arrow

अझ तीन दिन उपत्यकाको वायु प्रदूषण घट्ने सम्भावना न्यून

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत २५ बुधबार
Pollution-KTM-Haze_1617797930.jpg

काठमाडौं । अझैं केही दिन काठमाडौँ उपत्यकाको वायु प्रदूषण स्थिर रहने देखिएको छ । उपत्यकामा वर्षा र वेगको हावा चल्ने सम्भावना न्यून भएका कारण वायु प्रदूषण स्थिर रहने भएको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसम विद् गंगा नगरकोटीले काठमाडौँ उपत्यकामा आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना न्यून रहेको बताएकी छन् । पानीसँग उपत्यकामा वेगको हावा चल्ने  सम्भावना पनि नरहेको उनले बताइन् । यसो हुँदा प्रदूषण घट्ने सम्भावना नरहेको मौसम विद् नगरकोटीको अनुमान छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले वायु प्रदूषण न्यूनीकरण गर्न सकिने विषयमा छलफल भइरहेको बताए ।‘गत हप्ताको तुलनामा पानी परेपछि प्रदूषण कम भएको छ तर, फेरि बढ्दै गयो भने सरकारले त्यही अनुसार निर्णय गर्नेछ,’ उनले भने ।

उपत्यकामा अचानक बढेको र बढेकै अवस्थामा रहेको प्रदूषण न्यूनीकरणका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लगाउने, औद्योगिक क्षेत्र बन्द गर्न लगायतका उपाय किन अपनाइएन भन्ने प्रश्नमा यस्ता निर्णय सहजै गर्न सक्ने अवस्था नरहेको प्रवक्ता जोशीले बताए ।

‘उपत्यकाका औद्योगिक क्षेत्रहरु बन्द गरेर फेरि सञ्चालन गर्दा ठुलो घाटा हुन्छ, यातायात पनि बन्द गर्न सकिने अवस्था रहन्न, कयौं मानिसहरुको अत्यावश्यक काम हुन्छन्, अफिसहरु ठप्प रहन्छन्,’ उनले भने ।

वायु प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, यातायात व्यवस्था विभागलगायत स्थानीय सरकारहरूलाई समेत विभिन्न किसिमका जिम्मेवारी बाँडिएको प्रवक्ता जोशीको भनाइ छ ।

त्यसै अनुसार वायु प्रदूषण नियन्त्रणका लागि गाडीमा युरो ४ को मापदण्ड लागु गर्ने, विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने, ट्राफिक व्यवस्थापन, पुराना गाडी विस्थापन, निर्माण क्षेत्रमा कडाइ, इँटा उद्योग सार्ने लगायतका कामहरु भइरहेको उनको भनाइ छ ।

वायु प्रदूषण नियन्त्रणका लागि अनावश्यक आगो बाल्न नदिने, एवं धुँवा उत्पादन गर्ने किसिमका फोहर जथाभावी फाल्न नदिने किसिमका उपायहरु अपनाइएको काठमडौं माहानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण मापन गर्दै आएको विगत ४ वर्षयता पहिलो पटक अत्यधिक प्रदूषण भएको प्रवक्ता जोशीको भनाइ छ । डढेलो र पानी नपरेका कारण यस पटक अत्यधिक वायु प्रदूषण भएको नत्र विगतमा झैं वायु प्रदूषण स्थिर रहेको र खासै नबढेको उनको भनाइ छ ।

देशभरै र खास गरी काठमडौं उपत्यकाको वायु प्रदूषण पछिल्लो समय अत्यधिक हानिकारक अवस्थामा छ । यस्तोमा हरेक नागरिकले सतर्कता अपनाउनु पर्ने विज्ञहरुको भनाइ छ ।

अत्यधिक वायु प्रदूषण भएका कारण यसले श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या निम्त्याउने वातावरणीय स्वास्थ्य विद् एवं नेपाल खुला विश्वविद्यालयका सहायक प्राध्यापक डा. यादवराज जोशीले बताएका छन् ।
यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन र निस्कनै परे मास्क र अन्य सुरक्षा अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ