arrow

प्रदेश ४ का उद्योगीको आरोप: महासंघको नेतृत्वले एशोसिएट्‍सलार्इ मात्रै काखी च्याप्यो

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असोज ६ बिहिबार
State-4.jpeg
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हुँदैछ । कात्तिक दोस्रो साता बस्ने महासंघको विशेष साधारणसभाले संघीय उद्योग वाणिज्य महासंघको विधान पारित गर्दैछ । मुलुक संघीय प्रदेशमा भएपछि महासंघको स्वरूप पनि कस्तो बन्ने भन्ने विषयमा महासंघ भित्र पनि घनिभूत छलफल भएको छ । तर, महासंघको स्वरूप कार्य विभाजन र यसमा जिल्ला तथा नगरको अधिकारको विषयमा पनि घनिभूत छलफल भईरहेको छ ।
 
यस विषयमा जिल्ला उद्योग वाणिज्य संघहरूले पनि धेरै सुझावहरू प्रस्तुत गरिरहेका छन् । महासंघको अबको नेतृत्व कस्तो हुने र विधान कस्तो बन्ने भन्ने विषयमा अझै पनि एक मत भईसकेको छैन । अहिलेको विधानमा एकातिर नेतृत्व चयनको विषयमा चर्चा रहेको छ भने अर्कोतर्फ अधिकार बाँडफाँडको कुरालाई पनि चर्चाको विषय बनाईएको छ । 
 
जिल्ला उद्योग वाणिज्य संघमा कुरा गर्दा कतिपयले अझै प्रस्तावित विधान प्राप्त गर्न नसकिरहेको बताएका छन् । यसरी विधान प्राप्त नभएका तथा विधानमा सुझाव अटाउन नसकेकाहरूको पनि राय महासंघसम्म पु¥याउने लक्ष्य सहित हाम्रा कुरा डटकमले हरेक जिल्ला उद्योग वाणिज्य संघका सुझावहरू संकलन गरि प्रकाशन गर्दै आएको छ । 
 
जिल्ला उद्योग वाणिज्य संघहरू नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एउटा महत्वपूर्ण र प्रभावशाली क्षेत्र मानिन्छन् । महासंघको कुनैपनि निर्णयमा जिल्ला उद्योग वाणिज्य महासंघको धारणाले पनि निर्णयक भूमिका निर्वाह गरिरहेको हुन्छ । यसै विषयमा हाम्राकुरा डटकमले प्रदेश नं ४ भित्र पर्ने विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग अबको महासंघको कार्य विभाजन र जिल्ला तथा नगरको हैसियत कस्तो हुनुपर्छ भन्ने विषयमा गरिएको कुराकानीको अंशः
 
अहिलेका अध्यक्षले देखाएका छन् जिल्लाले नचुनेको नेतृत्व कस्तो हुन्छ भनेर 
श्रवण कुमार जोशी
अध्यक्ष 
गोरखा उद्योग वाणिज्य संघ ।
 
हामी संघीय शासन प्रक्रियाबाट जिल्ला उद्योग वाणिज्य संघको विधान संशोधन गर्न खोजीरहँदा मलाई त लाग्छ यो संघीय प्रदेशको भनेर विधान संशोधन गरिनु नै आवश्यक रहेको छैन । 
 
ल ठीकै छ प्रादेशिक संरचनाको लागि अनावश्यक रहर गरेपनि यो वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा भने मेरो पूर्णतयाः असहमति रहेको छ । यो देख्नमा जति राम्रो र उनीहरूले भनेझैँ स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा राखिएको छ । त्यति नै यो व्यवस्थाले जिल्ला उद्योग वाणिज्य संघको अधिकार र केन्द्रको हेर्ने दृष्टिकोण कम हुँदै जान्छ । 
 
हामीले अहिले नै देखेका छौं । स्वतः अध्यक्ष बनेका नेपाल उद्योग वाािज्य महासंघका अध्यक्षले कस्तो व्यवहार गरिरहेका छन् भन्ने कुरा, पशुपति मुरारकाले देखाएको बेवास्ताबाट पनि के कुरा बुझिन आएको छ भने हामीले स्वतः अध्यक्ष छान्ने प्रक्रियालाई अँगाल्यौं भने हामी बर्बाद हुन्छौँ, खत्तमै हुन्छौं । 
 
अहिलेको नेतृत्वले जिल्ला नगरप्रति यति बेवास्ता गरेको छ कि हामीले जे गरोस् जसो गरोस् कसैलाई केही मतदब छैन । मात्रै कुरा के मा अड्किकएको छ भने एउटा कार्यकाल सकिएपछि अध्यक्षको उम्मेदवारहरु भोट हाल्न पाउनुपर्ने थियो । 
 
यो पनि हटाईदिएपछि त जे गरिदिएपनि भईहाल्यो नि भन्ने सोच हुनसक्छ । त्यसैले प्रदेशलाई पनि केन्द्रमा लैजाँदा पदेन सदस्य होईन पदाधिकारीमा नै राख्नुपर्छ । 
 
 
सिस्टम त ठीक हो, नेपालको परिवेशमा काम छैन
राम कुमार श्रेष्ठ
अध्यक्ष 
लमजुङ उद्योग वाणिज्य संघ ।
अहिले प्रस्ताव गरिएको विधानमा उल्लेख भएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष  बन्ने कुरा मलाई सिद्धान्तमा राम्रो लाग्यो । यसले केन्द्रका मान्छेले भनेजस्तो अस्वस्थ प्रतिस्पर्धा हुँदैन या त कम हुन्छ भन्नु पनि स्वभाविक हो । 
 
तर, कुरा के छ भने नेपालको परिवेशमा यो ठीक छैन । नेपालमा केन्द्र हाबी छ र जिल्ला नगर उद्योग वाणिज्य संघलाई एउटा सानो हिस्सा पनि मानिँदैन । तर यसैको हिस्सा आधा रहेको छ महासंघमा । त्यसैले म त के भन्छु भने यो नेपालमा अहिले तत्कालको लागि काम लाग्दैन । 
 
हामी जिल्ला अध्यक्षले भोट हाल्न पाउनुपर्छ । यदि यस्तो भएन भने हामीलाई अर्थात् जिल्ला उल्द्योग वाणिज्य संघलाई कसैले पनि एकरति पनि मान्ने अवस्था रहेको छैन । त्यसैले यो हामीलाई अहिलोई त्यो स्वीकार्य छैन । अहिले आएका रोटरी, जेसिज जस्ता संस्थामा भएको भएचाहिँ यो व्यवस्था ठीक हो । 
 
गुटमा लविईङ गरेर जिल्लालाई बाईपास गर्ने प्रयास भयो 
नवराज सुवेदी
अध्यक्ष
स्याङ्जा उद्योग वाणिज्य संघ ।
 
अहिले आएको विधान पूरा जिल्ला र प्रदेशलाई बाईपास गर्नेगरी आएको छ । यसले अधिकारसम्पन्न बनाउनुपर्ने जिल्लाको अधिकार खोसेर महासंघलाई काठमाडौं केन्द्रीत बनाउन खोजीरहेका छन् । 
 
यसमा हाम्रो सहमति छैन । लोकतान्त्रिक व्यवस्थालाई समेत चुनौती दिनेगरी गर्नलागिएको अध्यक्ष नै मनोनित गर्नै सिस्टममा हामी कुनैपनि हालतमा स्वीकार गर्न सक्दैनौं । 
अब कुरा आयो प्रदेश अध्यक्षलाई केन्द्रमा के बनाउने भन्ने । 
 
प्रान्तलाई नै नेतृत्वगर्नेगरी निर्वाचित भएको प्रान्तीय अध्यक्षलाई कम्तिमा पनि उपाध्यक्ष भन्दा घटीको पदमा राखेर उपेक्षागर्न पाईँदैन । अहिले यस्तै जिल्ला उद्योग वाणिज्य संघ हेपिएर बस्नुपरेको छ । अहिलेको यो विधानपनि उनीहरूले भनेजस्तै भयो भने त ढुक्क हुनुस् जिल्ला तथा नगर उद्योग वाणिज्य संघ पूर्णतया अधिकारबाट वञ्चित हुन्छन् । 
 
विग हाउसले जिल्लालाई पेल्यो
जीवन बहादूर विश्वकर्मा
अध्यक्ष
म्याग्दी उद्योग वाणिज्य संघ । 
 
अहिले ल्याउन लागिएको विधान पुराना मुल्य र मान्यता भत्काउने बाहेक केही पनि छैन । अहिलेसम्म चलिआएको जिल्ला अध्यक्षले भोट हाल्न पाउने व्यवस्था लगायतका व्यवस्थालाई लत्याउँदै अहिले आवश्यक नै नभएको विषयमा विधान संशोधन गर्ने काम नेतृत्वले गरिरहेको छ । 
 
जुन आवश्यक पनि रहेको छैन । असहलेको विधान मै खाउँ मैलाउँ भन्ने प्रवृत्तिको रहेको छ । अधिकार आफैंलाई चाहिने र आफूले भन्दा बढी अरूलाई चाहिँ अधिकारबाट बञ्चित गराउने प्रवृत्रि हाम्रो लागि मान्य छैन । 
 
हामी पहिलेदेखि नै ठूला भनिने विग हाउसको पेलाईमा पिल्सँदै आएका छौं । अहिलेसम्म पनि यो प्रवृत्ति हाबी छ । तर यो विधान संशोधनमा हामीलाई यो विषयमा मान्य छैन ।
 
 
वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुनुपर्छ 
भीम बहादुर थापा
अध्यक्ष 
नवलपरासी उद्योग वाणिज्य संघ ।
 
हामी अहिलेको प्रस्तावित विधानको पूर्ण पक्षमा छौं । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बनाउनेदेखि प्रान्तीय अध्यक्षलाई पदेन केन्द्रीय सदस्य बनाउनेसम्मका सबै व्यवस्थाहरू हाम्रालागि मान्य छ । यस विषयले महासंघ स्वच्छ निष्पक्ष र अझ राष्ट्रिय मुद्दाहरूमा सशक्त रूपमा घुलमिलहुन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।
 
 
अध्यक्ष स्वतः बन्ने कुरा त कुनैपनि हालतमा मान्य छैन 
हरि ॐ लामिछाने
अध्यक्ष 
पर्वत उद्योग वाणिज्य संघ ।
 
मैले यो विषयमा धेरै साथीहरूसँग पनि कुरा गरेँ । आफ्नै विवेकले पनि सोचेँ । यसबाट म के निष्कर्षमा पुँगेँ भने यो व्यवस्था हाम्रो पक्षमा रहेको छैन । अध्यक्ष वरिष्ठ उपाध्यक्षलाई स्वतः बनाउने विषय अहिले आएर किन राख्नु प¥यो यो भन्दा अगाडि किन यो विषय आएन । 
 
के कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्नकाने लागि विधान जस्तो कुरा सीधै संशोधन गर्नुपर्ने ? अस्वस्थ प्रतिस्पर्धा हुन्छ भने अस्वस्थ प्रतिस्पर्धा गरेको कसले बाहिरबाट मान्छे आएर हो ? हामी आफैंले गरेको अस्वस्थ प्रतिस्पर्धा हामीले रोक्ने कि यसबाट भाग्दै हिँड्ने । 
 
वरिष्ठलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव मान्य छैन, तैपनि छलफल गरौं 
खगेन्द्र तुलाचन
अध्यक्ष
मुस्ताङ उद्योग वाणिज्य संघ ।
 
हामीलाई प्रस्तावित विधानमा राखिएको विषयको बारेमा केही जानकारी पनि छैन । हामीलाई कसैले विधान दिएको पनि छैन । मैले त अब साथीहरूसँग छलफल गर्ने हो । यस विषयमा साथीहरूको राय र उनीहरूले लिने कदमको आधारमा म पनि निर्णयमा पुग्नेछु । 
 
अब कुरा आयो मेरो व्यक्तिगत दृष्टिकोण मेरो व्यक्तिगत दृष्टिकोणमा त यस्तो अध्यक्ष पनि निर्वाचन नभई आउनु राम्रो हो जस्तो लाग्दैन । सही व्यक्ति भए त ठीकै हो । त्यस्तो हुन्छ भने विधानले नै लेखिरहनु पर्दैपरेन । खराव व्यक्ति, आयो भने त ध्वस्तै पारिहाल्छ नि । 
 
सदस्यताको विषयमा समेत हाम्रो विमती छ 
कृष्णराज पण्डित
अध्यक्ष
तनहुँ उद्योग वाणिज्य संघ ।
 
हामी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने विषयमा स्पष्ट विपक्षमा रहेका छौं । यो माग र प्रस्ताव नै जायज होईन भन्ने हामीलाई लागेको छ । नगरउद्योग वाणिज्य संघ बन्नको लागि २००० वटा व्यवसायीको संगठन हुनुपर्ने बनाएको छ । 
 
यसमा पनि हाम्रो विमती रहेको छ । अब प्रान्तीय अध्यक्षलाई केन्द्रमा पदेन सदस्य राख्ने विषयमा हाम्रो खासै विमती रहेको छैन । तर चिन्ताको विषयम के रहेको छ भने अहिले महासंघ व्यवसायिक हकहित भन्दा पनि व्यक्तिगत नाफाघाटामा सदस्यहरु केन्द्रीत रहेका छन् जुन दुखद् रहेको छ । 
 
स्वतः हुने कुरा त हुँदैहुँदैन
अमृत भट्टचन
अध्यक्ष 
गैँडाकोट, उद्योग वाणिज्य संघ ।
 
अध्यक्षलाई निर्वाचनबाटै चयन गर्नुपर्छ भन्ने पक्षमा हाम्रो उद्योग वाणिज्य संघ रहेको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको उपेक्षा हुनेगरी हामीले कुनैपनि का मगर्नुहँदैन । वरिष्ठ स्वतः अध्यक्ष बन्ने कुराले हाम्रो अर्थात् जिल्ला उद्योग वाणिज्य संघको उपेक्षा त पक्कै पनि हुन्छ । 
 
यस बाहेक पोखरा मनाङ लगायतका जिल्लाले भने यस विषयमा पछि जानकारी दिने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ