arrow

लोकसेवा आयोग चैत १०बाट खाली हुँदै, नियुक्तीको लागि को को छन् दौडमा ?

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
loksewa-aayog.jpeg

काठमाडौं। आगामी चैत १० गतेबाट लोकसेवा आयोग पूर्ण रुपमा खाली हुँदैछ । आयोगका अध्यक्ष तथा सदस्यहरुको ६ वर्षीय सेवा अवधि चैत १० गते सकिदैछ । हाल आयोगमा अध्यक्ष उमेश मैनाली तथा सदस्यहरुमा विन्द्रा हाडा,अशोक झा, ब्रम्हदेव यादव र कृष्णचन्द्र झा छन् । दुई जना सदस्य गोविन्द कुसुम र श्रीपुरुष ढकाल भने यसअघि नै निवृत भइसकेका छन् । आयोगमा हालका ५ जना पदाधिकारी र यसअघि अवकाश लिएका कुसुम र ढकालको नियुक्त संविधान जारी हुनु अघि २०७१ सालमा सुशील कोइरालाको पालामा गरिएको थियो । संविधानमा भने आयोगमा एक जना अध्यक्ष र ४ जना सदस्य रहने व्यवस्था गरिएको छ । संविधान जारी हुनु अघि नियुक्त गरिएका पदाधिकारीहरु संविधान जारी पछि पनि कायमै रहे । २०७१मा नियुक्त गरिएका सबै पदाधिकारीहरुले चैत १० वाट अनिवार्य अवकाश लिदैछन् ।

आयोगमा जान हालसालै अवकाश लिएका पूर्व सचिवहरु तथा अवकाश हुनै लागेको बहालवाला सचिवहरु दौडधुप सुरु गरेका छन्। ओली समाजका पदाधिकारी डा. विश्वनाथ ओलीले आयोगका जान दौडधुप सुरु गरेका छन् । प्रधानमन्त्री संरक्षक रहेको ओली समाजमा विश्वनाथ महासचिव हुन् । ओली समाजको चुनाव प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको थियो। उक्त कार्यक्रममा विश्वनाथलाई समाजको महासचिवमा नियुक्त गरिएको थियो । ओली समाजको महासचिवको नाता जोड्दै विश्वनाथ आयोगमा जान दौडधुप सुरु गरेको स्रोतको भनाइ छ ।  हाल विश्वनाथ वन मन्त्रालयका सचिव पनि हुन् । आगामी बैशाखबाट उमेर हदको कारण उनले अनिवार्य अवकाश लिदैछन् । वन मन्त्रालय स्रोत भन्छ, ‘आयोगमा जाने पक्का भयो भने अवकाश लिनु पहिले नै राजिनामा गर्न ओली तयार छन् । 

केही समय अघि उद्योग सचिवबाट अवकाश लिएका चन्द्र घिमिरे पनि आयोगमा जान लाइन मिलाउँदैछन्। यसअघि उनी मुख्यसचिव हुने दौडमा थिए । तर सरकारले प्रक्रिया मिचेर शंकरदास बैरागीलाई मुख्य सचिब बनाइए पछि घिमिरे मुख्य सचिवको दौडबाट बाहिरिएका थिए । मुख्यसचिव हुन नपाए पनि आयोगको सदस्य हुन घिमिरले दौडधुप सुरु गरेका छन् । उनी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीसँग निकट मानिन्छन् । नेकपाको विवादमा उनको भित्री समर्थन केपी ओलीतर्फ रहेको घिमिरे निकट कर्मचारीहरु बताउँछन् । यसैगरी केही समय अघि सचिवबाट अवकाश लिएका राजिव गौतम, मोहनकृष्ण सापकोटा लगायतका उच्च कर्मचारीहरु पनि आयोगमा जान दौडधुप सुरु गरेका छन्।

संवैधानिक आयोगहरुको नियुक्तमा पूर्व सचिव तथा सहसचिवहरु प्राथमिकतामा पर्ने गरेका छन् । आयोगमा नियुक्त पाउन सचिव तथा सहसचिवहरू पदमै रहँदा सेटिङ मिलाउने गरेका हुन्छन् । आयोगको निर्देशिका तथा नियमावलीहरुको मस्यौदा बनाउँदा नै उच्च कर्मचारीहरुले आफू अनुकुल हुने गरी बनाएका हुन्छन् । कतिपय अवस्थामा आफूलाई ठयाम्मै मिल्ने गरी आयोगका पदाधिकारी तथा सदस्य हुनकोलागि न्युनतम योग्यता राखेको समेत पाइने गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ