arrow

वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १९ आइतबार
bir-new.jpg

काठमाडौं । वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड अस्पताल बनाउने तयारी भएको छ । वीर अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयसँग गरेको पछिल्लो संवादपछि वीर अस्पतालको नवनिर्मित भवनलाई कोभिड अस्पताल बनाउने तयारी गरेको हो । अस्पतालकी निमित्त निर्देशक डा.शान्ता सापकोटाले नयाँ भवनलाई तत्काल सुचारु गरेर कोभिड संक्रमितहरु राख्ने गरि व्यवस्थापन गर्न लागेको जानकारी दिइन् ।

उनका अनुसार नयाँ भवनलाई तत्काल दुई सय बेडको कोभिड केन्द्रित अस्पताल बनाइने छ भने वीरको पुरानो अस्पताल रहेको भवनलाई बिस्तारै ननकोभिडमा रुपान्तरण गरेर अन्य बिरामीलाई समेत सेवा दिनेगरि तयारी गरिएको छ ।

‘वीर अस्पतालको नयाँ भवनलाई कोभिड केन्द्रित गर्ने र पुरानोलाई विस्तारै ननकोभिड बिरामीहरुलाई सेवा दिने गरी संचालन गर्न तयारी भइरहेको छ, केही दिनमा नै व्यवस्थापकीय काम सकेर नयाँ भवनलाई संचालमा ल्याउँछौं,’ वीर अस्पतालकी निमित्त निर्देशक सापकोटाले हाम्राकुरासँग भनिन् ।

कोभिड केन्द्रित अस्पतालका लागि नयाँ भवनलाई संचालमा ल्याउनका लागि अस्पताल पक्षले निर्माण पक्षसँगसमेत काम छिटो सक्न आग्रह गरिरहेको छ । निर्माण कम्पनीले लगभग काम सकिसकेको छ ।

यसैगरी भित्री व्यवस्थापनका अन्तर्गत जनशक्तिको व्यवस्थापन, बेड व्यवस्थापनसहितका व्यवस्थापकीय विषयमासमेत तिव्रताका साथ काम भइरहेको छ । सो नयाँ भवन ५०१ बेडसम्म राख्न सक्ने गरी बनाइएको हो । तत्कालका लागि कोभिड केन्द्रित गरेर दुई सय बेड संचालमा ल्याउने र बिस्तारै त्यसलाई बढाउने अस्पतालको तयारी छ ।

वीर अस्पतालमा केही दिनअघि मात्रै एक वर्षदेखि बिग्रिएर उत्पादन बन्द भएको अक्सिजन प्लान्ट मर्मतपछि संचालनमा आएको थियो । गत वर्ष कोरोना संक्रमणको गति उच्च हुँदै गर्दा बिग्रिएर थन्किएको अक्सिजन प्लान्ट स्थानीय बजारमा उपलब्ध साधनको प्रयोगबाट मर्मतपछि बनेको हो ।

वीर अस्पतालको सो अक्सिजन प्लान्टबाट दैनिक १ सय ५० सिलिण्डर अक्सिजन ग्याँस उत्पादन हुनेगर्छ । अस्पतालमा सामान्य अवस्थामा एक सयको संख्या भित्रै सिलिण्डर दैनिक रुपमा खपत हुँदै आइरहेको छ ।

तर, अहिले कोरोना संक्रमणको बढ्दो अवस्थामा भने दैनिक २ सय ५० सिलिण्डरसम्म तयारी अवस्थामा राख्नु पर्ने वीरको बाध्यता छ । सामान्य अवस्थामा आफ्नै प्लान्टबाट उत्पादित अक्सिजनबाट नै वीर अस्पतालले आन्तरिक माग धान्न सक्छ । तर अहिले कोरोना संक्रमणका कारण दैनिक दुई सय भन्दा माथि सिलिण्डर खपत हुने गरेको छ ।

अस्पतालका अनुसार सो प्लान्टमा फिलिङ प्लान्ट जोड्ने हो भने अझै उत्पादन बढाउन सकिने अवस्था छ भने वीरले आफूलाई पर्याप्त सिलिण्डर राखेर अन्यत्रसमेत दिन सक्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ