arrow

एन्फा चुनाव प्रतिनिधिः तीन जिल्ला र दुई क्लवबाट पुनरावेदन

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
ANFA.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्तिक ८ गते हुने चुनावमा मतदाता नामावलीमा भएको विवादले चरम रुप लिएको छ । 
 
विभिन्न चार जिल्ला र दुई क्लवका प्रतिनिधि विवादमा निर्वाचन समितिले कसैको दबाबमा निर्णय गरेको भन्दै चित्त नबुझेका जिल्ला र क्लवले पुनरावेदन गरेका छन् । 
 
बुधबार निर्वाचन समितिले प्रक्रियासमेत पूरा नगरी एन्फाका निलम्बित अध्यक्ष गणेश थापाको दबाबमा निर्णय गरेको भन्दै असन्तुष्ट जिल्ला र क्लवका पदाधिकारीले आपत्तिसमेत जनाउँदै पुनरावेदन गराएका हुन् ।  
 
पर्सा, सिन्धुपाल्चोक, झापा, फ्रेन्डस् क्लव र मच्छिन्द्र क्लवले निर्वाचन समितिको एकलौटी निर्णयको विरोध गर्दै पुनरावेदन गरेका हुन् । 
 
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ्गले निर्वाचन समिति गठन गर्ने बेलामा नै गलत भएको भन्दै विरोध गरे पनि जस्ताको तस्तै राखिंदा अहिले विवाद भएको बताए । 
 
एन्फामा तलवी वकिल अजित केसीलाई नै निर्वाचन समितिको संयोजक बनाएपछि विवाद बढेको नेम्वाङ्गको आरोप छ । उनी भन्छन्, एन्फाका प्रतिवन्धित अध्यक्ष गणेश थापाले नियुक्ति गरेका व्यक्तिलाई निर्वाचन समिति संयोजक बनाउनु नै विवाद हो ।’ उनले केसीले थापाका प्रतिपक्षीलाई गलत नजरले हेर्ने गरेको पनि बताए ।
 
नेम्वाङ्गले निर्वाचन समितिले दिएको निर्णय पक्षवादी भएको आरोप लगाए । एन्फाको विधानको धारा ३५ (४) मा कति जनाको कार्यसमिति हुने भन्ने नै उल्लेख नभएको भन्दै उनले पर्सालाई सोही आरोपमा सहभागीतामा बन्देज लगाएको भन्दै आक्रोश पोखे । 
 
उनी भन्छन्, ‘धारा ३६ (४) मा छ, तर त्यही धारामा टेकेर ०७० सालको साधारण सभामा भाग लिन पाइने अहिले भने कसरी फरक हुन गयो ?’ 
 
सिन्धुपाल्चोकमा गणेश थापा समर्थक अध्यक्ष वीरवहादुर खड्काले कार्यसमितिको कोरम पूरा नगरी गरेको निर्णयलाई सदर गर्ने निर्वाचन समितिले कोरम पु¥याएर बैठक गरेका उपाध्यक्षलाई भने मान्यता नदिएको तथ्य नेम्वाङ्गले सार्वजनिक गरे ।  
 
यसैबीच, नेम्वाङ्गले पुनरावेदन समितिमा वरिष्ठ वकिलहरु भएकाले पनि प्रमाणको आधारमा न्याय पाइने विश्वास गरे । उनी भन्छन्, ‘वरिष्ठ वकिलहरु भोलि न्यायाधीश बन्ने हैसियतका भएकाले कसैको प्रलोभनमा नपरी निष्पक्ष निर्णय दिनुहुनेछ ।’
 
पुनरावेदनको संयोजक गोपालकृष्ण घिमिरे हुन् । 
 
 
 
दावी विरोधको छिनोफानो के के भयो त निर्वाचन समितिमा ? 
 
निर्वाचन समितिले पर्सा, फ्रेन्डस् र मच्छिन्द्र क्लवलाई भागै लिन नदिने निर्णय गरेको थियो । 
 
पर्सा जिल्ला– अध्यक्ष मनोज भट्टराईले दिएको दावी विरोधलाई निर्वाचन समितिले भट्टराईकै अध्यक्षतामा१३ सदस्यीय कार्यसमिति हुनुपर्नेमा ११ सदस्यीयमात्र भएको भन्दै अहिले आएर निर्वाचन समितिले अवैध घोषणा गरेको छ । 
 
सिन्धुपाल्चोक जिल्ला– पुरानै अध्यक्षको हस्ताक्षरमा प्रतिनिधि आएकाले त्यसलाई वैधानिकता प्रदान गरिएको ।
 
मच्छिन्द्र क्लव – दुई वटा छुट्टाछुट्टै कार्यसमितिले दावी गरेकाले दुवैको वैधानिकता नदेखिएको । 
 
झापा जिल्ला – पुरानै अध्यक्षको हस्ताक्षरमा प्रतिनिधि आएकाले त्यसलाई वैधानिकता प्रदान गरिएको । 
 
सर्लाही जिल्ला – सर्लाहीको निर्णय उल्टिएको छ । पहिले मतदान अधिकारप्राप्त प्रतिनिधिको नाम राजेशकुमार मैनाली रहेकामा अहिले दावी विरोधमा उल्टिएर तुलसीराज घिमिरे आएका छन् । 
 
फ्रेन्डस् क्लव – अध्यक्ष रत्नविक्रम राणा र मुकुन्द विष्टको दुवै जनाको नाम आएकाले भन्दै खारेज गरेको छ । राणाले राजीनामा दिएको र नयाँ कार्यसमिति पनि नबनेको र वैधानिकता समाप्त भएको भनेर निर्वाचनमा भाग लिन नदिने निर्णय निर्वाचन समितिले गरेको छ । 
 
 
कार्तिक ८ गते हुने एन्फाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि अहिलेसम्म अध्यक्षका लागि ३ जना र उपाध्यक्षका लागि ५ जना आकांक्षी देखिएका छन् । 
 
उम्मेदवारी दर्ता भने कसैले गराएका छैनन् । दर्ता गराउने समय असोज ९ गते दिउँसो ३ बजेसम्म मात्र हो । 
 
अध्यक्षका लागि ३ तथा उपाध्यक्षका लागि ५ जनाले उम्मेदवारीका लागि उम्मेदवारी फर्म लिएर गएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ