arrow

वैज्ञानिक लोहनीसहित नेपालीले दिए विद्यार्थीलाई छात्रवृत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २३ सोमबार
parbati-school.jpg

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको  बेथानचोक गाउँपालिका स्थित श्री पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण गरिएको छ । क्रिन्जल फाउण्डेशन नेपालको शिक्षा दिक्षा कार्यक्रम अन्तर्गत वितरण गरिएको उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरूले गरेको आर्थिक सहयोगबाट गरिएको हो ।

क्रिन्जल फाउन्डेसनका निर्देशक क्षितिराज लोहनीद्वारा आर्थिक सङ्कलन गरी सो छात्रवृत्ति वितरण गरिएको जानकारी क्रिन्जल फाउन्डेसनका बोर्ड सदस्य तथा आर्थिक संयोजक आरजु लोहनीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले यो छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थी क्रिन्जल परिवार भित्र आबद्ध भएको र ती विद्यार्थीको शैक्षिक पक्षका अलावा अन्य पक्षको विकासमा समेत क्रिन्जलको दायित्व रहेको बताए।

क्रिन्जलको यो छात्रवृत्ति पहिलो अभियानको रूपमा रहेको र आउँदा दिनहरूमा अरू थप क्षेत्रमा समेत आउँदा दिनमा विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्रिन्जल फाउन्डेसन मार्फत यो छात्रवृत्ति विद्यालय सम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व विद्यार्थी समुन्द्र तिम्सिनाले कार्यक्रममा बोल्दै यो कार्यक्रमको श्रेय युवा वैज्ञानिक क्षितिजराज लोहनीलाई जाने कुरा राखे। क्षितिजराज लोहनी आफूले विद्यालयमा अध्ययन गर्दा १५०० रुपैयाँ शुल्क तिर्न नसकेर विद्यालयबाट निष्कासन हुनु परेको पीडा सम्झेर नेपालमा अध्ययन गर्ने विपन्न वर्गका बालबालिकाको शिक्षित सुनिश्चितताको लागि आफूले यो कार्यक्रमका लागि अमेरिकामा बसेर यस विद्यालयका विद्यार्थीका लागि सहयोग गर्न तत्पर रहेको कुरा जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिम्सिनाले दाता प्रति हार्दिक आभार व्यक्त गर्दै यो सहयोगबाट प्रेरणा लिएर सदैव आफ्नो शैक्षिक उन्नयनमा लाग्न सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरे । यो सहयोगको कुनै दुरुपयोग नहुने र सम्पूर्ण छात्रवृत्ति रकम विद्यार्थीको सिकाइ प्रयोजनमा मात्र खर्च गरिने योजना अत्यन्तै सराहनीय रहेको बताएका थिए ।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भगवान् घिमिरेले विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक विकासमा संस्था मार्फत गरिएको सहयोग अत्यन्तै  सराहनीय हुनुका साथै अन्य संस्थाका लागि समेत सिकाइको विषय रहेको जानकारी गराए।  विद्यालय प्रधानाध्यापक गोविन्द प्रसाद शर्माले क्रिन्जल परिवारका सम्पूर्ण प्रतिनिधिहरूलाई विद्यालयको तर्फबाट हार्दिक स्वागत गरेका थिए ।

यस कार्यक्रम मार्फत विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ३१ जना विद्यार्थीको लागि छात्रवृत्ति वितरण गरिएको थियो। यस कार्यक्रम मार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी एघार हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ