arrow

दार्चुलामा १ सय ५ वर्षीया वृद्धाले लगाइन् कोरोना बिरुद्धको खोप

खोप लगाउन ज्येष्ठ नागरिक उत्साहित

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ फागुन २४ सोमबार
corona-vaccine-darchula.jpg

दार्चुला। दोस्रो चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई आइतबारबाट खोप लगाउन सुरु गरिएको छ । खोप लगाउने ठाउँ वृद्धाहरुले भरीभराउ देखिन्थ्यो । कोही हातमा लौरो बोक्दै त कोही सन्तानको सहारामा खोप केन्द्र पुगिरहेका थिए ।

त्यसमध्येकी एक थिइन् मालिकार्जुन गाउँपालिका—८ की १ सय ५ वर्षीया नन्दा देवी जोशी । उनले गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको सहारामा सोमवार शंकरपुर स्वास्थ्य चौकीमा पुगी कोरोना विरुद्धको खोप लगाएकी छन् । उनी अहिले सम्म खोप लगाउनेमध्ये बढी उमेरकी हुन् ।

सोही केन्द्रमा सयौँ ज्येष्ठ नागरिक आफ्नो पालोको प्रतीक्षामा थिए । खोप लगाउन उनीहरू आतुर र उत्साहित देखिन्थे । यस्तै दुहू गाउँपालिका—३ ब्रह्मदेव स्वास्थ्य चौकीको खोप केन्द्रबाट ८७ वर्षीय थुम्कादेवी कार्कीले खोप लगाइन् । उनले बुढेसकालमा कोरोना खोप लगाउन पाउँदा खुसी भएको बताइन् । अब त कोरोना लाग्दैन भन्ने विश्वास उनमा छ ।

दार्चुलामा पहिलो दिन (आइतवार) १ हजार ८ सय ८९ जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए । अभियानको दोस्रो दिन सोमवार पहिलो दिन भन्दा ६६ जना बढी १ हजार ९ सय ५५ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । पहिलो चरणको अभियानमा खोप लगाउने संख्या  भन्दा पनि दोस्रो चरणमा खोप लगाउने ज्येष्ठ नागरिक ६५ वर्षमाथिकाको संख्या बढी रहेको देखिन्छ ।

स्वास्थ्य कार्यालयका प्रमुख भट्टका अनुसार सोमवार सबैभन्दा बढी महाकाली नगरपालिकाका ३ सय ७० जना ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ । यस्तै शैल्यशिखर नगरपालिकाका २ सय ८० जना, मालिकार्जुन गाउँपालिका २ सय ५८ जना, लेकम गाउँपालिकाका २ सय २० जना, दुहूँ गाउँपालिकाका २ सय १७ जना, मार्मा गाउँपालिकाका २ सय जना, ब्याँस र नौगाड गाउँपालिकाका १९०÷१९० जना, अपी हिमाल गाउँपालिकाका ३० जनाले खोप लगाएका छन् । दार्चुलाका ७८ खोप केन्द्रबाट खोप लगाइएको हो । खोप अभियान ५ दिन सम्म सञ्चालन हुनेछ ।

अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेको ‘कोभिसिल्ड’ खोप नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले गत माघ २ मा स्वीकृति दिएको थियो । शून्य दशमलव ५ एमएल मात्राको यो खोप नेपालमा भण्डार गर्न सहज हुने भएको र ७१ प्रतिशत प्रभावकारी रहेको मानिएको छ । यो बायाँ पाखुराको माथिल्लो भागमा लगाइन्छ । यो खोप कम्तीमा आठ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ