arrow

७९ करोड लागतको गौरिगन्ज कोरोबारी हुलाकी राजमार्गको निर्माण कार्य तीव्र गतिमा

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ चैत २२ आइतबार
gaurigunj-korobari.JPG

झापा । झापाको पश्चिम दक्षिणी क्षेत्रको मुख्य सडकका रूपमा रहेको हुलाकी राजमार्ग कालोपत्रे गर्ने कार्य सुरु भएको छ। हुलाकी राजमार्ग सडक खण्डको तुलाचौन चोकदेखि कमल खोला सम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे भइसकेको छ। तुलाचौन पश्चिम किस्नीखोला सम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा छ। किस्नीखोला -ठेकिटोल चोकसम्म पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न भएको छ।

सडक भित्र पर्ने केही कल्भर्टहरू निर्माणको क्रममा रहेतापनी अधिकांश कल्भर्टहरू निर्माण सम्पन्न भइसकेका छन् । सडकको १४ नम्बर ठेक्का अन्तर्गत रहेको सडकको १८ किलोमिटर सडक खण्डको काम आउँदो असोज सम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको ठेकेदार कम्पनी गजुरमुखी मोतिदान जेभी कन्स्ट्रक्सने जनाएको छ। ‌

सडक निर्माणका लागि ठेक्का सम्झौता पश्चात् निर्माण कार्यले तीव्र गति लिएको छ। साथै गौरीगंज बजार क्षेत्रमा सीमा विवादका कारण लामो समयदेखि अवरुद्ध हुलाकी सडकको काम शुक्रवारदेखि सुचारु भएको छ।

गौरीगंज बजार क्षेत्रमा विवादका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदा समयमा सडक निर्माण सम्पन्न नहुनेमा स्थानीयहरूमा आशङ्का उब्जिएको थियो। गौरीगंज बजार पूर्वमा नहरदेखि पश्चिममा गेउरिया पुल सम्मको बजार क्षेत्रमा हुलाकी सडक खण्डको दाँयाबाँया क्षेत्र निर्धारण गर्न नसक्दा सो क्षेत्र विवादित हुँदै आएको थियो। बजार छेत्रमा सडक चौडा फराकिलो बनाइदा आफ्नो घर सडकमा पर्ने आशङ्कामा विवाद निकाली स्थानीयले सडक निर्माण कार्यमा अवरोध पुर्याउदै  आएका थिए।

पछिल्लो समय फागुन २४ गते सरकारी नक्सा अनुसार नापी कार्यालय प्रतिनिधिद्वारा सडकको सीमा निर्धारण गरिए पनि सडकको विवाद सुल्झिन सकेको थिएन।  विवाद समाधानका लागि गौरिगन्ज गा पा वडा न. ३ का वडाध्यक्ष मखना महतोले शुक्रवार आफ्नै निगरानीमा सरकारी अमिनको नापी अनुसार काम सुरु गराएका छन् ।

  हुलाकी सडक यस क्षेत्रको विकाशको मेरुदण्ड भएकोले यस कार्यमा विवाद ननिकाल्न अध्यक्ष महतोले सबैमा आग्रह गरेका छन्। शुक्रवार बिहान काम सुरु गर्दा केही सामान्य विवाद भए पनि नहरदेखि गौरीगंज चौक सम्म सडकको दक्षिण किनारमा नाला खन्ने काम सम्पन्न भएको छ। सडक उत्तर किनारमा विद्यालयका केही संरचनाहरू भत्काउन बाकी छन्।‌

नहर पूर्व नाला खन्ने क्रममा सडक क्षेत्र भित्र परेका केही घर संरचनाहरू नभत्काई नाला बाङ्गो टिँगो खन्न थालेपछि स्थानीयहरू आक्रोशित भएका थिए।‌ वडाध्यक्ष महतोले सडक क्षेत्र भित्र परेका घर संरचनाहरू हटाउन अल्टिमेटम दिइसकेको र अहिले खालि नभएको अवस्थामा नालाको खाल्डो बाँगोटिँगो भए पनि संरचनाहरू खालि भएपछि नालाको वाल उठाउने समयमा नाला सिधा हुने कुरा जानकारी गराएका थिए।

हुलाकी सडक अन्तर्गत १४ नम्बर ठेक्काको रतुवा देखि कमल खोला सम्मको १८ किलोमिटर सडक खण्डको लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। हुलाकी सडक निर्माणमा स्थानीय बासिन्दाहरूबाट विवाद नआए सडक निर्माण कार्य सम्पन्न हुने तथा समय अगाडि नै निर्माण कार्य सम्पन्न हुने सडक निर्माण कम्पनीका ठेकेदार विकाश गौतमले जानकारी गराएका छन् ।

साढे १६ किलोमिटर सडक निर्माण ठेक्काको जिम्मा पाएको  ७९ करोड ११ लाख ३५ हजार ६ सय ८९रुपैयाँ ४८ पैसा लागतमा गजुरमुखी मोतिदाना जोइन्ट भेन्चर कम्पनीले उक्त सडक आगामी ९नोभेम्बर २०२२ सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ