arrow

उपत्यकाको शान्ति सुरक्षा चुस्त पार्न समझदारी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1682065800.jpeg
काठमाडौं । उपत्यकाको शहर व्यवस्थापन र शान्ति सुरक्षालाई चुस्त राख्न काठमाडौं महानगरपालिका र महानगरीय प्रहरीबीच ३३ बँुदे समझदारी भएको छ ।  राजधानीमा एक कार्यक्रमबीच महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त विज्ञान शर्माले ३३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 
 
सम्झौताको पहिलो बुँदामा सवारी दुर्घटना तथा सडक व्यवस्थापनलाई मध्यनजर गरी आगामी तीन वर्ष्भित्रमा काठमाडौँ महानगरपालिकाले विभिन्न नौ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । निर्माण गर्ने स्थानमा नयाँ बानेश्वर, महाराजगञ्ज, कोटेश्वर, त्रिचन्द्र क्याम्पस अगाडि, चाबहिल, कालीमाटी, गौशाला चोक, थापाथली र त्रिपुरेश्वर पर्दछन् । 
 
त्यसैगरी, हाल आकाशे पुल रहेका स्थानमा बिहान र बेलुकाको समयमा विभिन्न किसिमका आपराधिक क्रियाकलाप हुनसक्ने भएको हुँदा त्यसलाई कम गर्नका लागि रेलिङको उचाइ कम गरी पारदर्शी बनाउने बताइएको छ । महानगरपालिकाले नक्सा पास गर्दा पार्किङका लागि छुट्याइएका स्थान अन्य प्रयोजनमा रहेको भए त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने बताइएको छ । 
 
सम्झौतापत्रमा उल्लेख गरिएअनुसार महानगर क्षेत्रभित्रको सडक, फुटपाथ तथा खोला अतिक्रमण नियन्त्रण र सडकमा राखिएका निर्माण सामग्री हटाउन यी दुई निकायबीच सहकार्य हुने तथा छाडा पशु र त्यसबाट उत्पन्न समस्यालाई निराकरण गर्नसमेत प्रहरीले महानगरलाई सहयोग गर्नेछ । यी दुवै निकायले आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा त्यहाँका गतिविधिलाई मध्यनजर गरेर सहरी सु–व्यवस्था कायम गराउन विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्नेछ । तस्वीर:रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ