arrow

तिनाउ अस्पतालको लापरबाहीले गयो बिरामीको ज्यान

logo
नारायण ओली, 
प्रकाशित २०७७ चैत १८ बुधबार
parbati-baral.jpg

बुटवल । रुपन्देही जिल्लाको बुटवलमा रहेको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिको लापरबाहीले एक बिरामीको ज्यान गएको छ । उपचाररत ४४ वर्षीया पार्वती घिमिरे बरालको मंगलबार राति चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको हो । बरालका आफन्तले उनको मृत्युमा चिकित्सक दोषी रहेको आरोप लगाएका छन् । 

नर्ससमेत रहेकी मृतककी छोरी सुस्मिताले पटक पटक चिकित्सकसँग परामर्श गर्न खोजे पनि चिकित्सकले वास्ता नगरेका कारण आमालाई गुमाउन पुगेको बताएकी छिन् । 

छोरीसहितका कुरुवाले मंगलबार राति ११ बजे रक्तचाप कम भएपछि चिकित्सकलाई खबर गरेका थिए । तर चिकित्सक नआएको उनीहरुको आरोप छ । 

राति ११ः४० बजे दोस्रो पटक बोलाउँदा ११ः४३ मामात्र नाइट सिफ्टका फिजिसियन डाक्टर रुद्र भण्डारी आएका थिए । 

पीडित परिवारका अनुसार त्यसपछि बिरामीलाई हतार हतारमा अक्सिजन सहितको आईसीयूमा लगियो । एकछिनपछि चिकित्सकले बिरामीका श्रीमान् सूर्यप्रसाद बराललाई ‘सरी हामीले बचाउन सकेनौ’ भन्ने जवाफ दिएका थिए । 

गत फागुन १६ गते मोटरसाइकल दुर्घटनामा परेकी सैनामैना ११ सालझण्डीकी बरालको त्यतिबेला टाउकोमा चोट लागेको र दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको थियो । 

त्यतिबेला उनको अवस्था ठीक रहेको थियो । तर दुर्घटनाको एक महिनापछि चैत १६ गते स्वासप्रश्वासमा समस्या भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो । 

मृतकका श्रीमान् बराल भन्छन्, ‘अक्सिजन सहितको बेड खाली नभएपछि तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा ल्याएर इमरजेन्सीमा राखियो ।’

मृतकलाई मंगलबारसम्म ठीक थियो । सामान्य खाना पनि खुवाइएको थियो । तिनाउँमा सिटी स्क्यान, इको र छातीको एक्सरे गरिएको उनले बताए । 

घटनामा चिकित्सकको लापरबाही भएको भनिए पनि अहिलेसम्म अस्पताल प्रशासनले कुनै जवाफ दिएको छैन । 

बुधबार बिहानैदेखि अस्पताल परिसरमा संचारकर्मीदेखि सुरक्षाकर्मीको चहलपहल छ । 

मृतकका आफन्तले भनेका छन्, ‘हामीले भौतिक तोडफोड गर्दैनौं तर लापरबाही गर्नेलाई कारबाही होस् ।’

अस्पतालमा अध्यक्ष चिरञ्जीवी जोशी हुन् । उनी सम्पर्कमा आउन चाहेका छैनन् । 

शव अस्पतालमै रहेको छ । पोष्टमार्टम पनि गरिएको छैन । जोशीले छानबिन गरौंला भन्ने जवाफ पीडितलाई दिएको पीडितले बताएका छन् । गरौंला भन्ने जवाफले मात्र उनीहरु शव बुझ्न तयार छैनन् । अहिलेसम्म अस्पताल प्रशासनले आधिकारिक धारणा नल्याएपछि पीडित परिवारका आफन्त आक्रोशित हुँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ