arrow

मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
fncci-kavre-chandra-dhakal.jpg

काभ्रे। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताएका छन्।

शनिवार काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैङ्कको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि बिस्तारै कम हुँदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातावरण तयार भएको बताएका हुन्।

बैङ्क तथा व्यवसायीहरूबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष समेत रहेका ढकालले अब बैङ्कलाई गाली गरेर बस्ने अवस्था नरहेको बताए।

“अहिले बैङ्कको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ। स्प्रेड दर पनि केन्द्रीय बैङ्कले तोकेको दरभन्दा पनि तल झरिसकेको छ। अब तपाई हामीले बैङ्कलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरूलाई बढाउनु पर्ने बेला आएको छ,” उनले भने।

मुलुकभित्र लगानी मैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटको दरमा पनि बिस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उनले यसका लागि महासङ्घले निजी क्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताए। उनले निर्वाचन पछि सबै समूह एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए।

“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिनदेखि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने हुन्छ,” उनले भने। 

उनले अहिलेको महासङ्घको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्य जारी राख्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकालले शनिवारबाट सुरु भएको काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताए। 

जिल्ला नगरका साना व्यवसायीहरूका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरू आफैमा पनि सक्षम रहेको बताउँदै उनले जिल्ला-नगरका उद्योगी, व्यवसायीहरूका समस्या समाधानका लागि जिल्ला नगरका व्यवसायीहरूसँग होस्टेमा हैँसे गर्न महासङ्घको नयाँ नेतृत्व सधैँ तत्पर रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ