arrow

समाचार प्रभावः जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चार जना कर्मचारी बर्खास्त

logo
हरि पन्त
प्रकाशित २०७८ असार ८ मंगलबार
GP-koirala.jpg

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निलम्वनमा परेका चार कर्मचारीलाई बर्खास्त गरिएको छ । 

अस्पतालमा करारमा रहेका कर्मचारीले कोरोना परीक्षणका लागि आएका सेवाग्राहीसँग पैसा लिएको खुलेपछि अस्पताल प्रशासनले गत जेठ १७ गते निलम्वन गरेको थियो । निलम्वित कर्मचारीलाई मंगलबार बर्खास्त गरिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले उनीहरुलाई बर्खास्त गरेको जानकारी गराएका हुन् । निर्देशक श्रेष्ठले चारै जना कर्मचारीसंग स्पष्टिकरण सोधिएको र स्पष्टिकरण चित्तबुझ्दो नभएपछि केन्द्रसंग गरिएको करार सम्झौता रद्ध गरिएको उल्लेख गरेका छन् । 

साथै उनीहरुसंग पटक पटक लिखित र मौखिकरुपमा सचेत गराउँदा पनि बानी व्यवहारमा सुधार नआएपछि बाध्य भएर कार्वाही गरिएको उनले जानकारी पत्रमा उल्लेख गरेका छन् ।

बर्खास्त हुने कर्मचारीमा अस्पतालका फार्मेसिष्ट सुधन पन्त, ल्याव टेक्निसियन आनन्दप्रसाद ढुंगाना, रेडियोग्राफर विधान तिमिल्सिना र कार्यालय सहयोगी एवं गार्ड मदन श्रेष्ठ छन् । उनीहरुलाई निलम्वनमा परेको २३ दिपछि बर्खास्त गरिएको हो ।

उनीहरु निलम्वनमा परेपछि निलम्वन फुकुवा गर्न अस्पतालका प्रशासन र कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठमाथि राजनीतिक दवाव दिइएको थियो । यसको समाचार हाम्राकुराले सोमबार प्रकाशित गरेको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले कर्मचारी विवादबाट आफू पन्छिनका लागि अस्पतालको बोर्ड बैठकमा लगेर निर्णय गराउने मनसाय बनाएका थिए ।

यसबारे समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाटै उनलाई राजनीतिक दवावमा नपरि ती कर्मचारीलाई तत्कालै बर्खास्त गर्न निर्देशन दिइएको बताइन्छ ।

केन्द्रका अध्यक्ष डा.दीपेन्द्ररमण सिंहले राजनीतिक दवावमा कोही नपर्ने र अस्पतालको बदनाम गराउने जो कोहीलाई पनि माफी नदिने स्पष्ट पारेका थिए ।

यस्तो छ जनगुनासो

कोरोना संक्रमणको स्थिति भयावह बन्दै जाँदा संक्रमितहरु अस्पतालमा नै ठगिने गरेको छ । अस्पतालमा पुग्ने संक्रमित तथा संक्रमितका आफन्तलाई अस्पतालकै कर्मचारीले विभिन्न बहानामा ठग्ने गरेका छन् ।

अस्पताल हाताभित्र नै अवैध रुपमा पिसिआर परीक्षण गर्न भन्दै सेवाग्राहीसँग रकम संकलनमा अस्पतालकै कर्मचारी मस्त छन् ।

अस्पतालकै फार्मेसीमा कार्यरत कर्मचारीले संक्रमितका आफन्तलाई सरकारी अस्पतालबाट रिपोर्ट आउन लामो समय कुर्नुपर्ने तर आफूहरुले एक दिनमै रिपोर्ट उपलब्ध गराउने आश्वासन देखाएर रकम अशुल्ने गरेका थिए ।

कर्मचारीले जनही तीन हजारका दरले सर्वसाधारणसँग रकम अशुल गर्दै आएका छन् । कर्मचारीका निजी मेडिकल पनि छन् ।

सेवाग्राहीहरुलाई अस्पतालका कर्मचारीले औषधि खरिदका लागि निजी मेडिकल जान बाध्य पार्दै आएका छन् । स्वास्थ्य वीमा गरेकाहरुलाई पनि अस्पतालले औषधि छैन भन्दै बाहिर खरिद गर्न सुझाव दिने गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ