arrow

मैंले नाटकमा जस्तो भूमिका खेले, अहिले मेरो पनि त्यस्तै हालत भयो : सुमन मल्ल (भिडियो)

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
suman-malla.jpg

काठमाडौं । कर्णालीको यथार्थ जीवन दर्शाउने चर्चित नाटक ‘कर्नाली दख्खिन बग्दो छ’ र कर्णालीवासीको सपना देखाउने अर्को चर्चित नाटक ‘सुईना कर्नाली’का मुख्य कलाकार तथा पत्रकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएका छन् ।

मुगु छायाँनाथ रारा नगरपालिका वडा नं १ ठिनी टोलमा रहेको आफ्नो घरमा एक वर्ष यता कठिन दिनहरु कटाइरहेका छन् । आर्थिक अभाव र गरिबिका कारण उपचार गर्ने क्षमता नहुँदा उनी उपचारको पर्खाइमा छन् ।

पीडित मल्ल भन्छन्, ‘२१ बर्ष पत्रकारिता गर्दा धेरैको ज्यान बचाइयो होला, नाटकबाट कर्णालीको दुःख र सपनाहरु देखाइयो होला तर यतिबेला मेरो जीवन नाटककै कथा जस्तो भयो’, उनी थप्छन्,‘पत्रकारिता गर्दागर्दै रोगले गाँजेको थाहै भएन् । अहिले मेरो जीवन मरणको दोधासमा छ । आर्थिक अभावले पिरोलिएको छु ।’

श्रीमती गङ्गा मल्ल भन्छिन्,‘विरामी भएको एक बर्ष वित्यो आर्थिक अभावले राम्रो उपचार गर्न सकेकै छैन् । सासुआमा बृद्ध हुनुहुन्छ, तीन छोराछोरी पढाउन र विरामीको उपचार गराउन कठिन भइरहेको छ’, उनी भन्छिन् सुविधा सम्पन्न अस्पतालहरूमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो की, बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधी गरौं । त्यो बेला पत्रकार नहुनुस् कतै जागिर खानुस् नभए व्यापार गरौँ भनेको थिए मान्नु भएन । अहिले पैसा कताबाट ल्याऊ ? छोराछोरी सासू पालूँ की श्रीमानको उपचारका लागी माग्दै हिडुँ ।’

मल्लकी बृद्ध आमा भन्छिन्, ‘कमाइ गर्ने यही छोरो थियो ओछ्यान लागेको डेढ बर्ष हुन लाग्यो । अहिले मेरो केही छैन् । उपचार गर्न र छोराछोरी पाल्न कठिन भयो ।’

मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक कर्नाली दख्खिन बग्दो छ र कर्णालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुईना कर्नालीको नाटकका मुख्य पात्रका रूपमा भूमिका खेलेका थिए ।

रोग,भोग,विकटतामा रहेर आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौंको पिडामा मलम लगाएका मल्लले एक वर्षबाट ओछ्यान मै थलिंदा कोही सहयोगी मन भेटाउन सकेका छैनन् ।

मल्लको पारिवारिक अवस्था बिहान बेलुका छाक टार्न धौधौ छ । तीन छोराछोरीलाई हुर्काउनुपर्ने, पढाउनुपर्ने बाध्यता छ । आमा र श्रीमतीले कमाइ गर्न सक्दैनन् ।

लामो समय देखि मुगुमा बसेर नागरिक दैनिक, नयाँ पत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इन्चार्जको रूपमा काम गर्दै आएका मल्लले ओछ्यान मै थलिएपछि दुईवर्ष यताबाट समाचार र नाटक लेख्न र खेल्न सकेका छैन ।

गत वर्ष बिरामी हुँदा छायानाथ रारा नगरपालिकाले ५० हजार सहयोग गरेपछि नेपालगन्ज मेडिकल कलेजमा उपचार भएको थियो । पत्रकार महासङ्घ मुगुमा आबद्ध पत्रकारहरूले पनि सहयोग गरेका थिए । पछि पुनःविरामी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोग र जुम्लाका क्रियाशील पत्रकारहरूको सहयोगमा उनको उपचार भएको थियो ।

‘सुईना कर्णाली’ र ‘कर्णाली दख्खिन बग्दोछ’ काठमाडौंमा चलिरहँदा नेपालमा उक्त नाटक रङ्गमञ्चको कोसेढुंगा साबित भएको थियो । उक्त नाटकमा दर्शकहरू तानिएका थिए । रङ्गमञ्चका एक मुख्य पात्र उही पुन्न बहादुर विश्वकर्मा(हुडके) को भूमिका निर्वाह गरेर चर्चित बनेका सुमन लामो समयसम्म बिरामी परेर ओछ्यानमा थलिए पनि उपचारमा कसैले चासो नदेखाएको परिवारको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ