arrow

रमेश प्रसाईंको प्रश्नमा अमिटको साहसी जवाफ: सगरमाथा चढेर विश्व कीर्तिमान बनाएरै छाड्छु

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
Amit_and_ramesh.jpg

काठमाडौं । हालैको एकदिन संकोश र निर्धक्क उनी वालमा उत्रिरहेका थिए । बाहिरी संसार नदेखे पनि उनको साहसप्रति उपस्थित शुभेच्छुकहरु ताली पिटिरहेका थिए । पब्लिक स्पीकरका रुपमा चर्चा कमाइरहेको रमेश प्रसाईं अमिटलाई हौस्याइरहेका थिए । वास्तवमा त्यहाँ अमिट विचित्रका पात्र बनेर सबैको नजरमा परेका थिए ।

राष्ट्रिय झण्डा बोकेर यसैबर्ष सगरमाथा आरोहणको लक्ष्य बनाएका अमिट सबैको नजरमा पनि किन नपरुन । आँखा नदेखेर पनि सगरमाथाको चुचुरोमा पाइला टेकेर ‘सगरमाथामा पाइला राख्ने पहिलो नेपाली दृष्टिविहीन बन्ने अभियानमा उनी जुटेका रहेछन् । सगरमाथामा पाइला राख्ने पहिलो दृष्टिविहीन व्यक्ति भने अमेरिकी नागरिक एरीकपछि अमिट विश्वकै दोस्रो’ बनेर देशको नाम राख्न अठोटमा छन् ।

यसअघि सगरमाथाको आठ हजार मिटर चढिसकेका बागलुङको जैमिनी नगरपालिका-४ का अमिट अघिल्लो प्रयासलाई यस पटक पूरा गर्ने बताउँछन् । उनी भन्छन्,‘यसअघि सगरमाथाको आधार शिविर साउथ कोलमा पुगेर फर्किनुपर्‍यो, मौसमले धोका दियो तर यसपटक चुचुरोमा पुगेर राष्ट्रिय झन्डा फहराउनु चाहन्छु ।’

शिक्षकको जागिरकै शिलशिलामा आठ बर्षअघि पोखरामा अमेरिकी नागरिक क्लेफले दृष्टिविहीनहरूलाई दिएको ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण लिएका उनलाई त्यसैबेलादेखि सगरमाथा चढ्ने हुटहुटी जागेको सुनाउँछन् । त्यसयता छँदाखाँदाको जागिर नै छाडेर उनी सगरमाथा आरोहणको तालिम र अभियानमा वर्षौंदेखि लागिरहेको बताए ।

तालिमकै दौरान उनी २०७२ को वैशाखमा सोलुखुम्बुको ६ हजार एक सय ८६ मिटर उचाइमा रहेको आइसल्यान्ड पिक र सोही वर्षको चैत ८ मा ६ हजार ६ सय ५४ मिटर उचाइमा रहेको मेरापिकमा पुगिसकेका थिए । जसले गर्दा उनमा थप आँट पलाएको छ । फलस्वरुप उनमा सगरमाथाको चुचुरोमा पाइला टेकेर विश्वभर आफ्नो नाम राख्ने अभियानमा छन् ।

आर्थिक जोहो गर्न धौधौ

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पर्वतारोहण लगायत हिमाली अभियानमा लगाएको बन्देजविरुद्ध अदालतले फैसला गरेपछि अमिटलाई थप साहस मिलेको बताउँछन् । पत्रकार महासंघका केन्द्रीय सदस्य माधव चम्लागाईंले पहिलो दायर गरेको रिट र त्यसपछि अमिटले दायर गरेको रिटमा आफ्नो पक्षमा फैसला आएपछि आफूले सगरमाथा आरोहणको अभियान चलाएर सफल हुन चाहेको अमिटले सुनाए । ‘रिटमाथिको फैसला विश्वकै लागि नौलो भयो अब चुचुरोमै पुगेर नेपालको नाम विश्वभर चिनाउने लक्ष्य छ’, उनले आफ्नो लक्ष्य सुनाए ।

तर आर्थिक अभावका कारण अमिटले सगरमाथाको चुचुरोमा पुगेर विश्वभर आफ्नो नाम राख्ने अभियान बाधक बन्छ कि भन्ने चिन्ता छ । ज्यानको प्रवाह नगरी सगरमाथा चढ्ने साहसमा जुटेका उनी आर्थिक सहयोग मागिरहेका छन् । ‘अहिले तत्काल ५० लाख रुपैंयाँ खर्च आवश्यक छ, तर आरोहण मिति नजिकिदै गर्दा १० लाख रुपैंयाँ मात्र संकलन भएको छ, सबै मनकारीहरुसँग सहयोगको अपेक्षा गरेको छु,’ उनले हाम्राकुरासँग भने ।

 एनआरएनए अभियन्ता तथा पूर्वउपाध्यक्ष कुल आचार्यले एक लाख रुपैंयाँ सहगोग उपलब्ध गराउँदै विश्वभरका एनआरएनए अभियन्ताहरुलाई सहयोगको आब्हान गरेका छन् । त्यस्तै अर्का एनआरएनए अभियन्ता चिरञ्जिवी ढकालले २५ हजार रुपैंयाँ सहयोग गर्ने बचन दिइसकेका छन् । त्यस्तै साउथ अष्ट्रेलियाको एडिलेडबाट गोविन्द सापकोटा र उनकी श्रीमती सुधा सापकोटाले पठाएको ५० हजारको चेक पनि नेपालमा खडानन्द सापकोटाले हस्तान्तरण गरे । समाजसेवी इन्दिरा राना मगरले १० हजार सहयोग गर्दै अन्य व्यक्तिहरुसँग पनि आर्थिक सहयोग जुटाउने प्रतिवद्धता जनाइन ।

२०७७ चैत २० गते(२ अप्रिल २०२१)मा शुरु भई २०७८ जेठ २७ (१० जुन २०२१)सम्ममा सम्पन्न हुने अमिटको आरोहण अभियानमा सहयोग जुटाउन पब्लिक स्पीकर रमेश प्रसाईंले पनि सबैसँग अनुरोध गरेका छन् । अमिटका लागि सहयोग गर्न चाहने मनकारीहरुलाई उनकै नाममा रहेको प्रभु बैंक, बाग्लुङ शाखामा रहेको खाता नम्बरमा सहयोग गर्न सकिनेछ । Amit K.C. prabhu bank limited Baglung  A/C No-0600048599700012



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ