arrow

संसद्मा प्रधानमन्त्रीदेखि म्यानमारसम्मको चर्चा

सदनलाई प्रभावकारी बनाउन सांसदको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
parliament-house.jpg

काठमाडौं। मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्त्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका हुन् । 

सांसद योगेश भट्टराईले ताप्लेजुङ्को दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीको घटनाबाट पीडितलाई तत्काल बसोबास तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधानका निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उक्त क्षेत्रमा आगलागीबाट रु आठ करोडभन्दा बढी धनमालको क्षति भएको र पाँच घर जलेर नष्ट भएको उनले जानकारी दिए । साथै जिल्लामा पटक–पटक आगलागीका घटना हुने गरेको र पछिल्लो पटक मात्रै जिल्लामा पाँच पटक आगलागी भएको स्मरण गराउँदै सांसद भट्टराईले आगलागी नियन्त्रणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह पनि गरे ।

सांसद राजेन्द्रकुमार राईले अहिले देशैभर आगलागीका घटना बढिरहेको र यसबाट सामुदायिक वन तथा अन्य वनमा ठुलो क्षति पुगेको भन्दै आगलागीको घटना नियन्त्रण गरी प्रदूषित वातावरण नियन्त्रणका लागि विशेष पहल गर्न आग्रह गरे ।

सांसद रेखा कुमारीले दशगजा क्षेत्रमा बाँधको समस्या निरन्तर पेचिलो बन्दै गएको भन्दै समाधानका लागि पहल गर्न सरकारसमक्ष माग गरिन् । 

सांसदद्वय रेणुका गुरुङ र मीना सुब्बाले छिमेकी मुलुक भारतमा कोभिड–१९ महामारी बढिरहेको र नेपालमा पनि यसको खतरा बढेको भन्दै महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे । सिमानामा कडाइ गर्न र जोखिम नियन्त्रणमा जुट्न स्वास्थ्य सहायता कक्ष, क्वारेनटिन आदिको व्यवस्था गर्न पनि उनीहरुले माग गरे ।

सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सडक साँघुरो भएको र ठाउँ ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको भन्दै पर्यटकीय क्षेत्र रारा जाने महत्त्वपूर्ण सडक पनि भएकाले उक्त सडक मर्मतका लागि तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बेवारिसे सडक मर्मतका लागि विशेष पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद मेटमणि चौधरीले दाङ उपत्यकामा पर्ने राप्ती नदी किनारमा अवैध रूपमा बालुवा चोरी निकासी र वन अतिक्रमणको घटना बढेको भन्दै संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरे ।

सांसद भरतकुमार साहले लुम्बिनी सांस्कृतिक नगरपालिका–५ र ६ मा आगलागी हुँदा २५ बिघा जग्गा नष्ट भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै पीडितलाई तत्काल क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गरे ।

सांसद भैरवबहादुर सिंहले बझाङमा खाद्य अभाव बढेको भन्दै चाँडो आपूर्ति गर्न माग गरे । सांसद रामबहादुर विष्टले म्यान्मारमा भइरहेको सैनिक कुको भर्त्सना गर्दै त्यहाँ चाँडै प्रजातन्त्र बहाली होस् भनी कामना गरे ।

सांसद राजेन्द्रकुमार केसीले लामो समयको व्यग्र प्रतीक्षामा मेलम्चीको पानी काठमाडौँ आउनु सुखद भए पनि उपत्यकाका ललितपुर र भक्तपुर जस्तै कीर्तिपुरले अझै पानी नपाएको भन्दै ती क्षेत्रमा पनि पानी वितरणको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे ।

सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई छायाँमा पारेर विरोधीहरू सरकारको आलोचनामा तल्लीन भएकामा आक्रोश पोखे । उनले सरकार गठन भएदेखि पार्टी एकीकरणको किचलो झिकेर, मिडिया मिसन चलाएर सरकारविरुद्ध घेराबन्दी गरेको आरोप लगाए । 

सांसदहरु मीनबहादुर विश्वकर्मा, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, लक्ष्मी परियार लगायतले समसामयिक विषयबारे सरकारको ध्यानाकर्षण गराए ।
 
सदनलाई प्रभावकारी बनाऊ

पुनःस्थापित संसद्लाई बेवास्ता गर्दै महत्त्वपूर्ण बिजनेसको बेवास्ता गरेको भन्दै सांसदहरूले प्रधानमन्त्रीको आलोचना गरेका छन् । जनप्रतिनिधिको थलो संसद् र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बेवास्ता गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको उनीहरुको गुनासो थियो ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले महत्त्वपूर्ण विधेयक अड्किएको अवस्थामा सरकारले संसद्लाई गतिहीन बनाएको टिप्पणी गरे । उनले प्रतिपक्षी दल कांग्रेसले राजीनामा मागिसकेको सन्दर्भ तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले कामचलाउ सरकार भनेको अवस्थामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्दैन भनी प्रश्न गरे ।

कांग्रेसकै रङ्गमती शाहीले संसद् र सिंहदरबारमा उपस्थित नभएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाए । उनले संसद्लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जस्तो अवस्थामा पुर्‍याएको भनी कटाक्ष गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजबहादुर बुढाक्षेत्रीले संसद्लाई प्रभावकारी बनाएर लैजाने सबै राजनीतिक दलको दायित्व भएको बताउँदै प्रधानमन्त्रीबाटै जनादेशको उपेक्षा भएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ