arrow

सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्रीको असन्तुष्टि

logo
रासस,
प्रकाशित २०७७ फागुन २३ आइतबार
agni-sapakota-speaker1.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए।

प्रतिनिधिसभाको बैठक सुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको नेता भट्टराईले बताए। बैठकपछि नेता भट्टराईले भने, “संसद्को बैठक बस्नुअगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सरकारसँग परामर्श गरेर गर्नुपर्नेमा त्यसो नगरिएकामा प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभएको छ।”

सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गरिएको उनले जानकारी दिए। पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्चाएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले गम्भीर सम्बोधन गरेको नेता भट्टराईको भनाइ छ।

सर्वोच्चको फैसलापछि पार्टीको अवस्था साबिक रूपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का रूपमा पुगेको प्रधानमन्त्रीको कथन थियो। बैठकमा प्रतिनिधिसभाको पुनः स्थापनाको फैसला जस्तै आजको फैसलालाई समेत कार्यान्वयन गरेर जाने निर्णय भएको नेता भट्टराईको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ