arrow

महासंघको विधान संशोधनमा प्रदेश नं ५ को कित्ताकाट, को कतापट्टि ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असोज ४ मंगलबार
State-5.jpeg
काठमाडौं । मुलुक संघीय प्रदेशमा भएपछि महासंघको स्वरूप कस्तो बन्ने भन्ने विषयमा महासंघ भित्र पनि घनिभूत छलफल भएको छ । त्यस्तै महासंघको स्वरूप कार्य विभाजन र यसमा जिल्ला तथा नगरको अधिकारको विषयमा पनि घनिभूत छलफल भईरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हुँदैछ । कात्तिक दोस्रो साता बस्ने महासंघको विशेष साधारणसभाले संघीय उद्योग वाणिज्य महासंघको विधान पारित गर्दैछ ।
 
यस विषायमा जिल्ला उद्योग वाणिज्य संघहरूले पनि धेरै सुझावहरू प्रस्तुत गरिरहेका छन् । महासंघको अबको नेतृत्व कस्तो हुने र विधान कस्तो बन्ने भन्ने विषयमा अझै पनि एक मत भईसकेको छैन । अहिलेको विधानमा एकातिर नेतृत्व चयनको विषयमा चर्चा रहेको छ भने अर्कोतर्फ अधिकार बाँडफाँडको कुरालाई पनि चर्चाको विषय बनाईएको छ । 
 
जिल्ला उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एउटा महत्वपूर्ण र प्रभावशाली क्षेत्र मानिन्छन् । महासंघको कुनैपनि निर्णयमा जिल्ला उद्योग वाणिज्य महासंघको धारणाले पनि निर्णयक भूमिका निर्वाह गरिरहेको हुन्छ । यसै विषयमा हाम्राकुरा डटकमले प्रदेश नं ५ भित्र पर्ने विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग अबको महासंघको कार्य विभाजन र जिल्ला तथा नगरको हैसियत कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंशः
 
जिल्ला उद्योग वाणिज्य संघमा कुरा गर्दा कतिपयले अझै प्रस्तावित विधान प्राप्त गर्न नसकिरहेको बताएका छन् । यसरी विधान प्राप्त नभएका तथा विधानमा सुझाव अटाउन नसकेकाहरूको पनि राय महासंघसम्म पु¥याउने लक्ष्य सहित हाम्रा कुरा डटकमले हरेक जिल्ला उद्योग वाणिज्य संघका सुझावहरू संकलन गरि प्रकाशन गर्दै आएको छ । 
 
सीधै अध्यक्ष बनेपनि हुन्छ तरजिल्लालाई अधिकारबिहीन बनाउनु भएन
राजु महर्जन, 
अध्यक्ष 
पाल्पा उद्योग वाणिज्य संघ
 
हामीले यस विषयमा अहिलेसम्म स्पष्ट धारणा बनाउन सकिरहेका छैनौं । अहिलेको महासंघमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा महासंघ दिनप्रतिदिन धरासायी बन्दै गएको देख्दा त अध्यक्ष वरिष्ठ उपाध्यक्षबाट सीधै अध्यक्ष बन्दा पनि ठीक हो भन्ने हामीललाई लागेको हो । तर, अन्य जिल्लाका साथीहरूले पनि यस्तो व्यवस्थाले हामीलाई अधिकारबिहीन बनाउँछ भनेर भनिरहुनु भएको छ । हामीले आफ्नो अधिकार खोस्ने गरी त कुनैपनि निर्णय गर्नु भएन । 
 
बास्तावमा भन्नुपर्दा हामीले अहिलेसम्म विधान हेर्न पाएको पनि छैन । त्इसैले पनि हामीले यही कुरामा चित्त बुझेन भनेर भन्न सकिने अवस्था रहेको छैन । तर पनि कुरा के हो भने अरूले भनेको आधारमा पनि मैले प्रान्तलाई अहिलेको क्षेत्रीय उद्योग वाणिज्य संघको जस्तै हविगत बनाउन खोजिएको छ भन्ने बुझेको छु । 
 
प्रदेशको उद्योग वाणिज्य संघ निर्माण गर्ने हो भने हामीले अधिकार सहितको उद्योग वाणिज्य संघ चाहिन्छ । कोरम पुगेन भने बैठकमा बोलाउने मात्रै गर्नु भएन । त्यसैले मत हाल्न पाईएन भने हाम्रो अस्तित्व हराउनेछ । जिल्लाको अस्तित्व हराउनेछ । र हामी भन्दा पछि खुलेका गैर औद्योगिक संस्थाहरू बलिया बन्नेछन् । त्यसैले उद्योग वाणिज्य संघको पहिलाको स्वरूप र अहिलेको स्वरूपमा धेरै अन्तर रहेको छ । हामी परिवर्तनको पक्षमा त छौं तर परिवर्तन गर्ने भनेर हामीलाई चाहिँ धोती न टेपी बनाउने हो भने चाहिँ यो हामीलाई मान्य छैन । 
 
पछिल्लो समय राजनीति पनि बढिरहेको छ । यो पनि स्थानीय निकायको निर्वाचन नहुनुको परिणाम  होला तै पनि हामीले यसलाई कमगर्न भने पक्कै ध्यान दिनुपर्ने देखिन्छ ।
 
अहिलेको विधानमा मान्नै नसकिने प्राबधान पनि धेरै छन् 
दूर्गा प्रसाद पाण्डे 
अध्यक्ष
गुल्मी उद्योग वाणिज्य संघ
हामी यस विषयमा स्पष्टसँग बोल्नको लागि आउँदो असोज ५ गते हामी पदाधिकारीसँग छलफल गर्दैछौं । यस पछि मात्रै ठोस निर्णयमा पुग्नेछौं । तर मेरो व्यक्तिगत कुरा भन्नेहो भने त हामीले अहिलेको प्रस्तावित विधानमा धेरै असन्तुष्टि र मान्नै नसकिने पनि धेरै कुराहरु भेटेका छौं । के कुरामा असहमति जनाउने र कुन विषयलाई केन्द्रमा राखेर कुरा गर्ने भन्ने विषय हामी थप छलफल पछि मात्रै टुङ्गोमा पुर्‍याउने छौं । 
 
१० गतेपछि स्पष्ट निर्णय, प्रस्तावित विधान परिमार्जन गरेर संशोधन आवश्यक
गुरू शरण सिंह
अध्यक्ष 
 
कृष्णनगर, उद्योग वाणिज्य संघ
हामी अहिलेको विधान कस्तो छ भनेर अझै पनि छलफलमा व्यस्त नै रहेका छौं । हामीले कपिलबस्तु जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षसँग पनि यस विषयमा छलफल गरेका थियौं । उहाँले अहिलेको प्रस्तावित विधानमा धेरै संशोधनका कुराहरु आवश्यक रहेको छ भन्नु भएको छ । हामी यस विषयमा स्पष्टसँग बोल्नको लागि आउँदो असोज १० गते पदाधिकारीसँग छलफल गर्दैछौं । 
 
यस पछि मात्रै हामी ठोस निर्णयमा पुग्नेछौं । तर, यस विषयमा धेरै मानिस अहिलेको विधान संशोधन गर्नुपर्नेछ भन्ने धारणा रहेकोले लगभग अहिले यो संशोधन हुन्छ भन्ने मैले बुझेको छु । 
 
सबैभन्दा माथिल्लो पदमा निर्वाचनहुनुजस्तो राम्रो केही होईन
महेश मान सिंह
अध्यक्ष
बुटवल उद्योग वाणिज्य संघ 
हाम्रो बुटवल उद्योग वाणिज्य संघको हरेक सोमबार हुने भेलामा हामीले यस विषयमा छलफल गर्न लागेका थियौं । तर पदाधिकारीहरू कोही विदेश त कोही कता भएर हामी बैठक बस्न नपाएर साझा धारणा बनिसकेको छैन । तर, हाम्रो धारणा के छ भने प्रतिस्पर्धा जस्तो राम्रो केही पनि होईन मात्रै भन्छु बाँकी कुरा पछि गरौंला । तर हामी जिल्लाको अधिकार कुनैपनि हालतमा खोसिनु हुन्न र प्रान्तीय उद्योग वाणिज्य संघ गठन गर्ने हो भने यसलाई पूर्ण स्वायत्त र अधिकारसम्पन्न हुनुपर्छ । संकुचित बनाउने होईन । 
 
हामी यस विषयमा स्पष्टसँग बोल्नको लागि आउँदो सोमबार पदाधिकारीसँग छलफल गर्दैछौं । यस पछि मात्रै हामी ठोस निर्णयमा पुग्नेछौं । तर, यस विषयमा धेरै मानिस अहिलेको विधान संशोधन गर्नुपर्नेछ भन्ने धारणा रहेकोले लगभग अहिले यो संशोधन हुन्छ भन्ने मैले बुझेको छु । 
 
हामी हाम्रै अस्तित्व जोगाउन व्यस्त छौं, केन्द्रमा जे गरेपनि साथीहरुको निर्णय स्वीकार्य छ 
यज्ञप्रसाद भट्टराई 
अध्यक्ष
कपिलबस्तु उद्योग वाणिज्य संघ 
कपिलबस्तु जिल्ला उद्योग वाणिज्य संघ नित्तान्त एउटा नयाँ उद्योग वाणिज्य संघ हो । हामी अहिले यसको अस्तित्व जोगाउन हरप्रहर संघर्ष गरिरहेका छौ । त्यसैले हामी जिल्ला उद्योग वाणिज्य संघबाट यस पटक नै केन्द्रमा कुनै पदमा आकांक्षा देखाउने पक्षमा छैन ।
 
केन्द्रले पाि विधान संशोधनको लागि धेरै प्रस्तावहरू पठाएको छ । यस विषयमा धेरै जिल्लाका धेरै प्रतिनिधिहरूले आ–आफ्नो मत पनि दिईरहेका छन् । त्यसैले यो विषयमा आधाआधा कत विभाजन हुन्छ भन्ने मैले बुझेको छु । धेरै होईन यो विषयमा दुबैपक्षका आधाआधा प्रतिनिधिहरू रहेको मेरो आकलनले देखाएको छ ।
 
हाम्रा साथीहरूले सबै कुरामा नभएपनि आफ्नो अधिकारको विषयमा भने संवेदनशीलता देखाएका छन् । त्यसैले पनि म त के भन्छु भने सबैलाई अंचल कमिटीमा एकीकृत गराएर सबैको साझा धारणा बनाएर मात्रै अघि बढ्दा ठीक हुन्छ भन्ने मैले बुझेको छु । 
 
केन्द्रमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुपर्छ 
जस्मीर अलि मियाँ 
अध्यक्ष 
चन्द्रौटा, उद्योग वाणिज्य संघ
 
अहिलेको नेपाल उद्योग वाणिज्य महासंघ राजनीतिले धेरै विग्रिएको भनेर कताकति सुनेने पनि गरेको छ । तर यो एक हिसावले स्थानीय निकायको निर्वाचन नहुनुको कारण पनि हुनसक्छ । त्यसैले तर म त के भन्छु भने बाहिर देखिनलाई जति राजनीति हाबी भएको देखिएको छ । त्यति नै मात्रामा भित्र राजनीतिक खेल हुने गरेको छैन । म एउटा विचारधारा बोक्ने व्यक्ति हुँला मेरो महासचिव अर्काे विचारधारा बोक्ने व्यक्ति होला तर यस्तोलाई पूरा राजनीति घुस्यो भन्न त पाईएन नि । 
 
तपाईले केन्द्रको कुरा गर्नुभयो । केन्द्रमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुपर्छ । हामी जिल्लाका प्रतिनिधिले नै भोटहाल्नु पर्छ र प्रदेशलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्छ । 
 
एउटा जिल्लाबाट ३ जना प्रतिनिधि हुनुपर्छ, अध्यक्ष निर्वाचनबाटै चुनिनुपर्छ  
राम कुमार शर्मा 
अध्यक्ष
सिद्धार्थनगर, उद्योग वाणिज्य संघ
 
अहिले उद्योग वाणिज्य महासंघको पछिल्लो समय सबैभन्दा बढी चर्चाको विषय भनेको वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने कुरामा हामीहरुको लागि मान्य छैन । निर्वाचनको कुरा गर्दा अध्यक्षको निर्वाचन हुनु नै उत्तम हो भन्ने मलाई लाग्छ । एउटा कर्मठ नेतृत्व छान्न पाउनुपर्छ ।
 
केन्द्रमा मतदान गर्नको लागि एकजना मात्रै होईन म त भन्छु हरेक जिल्लाबाट ३ ÷३ जनाको प्रतिनिधि छनोट हुनुपर्छ । प्रान्तको अध्यक्षलाई केन्द्रमा मूर्ति बनाएर राख्ने होईन कि अधिकारसम्पन्न बनाएर पठाउनु पर्छ । केन्द्रमा प्रान्तीय अध्यक्षलाई आमन्त्रित पदाधिकारीको रूपमा राख्नु भनेको हामीलाई नै अधिकारबाट बञ्चित गराउनु बराबर हो । त्यसैले प्रान्तीय अध्यक्षलाई पूरा अधिकार चाहिन्छ । 
 
अब कुरा आयो राजनीतिको । राजनीति त यस्तो ठूलो सञ्जाल भएको महासंघमा राजनीति घुस्नु हुँदैन । यो राजनीतिले ध्वस्त बनाउन सक्ने भएकोले यसमा राजनीति छिर्नु हुन्न । 
 
हामी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने सवालमा सकारात्मक छौं
गुणनिधी भट्टराई(माधव)
अध्यक्ष
तिलोत्तमा उद्योग वाणिज्य संघ
हामी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउने सवालमा सकारात्मक छौं । अहिले देखिएको गैरजिम्मेवारी पन र अस्वस्थप्रतिस्पर्धा हटाउनको लागि पनि अध्यक्ष वरिष्ठ उपाध्यक्ष बनेको मान्छे नै बन्नुपर्छ । हामी यसमा एकमत रहेका छौं । त्यस्तै अधिकारको कुरा गर्दा हामी प्रान्त र केन्द्रको विषयमा कस्तो अधिकार हुनुपर्छ भन्ने विषयमा छलफलमा रहेका छौं । छलफल चलिरहेकोले यस विषयमा हामी पछि मात्रै निष्कर्षमा पुग्न सक्छौं । 
 
भोट हाल्ने अधिकारको विषयमा पनि कोही प्रदेशले भोट हाल्ने त कोही जिल्लाले नै भोट हाल्ने भभन्ने विषयमा पनि ध्रुवीकरण भईरहेको छ । तर हामी भने के पक्षमा छों भने प्रान्त बनाउने हो भने प्रान्तलाई अधिकार चाहिन्छ । जिल्लालाई नियन्त्रण गर्ने भएकोले प्रान्त पावरफुल हुनुपर्छ भन्ने हाम्रो कुरा हो । 
 
सबैपदमा निर्वाचन आवश्यक रहेको छ
हेमराज बञ्जाडे
अध्यक्ष
दाङ उद्योग वाणिज्य संघ
सबैपदमा निर्वाचन आवश्यक रहेको छ । अध्यक्ष स्वतः बनाउने भन्ने कुरा हामीलाई मान्य छ छैन भन्दा पनि हामी मूल नेतृत्व निर्वाचनबाटै हुनु पर्छभन्ने पक्षमा छौं । हामी अध्इक्ष् भएपनि होस् होईन भने वरिष्ठ उपाध्यक्ष भनेपनि निर्वाचित हुनुपर्छ । अहिलेको जस्तो अध्यक्षले वरिष्ठ उपाध्यक्ष छान्ने र ऊ स्वतः अध्यक्ष बन्नेकुरा भने मान्य छैन ।
 
भोटिङ राईटको कुरा गर्दा जिल्लालाई पूर्णरूपमा केन्द्रमा भोट हाल्न पाउने व्यवस्था गरिनु पर्छ । म त पदाधिकारी त कम्तिमा निर्वाचित हुनुपर्छ भन्ने धारणा रहेको छ । कम्तिमा निर्वाचित हुने हो भने पदाधिकारीहरू पनि शक्तिशाली हुन्छन् । प्रान्तीय अध्यक्षलाई केन्द्रीय सदस्यभन्दा शक्तिशाली बनाउनुपर्छ किनभने उसले त पुरै प्रान्तको नेतृत्व गरिरहेको हुन्छ ।
 
केन्द्रीय अध्यक्ष वरिष्ठ उपाध्यक्षलाई बनाउनु भन्ने विषयमा शतप्रतिशत पोजिटिभ छौं
विमल रिजाल
अध्यक्ष
तुलसीपुर उद्योग वाणिज्य संघ 
 
हामी केन्द्रीय अध्यक्ष वरिष्ठ उपाध्यक्षलाई बनाउनु भन्ने विषयमा शतप्रतिशत पोजिटिभ छौं । अध्यक्ष भनेको अनुभवी र खारिएर भएको नेतृत्व हुनुपर्छ । केन्द्रमा जिल्ला अध्यक्षले भोट हाल्न पाउनुपर्छ । प्रान्तीय पदाधिकारी पूर्ण अधिकार सहितको हुनुपर्छ । उनीहरूलाई अधिकार देखावटी मात्रै हुनुहुँदैन । जिल्ला अध्यक्षले प्रान्तीय र केन्द्रीय दुबै नेतृत्व चयन गर्न पाउनुपर्छ । अरू भनेको जिल्लाको अधिकार कटौती नहुने गरी गरिएको संशोधन मान्य छ । 
 
लोकतन्त्रलाई विस्थापित गरेर तानाशाही शासन भित्र्याउन चाहँदैनौं
गोविन्द रिजाल
अध्यक्ष, 
वर्दिया उद्योग वाणिज्य संघ
 
यो विषयमा हाम्रो असहमति रहेको छ । हामी लोकतन्त्रलाई विस्थापित गरेर तानाशाही शासन भित्र्याउन चाहँदैनौं । हामीलाई अध्यक्ष नै निर्वाचित हुनुपर्ने सिस्टम नै चाहिन्छ । मुलुक एक गतिमा अघिबढीरहेको हामी अर्काे गतिमा अघि बढेर हुँदैन ।
 
त्यसले हामीलाई पुरानै सिस्टम चाहिन्छ । भोटिङ राईटको कुरा होस् या त अन्य कुरामा पनि । तर प्रादेशिक विषयमा भने प्रान्तलाई र जिल्लालाई पूर्ण अधिकारसहित प्रस्तुत गर्नुपर्छ । हामीलाई अधिकार खोसिएको विधान मान्य छैन । 
 
चण्डीदाइले गरेको कुनैपनि कुरामा विमती छैन
अमरबहादुर खड्का
अध्यक्ष
गुलरीया, उद्योग वाणिज्य संघ
 
हामीले अहिलेसम्म विधान हात पारेको त छैन । तर पनि केही प्रावधानहरू मैले अरूकै मुखबाट सुनेको हो । हामीले चण्डीदाइलाई सबैकुरा भनेर पठाएका छौं । हामीलाई के विश्वास छ भने चण्डीदाइले गरेको काममा हाम्रो कुनैपनि विमती छैन । हामीलाई त्यो सबै स्वीकार्य छ । 
 
स्वतः अध्यक्ष बनाउने विषय कुनैपनि हालतमा मान्य छैन
ज्ञामुराम न्याैपाने
अध्यक्ष
प्यूठान, उद्योग वाणिज्य संघ
यो कुनैपनि हालतमा हामीलाई मान्य छैन । राज्य एकातिर पुगेकोबेला हामीले लोकतन्त्र नास्ने गरी गर्नलागिएको अध्यक्ष नै स्वतः नियुक्त हुने व्यवस्था हास्यास्पद हो । यसमा हाम्रो कुनैपनि हालतमा मान्य छैन । अधिकारको कुरा गर्नुहुन्छ भने हामी आफूले भोटहाल्ने मान्छेले अर्काेलाई भोट हाल्ने तर त्यसैलाई आफूले भोट हाल्न नपाउने यो कस्तो विधान हो ।
 
त्यसैले जिल्लालाई स्पष्टसँग भोट हाल्न पाउने विधान बनाईनुपर्छ । होईन भने हामीलाई यो मान्य छैन । यसरी अहिले ल्याईएकान कतिपय विधानका कुराहरू हामीलाई स्वीकार्य छैन । तर मैले यी सबै कुरा मात्रै गरेको हो हामीले विधान पनि पाएका छैनौं । यस विषयमा विस्तृत कुरा चाहिँ म प्रस्तावित विधान भेट्टाएपछि मात्रै कुरा गरौंला । 
 
यसबाहेकका नेपालगञ्ज र कोहलपुर जिल्ला उद्योग वाणिज्य संघमा आवश्यक छलफल अआवश्इक रहेकोले अर्काेसाता मात्रै यस विषयमा जानकारी दिईने सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ