arrow

माओवादीको साँठगाँठमा दुई चिनियाँ सुन तस्करलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० फागुन २४ बिहिबार
ramchandra-aryal-officer-ci.jpg

काभ्रे । नेकपा माओवादी केन्द्रका नेताहरुसँग साँठगाँठ गरी सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा सरकारी कर्मचारी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–१० स्थित बागमती प्रदेश सभा सचिवालयमा कार्यरत अधिकृत छैटौँ तहमा कार्यरत रहेका रामचन्द्र अर्याललाई पक्राउ गरेको हो ।

मकवानपुरका एसपी सीताराम रिजालका अनुसार काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई पक्राउ गरिएको हो । केही समयअघि मात्रै अर्याल यातायात कार्यालय ठूलो भर्याङ काठमाडौँबाट सरुवा भएर बागमती प्रदेश सभा सचिवालयमा पुगेका थिए । 

त्यहीबाट उनलाई पक्राउ गरिएको हो । अर्यालमाथि काभ्रेमा रहँदा दुई चिनियाँ नागरिक दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको आरोप छ । 

उनीहरु अहिले सुन तस्करीको आरोपमा थुनामा रहेका छन् । उनीहरु दुवै जनाको नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्पर्क रहेको थियो । 

काभ्रेमा उनी नायब सुब्बा रहेका बेला नागरिकता वितरण गरेको स्रोतले जनाएको छ । 

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो ।

छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । 

नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । 

उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ