।

यसै गरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ। त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्व करण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ।

यसै गरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए।

महाशिवरात्रीको तयारी स्वरूप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ। आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले बताए। कोषले महाशिवरात्रीमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी सुरु गरेको छ। महाशिवरात्रीका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ।

फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्री यस वर्ष फागुन २७ गते बिहीबार परेको छ। महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि सुरु गर्दै छ। महाशिवरात्रीका दिन भने रु पाँच हजार १०० र रु ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ।

पाँच हजार एक सय रुपैयाँको रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुई जना र ११ हजार रुपैयाँ  रसिद काटेर गरिने विशेष पूजाको रसिदका चार जना कर्तालाई पशुपतिनाथको दर्शन गराइने कोषाध्यक्ष थापाले जानकारी दिए।

पशुपतिमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य रूपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ। मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ