arrow

जब विप्लवले दाजु वीरजंगलाई भेटे

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
biplav-birjung-daju-bhai.jpg

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भरतपुर कारागारमा राजनैतिक बन्दी जीवन बिताइरहेका आफ्ना दाजुलाई भेट गरेका छन् । उनले आइतबार कारागार कार्यालय चितवनमा रहेका दाजु ६० वर्षीय चन्द्रबहादुर चन्द वीरजंगलाई भेट गरेका हुन् । 

कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार बम बिस्फोट गराएको अभियोगमा असोज २८ गते पक्राउपछि उनी कारागारमा छन् । नवलपरासीको सुस्ता पश्चिमबाट पक्राउ परेका चन्द्रलाई उपचार गर्नुपर्ने भएपछि यहाँ ल्याइएको हो । दाजुभाइको भेटमा सँगै रहेका काफ्लेले दाजुलाई विकसित घटनाक्रम र सहमतिका विषयमा जानकारी गराएका थिए । 

सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर केही दिनमा कारागारबाट छुट्ने जानकारी पनि उनले दाजुलाई गराएका थिए । झण्डै आधा घण्टाको भेटमा उनले दाजुको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको काफ्लेले बताए । दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य समस्याका बारेमा अवगत गराएका थिए । 

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र सरकारका बीचमा सहमति भएसँगै सो पार्टीका कारागारमा रहेका बन्दीहरु छुट्ने भएका हुन् । 

भूमिगत रहेका नेता कार्यकर्ता भने शुक्रबारबाट सार्वजनिक भएका छन् । यस कारागारमा सो पार्टीका बन्दी चन्द्र मात्र रहेका छन् । 

विप्लवका तीन भाइमध्ये अर्का दाजु जयन्द्र चन्द भने काठमाडौंमै छन् । उनी पहिलेदेखि नै भूमिगत छैनन् । तीनजना दाजुभाइमा वीरजंग जेठो, जयन्द्र माइलो र विप्लव कान्छा हुन् । 

दाङबाट वीरजंगसँगै पक्राउ परेका २१ जनालाई प्रहरीले पहिले नै छाडेपनि उनलाई भने छाडिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ