arrow

स्वराजले भनिन्–भारतको विरोध किन गरेको ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1360612253.jpeg
काठमाडौं । भारतले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र सांसदले भारतका विषयमा दिएको पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले युद्धका बेला पनि नदिइने अभिव्यक्ति नेपाली नेतृत्वको मुखबाट निस्केको बताइन्। उनले नेपाली नेतृत्वलाई सम्हालिनसमेत आग्रह गरेकी छन्।
 
नागरिक दैनिकमा सुरेन्द्र पौडेल लेख्छन्–तीन दिने निजी भारत भ्रमणको अन्तिम दिन नयाँदिल्लीको जवाहर भवनमा मन्त्री थापाले भारतीय समकक्षी स्वराजसँग भेटवार्ता गरेका थिए। बैंगलोर हुँदै नयाँदिल्ली पुगेका थापासँग भेट्न स्वराज संसद बैठक छाडेर आएकी थिइन्। भेटवार्तामा सहभागी एक स्रोतका अनुसार सुरुमै भारतीय विदेशमन्त्री स्वराज आक्रोशित रूपमा प्रस्तुत भएकी थिइन्। करिब ५० मिनेट लामो भेटवार्ताको अन्ततिर मात्र उनले गम्भीर हुँदै मेलमिलापको कुरा अघि सारेकी थिइन्।
 
'के नेपाल डिस्अर्डर राष्ट्र हो? स–साना कुरा पनि संसदमा किन उठ्छन्? हाम्रो विरुद्ध संसदमा नाराबाजी गर्नुहुन्छ, हाम्रा राजदूतलाई फिर्ता पठाऊ भन्नुहुन्छ। सांसददेखि प्रधानमन्त्रीसम्मले सार्वजनिक कार्यक्रममा हाम्रै विरोध गर्नुहुन्छ। अनि फेरि तपाईंहरू समस्या समाधान गर्नुपर्योद भनी हामीलाई नै भन्नुहुन्छ,' भेटवार्तामा सहभागी स्रोतले विदेशमन्त्री स्वराजको भनाइ उद्धृत गर्दै भन्यो, 'सार्वभौम राष्ट्रलाई आफ्नो समस्या समाधान गर्ने अधिकार छ, त्यो हामीले रोकेका छैनौं।'
 
भेटवार्तामा पटक–पटक भारतीय विदेशमन्त्री स्वराजले 'सार्वभौम' शब्द दोहोर्या एकी थिइन्। प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र सांसदले सार्वजनिक रूपमा भारतको विरोध गरेको प्रति उनले खास चिन्ता व्यक्त गरेकी थिइन्। नेपाली नेतृत्ववर्गले अहिले भारतका सम्बन्धमा दिने गरेको अभिव्यक्ति भारतले युद्धका बेला पनि कुनै राष्ट्रविरुद्ध नदिएको स्मरण गराइन्।
 
'के नेपाल यति भद्रगोल भइसक्यो, सम्हालिनै सक्दैन? हामीले पाकिस्तान र चीनसँग युद्ध लड्यौं तर कहिल्यै उनीहरुको विरुद्ध भारतको नेतृत्ववर्गले सार्वजनिक रूपमा त्यस्तो बोलेन। राजदूत फिर्ता गर्ने कुरा भारतीय संसदमा उठेन,' भारतीय विदेशमन्त्री स्वराजले भनिन्। भारतले अहिले नेपालबाट धेरै गालीगलैज सुन्नु परेको उनको गुनासो थियो।
 
इन्धन आपूर्ति गर्नका लागि नेपालले चीनसँग गरेको सम्झौताप्रति पनि उनले घुमाउरो शैलीमा असन्तुष्टि जनाएकी थिइन्। त्यति मात्र होइन, नेपालले उठाउँदै आएको भूपेरिवेष्ठित राष्ट्रको हक, अधिकार, डब्लुटिओ, पारवहन सन्धिलगायत विषयमा पनि उनले कूटनीतिक शैलीमा जवाफ दिइन्। उनले भनिन्, 'तपाईंहरू सार्वभौम राष्ट्र, सामान जहाँबाट पनि ल्याउन सक्नुहुन्छ, हामी रोक्दैनौं। अन्तर्राष्ट्रिय कानुनअनुसार हामी पारवहन सेवा दिन्छौं।'
 
जवाफमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय सीमाबाट नेपाल भित्रने सामान रोकिएका कारण बाध्य भएर अन्य राष्ट्रबाट ल्याउन खोजिएको बताएका थिए। २०४५/०४६ सालमा भारतसँगको परर्निभरता ३० प्रतिशत रहेकोमा अहिले यो बढेर ६५ प्रतिशत पुगेको उनले स्मरण गराए। 'भारतमाथि विश्वास भएर नै परर्निभरता बढेको हो,' भेटवार्तामा मन्त्री थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
 
भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपाली नेतृत्वमाथि 'हुन्छ हुन्छ भन्ने तर व्यवहारमा केही नगर्ने' आक्षेप लगाउँदै संविधान संशोधन अघि बढ्न नसक्नुको कारणबारे जिज्ञासा राखेकी थिइन्। उनले १२ बुँदे सहमतिका विषयमा भएको विरोधबारे पनि ज्ञिजासा राखेकी थिइन्। जवाफमा मन्त्री थापाले संविधान संशोधन कार्य अघि बढिरहेको बताएका थिए।
 
भेटवार्ताको अन्ततिर विदेशमन्त्री स्वराज शान्त हुँदै नेपाल–भारतबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउनु पर्नेमा जोड दिएकी थिइन्। सम्बन्ध सुधार्नुको विकल्प नरहेको जनाउँदै मन्त्री थापाले पनि तिक्तताले कसैलाई फाइदा नहुने बताएका थिए।
 
'भारतीय विदेशमन्त्रीले अहिलेको तिक्ततालाई बिर्सन आफूहरु तयार रहेको बताउनुभएको छ, उहाँले हिजोको जस्तो विश्वासको वातावरणमा पुग्न नयाँ तरिकाले छलफल गर्न भारत तयार रहेको समेत बताउनुभयो, आपूर्ति सहज बनाउन भारतले सघाउने प्रतिबद्धता उहाँले जनाउनुभयो,' भेटवार्ताको विषयमा भारतका लागि नेपाली राजदूत द्विपकुमार उपाध्यायले जानकारी दिए। नेपाली जनताले दुःख पाउन् भन्ने चाहना भारतको नभएको पनि भेटमा मन्त्री स्वराजले स्पष्ट पारेकी थिइन्।
 
'विदेशमन्त्री स्वराजले अहिले नेपालमा देखिएको राजनीतिक समस्या राजनीतिक तरिकाले छिटोभन्दा छिटो समाधान गर्नुपर्ने नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटमा पुनः औंल्याउनुभयो,' भारतीय विदेश मन्त्रालयका प्रवत्ता विकास स्वरूपले टि्वटरमा लेखेका छन्।
 
आपूर्ति व्यवस्थामा भारतले कुनै रोकावट नगरेको तर छिटोभन्दा छिटो नेपालले स्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा विदेशमन्त्री स्वराजले जोड दिएकी थिइन्। उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भने भेटवार्ता फलदायी भएको आफ्नो टि्वटरमार्फत बताएका छन्। 'दुवै देशका मन्त्री अहिले नेपाल–भारत नाकामा देखिएको अवरोधले दुवै देशलाई फाइदा नहुने निष्कर्ष निकाल्दै जतिसक्दो छिटो यो समस्याको समाधान खोज्नेमा सहमत हुनुभएको छ,' परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
 
यसैबीच बुधबार साँझ उपप्रधानमन्त्री कमल थापासँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेटेका छन्। भेटपछि थापाको भ्रमण लम्बिएको छ। बुधबार नेपाल फर्कने तयारीमा रहेका थापा बिहीबार मात्रै स्वदेश फर्कने भएका छन्। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ