arrow

हामी ज्यादै अस्वस्थकर वायुमा स्वास फेर्दैछौं !

logo
डा. नवराज सुब्बा
प्रकाशित २०७७ चैत १८ बुधबार
Nawaraj_subba.jpg

हामीले बाँच्नको लागि स्वास फेर्ने वायुको गुणस्तरले जनस्वास्थ्यमा असर र प्रभाव पार्दछ भन्ने बारेमा हामी सबै केही मात्रामा जानकार छौं । तर हामी बसेको गाउँ वा शहरमा वायुको प्रदूषणस्तर कस्तो होला भनेर उचित ध्यान दिएका छैनौं । संचारमा यदाकदा काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको रुपमा नाम आउने गर्दछ । त्यसबेला काठमाडौं बाहिरका मानिस आफूलाई भाग्यमानी सम्झेलान् । तर नाम नलिएका नेपालका विराटनगरको प्रदूषणस्तर काठमाडौं भन्दा कम छैन् ।

नेपालका मुख्य मुख्य शहरसहितका विभिन्न जिल्लामा वायुप्रदूषण मापन गर्ने संयन्त्रले हाल काम गरिरहेका छन् । उनीहरुले प्रकाशित गर्ने नियमित तथ्याङ्कलाई हेर्ने र केलाउने काम सरकार, योजनाकार तथा जनस्वास्थ्यमा आबद्ध निकायको दायित्व हो । विश्वभरका विभिन्न शहरका सामाजिक, आर्थिक, वातावरणीय स्तर लेखाजोखा गर्ने नम्बेओ  (NUMBEO) संस्थाले नेपाल सरकारको वातावरण विभागसमेतको तथ्याङ्क विश्लेषणको आधारमा नेपालका विभिन्न शहर र भूभागका वायुप्रदूषणस्तर जनाउने एक्यूआई (AQI)प्रकाशित गरेको छ ।

सन् २०१७ देखि २०२१ सम्म संकलित सूचनाका आधारमा नेपालका धेरै भूभाग वायुप्रदूषणको कारण त्यहाँको जनस्वास्थ्य जोखिमयुक्त रहेको देखाएको छ । वायुको गुणस्तर सूचकाङ्कमा काठमाडौं र विराटनगर दुवैको प्राप्ताङ्क २१२ रहेको छ । उक्त रिपोर्ट अनुसार धरानको वायुप्रदूषण सूचकाङ्क १२३ र सुनसरी झुम्काको वायुप्रदूषण सूचकाङ्क ८५ रहेको छ ।

स्मरण रहोस्, स्वस्थ वायुको प्रदूषणस्तर ५० भन्दा कम(Good) हुनुपर्दछ । यदि यो अङ्क ५१ देखि १०० पुगेमा मध्यम (Moderate) वायुप्रदूषण, १०१ देखि १५० पुगेमा अस्वस्थकर (Unhealthy for sensitive group) वा कुनै उमेरसमूहलाई खतरायुक्त वायुप्रदूषण मानिन्छ । यसैगरी १५१ देखि २०० सूचककाङ्क पुगेमा अस्वस्थकर वायुप्रदूषण  (Unhealthy) वायुप्रदूषण र वायुप्रदूषण सूचकाङ्क २०१ देखि ३०० सम्म पुगेमा ज्यादै अस्वस्थकर (Very Unhealthy) वायुप्रदूषणस्तर मानिन्छ । अझ ३०१ देखि ४०० सूचकाङ्क पुगेमा खतरा (Hazardous) र ४०१ देखि ५०० सम्मको सूचकाङकले ज्यादै खतरा (Very Hazardous) स्तरको वायुप्रदूषण जनाउँछ ।

वायु प्रदूषणको कारण ज्यादै अस्वस्थकर (Very Unhealthy) शहरको सूचीमा नेपालको राजधानी शहर काठमाडौं र औद्योगिक शहर विराटनगर परेका छन् । विराटनगर नजिकको शहर धरान अस्वस्थकर (Unhealthy) र सुनसरीको झुम्का मध्यम (Moderate) प्रदूषितस्तरमा रहेका छन् । यसबाट थाहा हुन्छ जनसंख्याको चाप तथा उद्योग कलकारखानाबाट यी क्षेत्रका वायुप्रदूषणमा प्रत्यक्ष असर पारेको छ ।

तथ्याङ्क विश्लेषणको आधारमा प्रदूषणको स्तर वर्षै भरी एकनासको भने छैन् । अक्टुबरदेखि अप्रिलसम्म प्रदूषणको स्तर उच्च रहने गरेको छ । यसै गरी मे महिनादेखि सेप्टेम्बर महिनासम्म प्रदूषणस्तर घटेको देखिन्छ । काठमाडौंमा प्रदूषण बढ्ने याममा प्रदूषणस्तर पिएम २.५ स्तर १७३ देखि ३६३ सम्म रहेको देखिन्छ । यसै गरी विराटनगरमा प्रदूषण उच्च हुने याममा पिएम २.५ स्तर ८ देखि ३०५ पुग्नेगरेको छ ।

अब वायुप्रदूषणको हिजो(मंगलबार) र आज(बुधवार)को सूचकाङ्क नियालौं । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको ३० मार्च २०२१ को अद्यावधिक सूचना अनुसार नेपालको सौराहामा एकनास सर्वाधिक वायुप्रदूषण २३३ रहेको जनाएको छ । यसैगरी ३० मार्चमा काठमाडौं (रत्नपार्क) को २३६ र विराटनगरको ११३ वायुप्रदूषण सूचकाङ्क रहेको थियो । धनुकटाको वायुप्रदूषण भने १८० रहेको थियो । आज ३१ मार्च विहान ९ बजेको वायुप्रदूषणस्तर काठमाडौं रत्नपार्कमा २२०, विराटनगरमा ९७, धनकुटामा १७४ पुगेको छ । यसबाट प्रदूषित वायुप्रवाह उत्तरतर्फ बहेको सङ्केत पाइन्छ ।

फलस्वरुप प्रदूषणस्तर विराटनगरमा हिजोभन्दा आज केही कम र धनकुटामा हिजोभन्दा आज बढी देखिएको छ । हामी तराई, पहाड वा हिमाल जुनसुकै क्षेत्रमा रहेबसे पनि तराईको उद्योग कलकारखाना, पहाडका डढेलो तथा वनजङ्गल आगलागी जस्ता मानवजन्य क्रियाकलापद्वारा वायुप्रदूषणमा असर परेको छ । कुनै एकठाउँ वा क्षेत्रको उत्सर्जनले जीवितवस्तुको साझा साधन वायुमाथि प्रदूषणले हमला गरेको छ । यसैले पारी लागेको डढेलोले वारीलाई पनि असर पर्दछ । उता निस्केको धुँवाको मुस्लोले यता पनि वायुप्रदूषणमार्फत् जनस्वास्थ्यमा असर पुग्दछ भन्ने कुरा नभुलौं ।

वायु प्रदूषण गर्नु भनेको एकप्रकारले खानेपानीको मूलमा फोहोर गरिदिनु जस्तै सामाजिक अपराध हो । सबैको पहलकदमी बिना वायुप्रदूषण रोक्न असम्भव हुन्छ । अतः यस्तो संवेदनशील विषयमा सबैको ध्यान पुगोस् । अस्तु ।(जनस्वास्थ्य विज्ञ तथा अनुसन्धानकर्ता डा.सुब्बाको फेसबुकबाट साभार)



नयाँ