arrow

भारतमा कोरोना संक्रमण झन् उत्कर्षमा, एकैदिन एक लाख २६ हजार संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
corona-india_1617842680.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा बुधबार (अप्रिल ७, चैत २५ गते) एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका छन् । यसअघि मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए । 

यो अहिलेसम्मकै सबैभन्दा बढी हो । अहिले हरेक दिन रेकर्ड बन्दै गइरहेको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएसँगै यो हप्ता रेकर्ड दिनानुदिन बढ्दै गएको हो । गत आइतबार १ लाख ३ हजार ७९४ जना संक्रमित एकैदिन थपिएका थिए । त्यो रेकर्डसमेत मंगलबार तोडियो । बुधबार त सीमा नै झन् नाघ्यो ।  

सोमबार भने ९६ हजार ५६३ जना संक्रमित थपिएका थिए । यसले भारतमा कोरोनाको संक्रमण नियन्त्रणबाहिर पुगेको देखिएको छ । लगातार छैटौं दिन भारतमा विश्वकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो । 

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरको अवस्थालाई पनि नाघेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । 

तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ । 

योसँगै कुल संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर ९ लाख ५ हजार २१ पुगेका छन् । 

मृतक पनि पुरानै अवस्थामा हुन थालेको छ । शुक्रबार ७१३ जनाको ज्यान गएकोमा शनिबार ५१४ जनाको ज्यान गएको थियो । आइतबार ४७७ जनाको ज्यान गएको थियो भने सोमबार ४४५ जनाको ज्यान गएको थियो ।  मंगलबार बढेर ६३० पुगेका थिए । बुधबार अझै बढेर ६८४ पुगेका छन् । 

अहिलेसम्म १ लाख ६६ हजार ८९२ को ज्यान गइसकेको छ । 

बुधबार जम्मा ५९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बुधबार एकैदिन ५९ हजार ९०७ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार ५७ हजार ७४ जना, मंगलबार ५५ हजार ४६९ जना र सोमबार भने यो संख्या घटेर ४७ हजार २८८ रहेको थियो । 

बुधबार एकैदिन महाराष्ट्रमा मात्रै सबैभन्दा बढी ३२२ जनाको ज्यान गएको थियो । मंगलबार २९७ जना, शनिबार २७७ जनाको ज्यान गएको थियो । महाराष्ट्रमा मात्रै हाल ५ लाख १ हजार ५५९ जना सक्रिय संक्रमित रहेका छन् । 

नेपालसँग सीमा जोडिएको बिहारमा दिनानुदिन संक्रमित बढेका छन् । बुधबार १ हजार ५२७ जना संक्रमित थपिएका छन् । मंगलबार १ हजार ८० संक्रमित थपिएका थिए । सोमबार ९३५ जना संक्रमित थपिएका थिए । आइतबार ८६४ जना संक्रमित थपिएका थिए । शनिबार ८३६ जना संक्रमित थपिएका थिए । शुक्रबार ६६२ जना संक्रमित थपिएका थिए ।  

नियन्त्रणको नजिक पुगेको बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ५ हजार ९२५ पुगेका छन् । 

तस्वीर–कोरोना संक्रमित बढेपछि दिल्लीको आनन्द विहार टर्मिनलबाट आफ्नो घर बिहार फर्किँदै यात्रु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ