arrow

सरकारले भन्यो दुईको मृत्यु, मोर्चाले भन्यो चार शहिद भए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
611919935.jpeg
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको तराई बन्द उग्र बन्दै गएपछि स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गर्न थालेको छ । सप्तरीमा शनिबार राति प्रहरीले गोली चलाएपछि चार जनाको मृत्यु भएको जिकिर मोर्चाले गरेको छ । यद्यपि, आफुमाथि आक्रमण गरेका झोंकमा प्रहरीले गोली चलाएको बताइएको छ । 
 
प्रहरीले दुई जनाको मृत्यु भएको जानकारी दिएको छ भने मोर्चाले चार जनाको मृत्यु भएको बताएको छ । मोर्चामा आवद्ध चारै शक्तिले संयुक्त विज्ञप्ती जारी गरी प्रहरीको गोली प्रहार बाट वीरेन्द्रकुमार दास, नागेश्वर यादव, शिवशंकर दास र दिलिप दासको मृत्यु भएको जिकिर गरेको हो । विज्ञप्तीमा दर्जनौं कार्यकर्ता गम्भीर रहेको उल्लेख छ । यस्तै गम्भीर घाइते मध्ये रघु साफीसहित चार जनाको अवस्था चिन्ताजनक जनाइएको छ ।
 
आन्दोलनको सय दिन पूरा हुँदा समेत वार्ताका माध्यमबाट मधेसका मुद्दालाई सम्बोधन गर्न सरकार संवेदनशील नरहेको मोर्चाको आरोप छ । मोर्चाले विज्ञप्तीमा राजविराजमा आन्दोलनकारीमाथि अस्पताल र घर–घरमा कुटपिट, अश्रुग्यास प्रहार र गोली प्रहार भएको भन्दै सरकारको यस्तो गैर लोकतान्त्रिक र फासिवादी कार्यको मोर्चा घोर विरोध तथा भत्र्सना गर्दछ– भनेको छ । विज्ञप्तीमा आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ भनि उल्लेख छ । 
 
मोर्चाले सरकारलाई शान्तिपूर्ण आन्दोलनकारीमाथि गोली प्रहार गर्दै राज्यआतंक सिर्जना गरी दमन गर्ने कार्य बन्द गर्न माग गरेको छ । विज्ञप्तीको अन्त्यमा मोर्चाले ‘अन्यथा, त्यस्ता गम्भीर घटनाबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयम् जिम्मेवार हुने भन्ने कुरातर्फ मोर्चा सचेत गराउन चाहन्छ,’ भनि चेतावनी दिएको छ । विज्ञप्तीमा मोर्चाका चारै घटकका शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ