arrow

मेलम्चीको पानी : काठमाडौँ बासीको दुई दशकको पर्खाइ

logo
सञ्चिता घिमिरे,
प्रकाशित २०७७ फागुन २२ शनिबार
melamchi-water-project.png

काठमाडौँ। शनिवार सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको पर्खाइ पूरा हुने भएको छ। मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि शनिवार सुन्दरीजलमा आइपुगेको हो। अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ।

तीन वटा खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ। करिब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ। सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए। सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ। तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ। झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो। एकै पटक नभरिएपनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उनको भनाइ छ।

सुरुङ पखाल्न पूरै भल्भ खोलेर राखिने आयोजनाले जनाएको छ। सुरुङ सफा भएपछि मात्रै पानी प्रणालीमा पठाइने प्रवक्ता पन्तले बताए। सुरुङ सफा गर्दा भित्र धमिलो पानी आएपछि त्यसलाई बागमतीमा पठाइने उनले बताए। सफा पानी आएपछि सुरुङ पखालिएछ भन्ने हुन्छ। सुरुङ पखाल्ने ठाउँ अम्बाथान, ग्यालथुम, सिन्धु र सुन्दरीजलमा रहेको छ। उनले भने, “सुन्दरीजलमा पानी पखालिएपछि त्यही पानी बाग्मतीमा आउने हो।”

सुरुङको गेट थुनेर परीक्षण भइरहेको छ। अहिले सानातिना समस्या भएमा तुरुन्त देखिने आयोजनाले जनाएको छ। सुरुङमा समस्या भए-नभएको भन्ने विस्तृत रुपमा जानकारी सुरुङ भरिएपछि नै थाहा हुने उनको भनाइ छ। सुन्दरीजलमा पानी आएर केही समयमा नै पानी प्रणालीमा जाने भएकाले निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन भनिएको प्रवक्ता पन्तले बताए। सुरुङ पखालेर सफा भएपछि मात्रै प्रशोधन केन्द्रमा हालिने उनको भनाइ छ। सुरुङबाट पानी सफा भएर आउन अझै केही दिन लाग्नसक्ने उनको भनाइ छ। उनले भने, “ठूलो चुहावट नभएकामा चैतसम्ममा पानी प्रणालीमा पठाउन सकिन्छ।”

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए। सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन्। यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ। उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने प्रवक्ता पन्तले जानकारी दिए। अहिले बागमतीको पानीमार्फत परीक्षण भइसकेको छ।

यसअघि गत असारमा परीक्षणका लागि सुरुङमा पानी पठाइएको थियो। पानी भर्न थालिएको एक सातामा पानी बाहिर निस्केको हो। दुर्घटनाका बारेमा बुझ्नका लागि खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले द्वारभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दुर्घटना भएको निष्कर्ष निकालेको थियो। समितिकै सुझावका आधारमा गेटको फ्रेम नयाँ राखिएको छ।

सो दुर्घटनाको जिम्मेवारी परामर्शदाता कम्पनीद्वारा निर्माण गर्ने कम्पनी दुवैको छ। इटास कम्पनी परामर्शदाताका रूपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो। आयोजनामा यसभन्दा पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो। नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले द्वार निर्माणको बाँकी काम सम्पन्न गरेको थियो।

आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी जिम्मेवारी लिएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ। ‘हेडबक्स’ को निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ। अहिले अस्थायी बाँधबाट पानी पथान्तरण गरिएको छ। मेलम्चीको सुरुङमा दुर्घटना भएपछि पनि अरू निर्माणका काम रोकिएको थिएन। बन्दाबन्दीको अवधिमा पनि निर्माणस्थलमा काम भइरहेको थियो।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो। आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता भएको थियो। पछिल्लो पटक काम गरेको इटालियन कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिक रूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो। केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। खानेपानी मन्त्रालयले पटकपटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो। पछिल्लो पटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ