arrow

जनगणनाको तयारी तीव्र रूपमा : गणक तथा सुपरिवेक्षकका लागि तीन गुणा बढी आवेदन

logo
खेमराज गौतम
प्रकाशित २०७७ चैत २१ शनिबार
census-2078_nepal.jpg

गलकोट। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना–२०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ। केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो। जनगणनाका लागि आवश्यक गर्ने गणक र सुपरिवेक्षकलाई तालीम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ।

सङ्घीयता कार्यान्वयन पछि हुन थालेको पहिलो जनगणनाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई नीति तथा बजेट निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ। जनगणना गर्न बागलुङमा ४०६ गणक र १०० सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ। करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ।

करारमा कर्मचारी भर्नाका लागि आह्वान गरिएको दरखास्तमा तीन गुणा बढी अर्थात् एक हजार ८३६ ले आवेदन दिएको तथ्याङ्क कार्यालय बागलुङका प्रमुख जनगणना अधिकारी मुकुन्दप्रसाद शर्माले जानकारी दिए। स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने व्यवस्था छ। तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गणकका लागि भने दश जोड दुई वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ।

सङ्घीयता पछि हुन लागेको पहिलो जनगणनाले स्थानीय सरकारलाई उक्त तथ्याङ्कले ठुलो सहयोग पुर्‍याउने छ। विसं २०७८ को असार महिनाभित्र हुने गणना नेपालको जनगणनाको इतिहासमा ११० वर्षमा गर्न लागिएको १२औँ शृङ्खला भएको कार्यालयले बताएको छ। बागलुङका १८ प्रशिक्षकले गणक र सुपरिवेक्षकलाई तालीम दिन तयारी भएर बागलुङ आइसकेको गणना अधिकारी शर्माको भनाइ छ। उनका अनुसार जनगणनालाई सहज तुल्याउन जिल्लाको चार स्थानमा स्थानीय जनगणना कार्यालयसमेत स्थापना गर्ने तयारीमा रहेको छ।

नागरिकलाई ८० प्रश्न
अहिलेको जनगणनालाई व्यवहारिक तथा वैज्ञानिक बनाउनका लागि ८० प्रश्न तयार गरिएको छ। जनगणनापछि सबै जानकारी प्राप्त गर्नका लागि ८० प्रश्न सोधिनेछ। जनगणनामा सुरुमा सुपरिवेक्षक घरमै पुगेर २५ प्रश्न सोध्नेछ भने त्यसपछि गणक गएर ५५ प्रश्न सोध्नुपर्नेछ। जनगणना अधिकारी शर्माका अनुसार सुपरिवेक्षकले घर मुली, जग्गा, कृषि र बैङ्क खाताको विवरण लगायतका प्रश्नको उत्तर ल्याउनेछ भने गणकले व्यक्तिगत खण्ड, पारिवारिक खण्ड र आर्थिक कारोबार खण्डका आधारमा प्रश्न गर्नेछ। यसका लागि सुपरिवेक्षकलाई १० मिनेट र गणकलाई ३० मिनेट समय लाग्नेछ।

महिलाको सम्पत्ति विवरण आउने
यस पटकको जनगणनामा खाली रहेको घर, गोठको समेत विवरण आउनेछ। नेपालमा महिलाको नाममा सम्पत्ति बनाउने प्रचलन बढ्दै गएको सन्दर्भमा महिलाको नाममा भएको एकल र संयुक्त सम्पत्ति विवरणसमेत जनगणनामा समावेश गरिने भएको छ। सरकारलाई नीति तथा कार्यक्रम ल्याउन सहज गराउने गरी बेरोजगार अवस्था, रोजगारी चाहे-नचाहेको लगायतका विवरणसमेत समावेश गरिनेछ।

भौगोलिक कठिनाइका कारण अनुगमन, सामग्रीको सहजता लगायतलाई ध्यानमा राखेर जिल्लाका १० स्थानीय तह हेर्ने गरी चार स्थानमा स्थानीय जनगणना कार्यालय स्थापना गर्ने तयारीमा कार्यालय रहेको छ। जिल्लाको बरेङ गाउँपालिका र जैमिनी नगरपालिका हेर्ने गरी जैमिनी नगरपालिकामा, काठे खोला गाउँपालिका र बागलुङ नगरपालिका हेर्ने गरी बागलुङ नगरपालिकामा, तारा खोला गाउँपालिका, बडिगाड र गलकोट नगरपालिका हेर्ने गरी गलकोट नगरपालिकामा तथा तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका हेर्ने गरी ढोरपाटन नगरपालिकामा वैशाख १ गतेदेखि जनगणना कार्यालय स्थापना गरिनेछ। 

जनगणनाको प्राथमिक तथ्याङ्क गणना सकेको छ महिनामै आउनेछ। अहिले सरकारले महानगरपालिका र उपमहानगरपालिकामा डिजिटल माध्यमबाटै तथ्याङ्क सङ्कलन गर्नेछ भने नगरपालिका र गाउँपालिकामा कागजी फारम भर्नुपर्ने छ। अहिलेको जनगणनामा जन्म, मृत्यु, बसाइसराइका साथै मातृ मृत्युदरको विषयमा समेत जानकारी लिइनेछ।

गणकद्वारा प्रत्येक घरधुरीमा पुगेर मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु बसाइसराइलगायत विवरण सङ्कलन गरिनेछ। दोस्रो चरण अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तरीय सामुदायिक प्रश्नावली मार्फत वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता पूर्वाधार र विपद्सम्बन्धी विवरण सङ्कलन गरिनेछ। घर तथा घरपरिवार सूचीकरण फाराम २०७८ वैशाख २६ देखि जेठ १४ र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म विवरण भर्ने व्यवस्था छ।

२०६८ को जनगणना अनुसार बागलुङ जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ छ। नमुना जनगणनालाई प्रश्नको विषय, समय तथा गणकको सङ्ख्याका आधार मानिएको छ। जनगणनाको मुख्य आधार जन्म, मृत्यु, बसाइसराइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ