arrow

अर्थ व्यवस्थाको मेरूदण्ड बोर्डरमा, नीति निर्माता काठमाडौँमा  

logo
सुमन खत्री, 
प्रकाशित २०८० चैत ३ शनिबार
suman-khatri-80-12-03.jpg

मुलुकको आर्थिक व्यवस्थाको मेरूदण्डको रूपमा रहेका भन्सार नाका (बोर्डर) हुन् । त्यो चाहे मधेस प्रदेशको होस् चाहे सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका नै किन नहोस् । 

त्यही नाकाबाट हुने आर्थिक कारोबार नै देशको अर्थतन्त्रको विकासको मेरुदण्डको रूपमा रहेको छ । यद्यपि मेरुदण्डको रूपमा रहेका भन्सार नाकालाई सरकारले अपहेलना गरिरहेको अवस्थामा व्यवसायीहरूको छाता संस्था उद्योग वाणिज्य संघको नेतृत्व लिएकाहरूलेसमेत चासो नदिएकाले अहिले आम व्यवसायीहरू व्यवसाय छोड्ने की निरन्तरता दिने भन्ने दोधारमा परेका छन् । 

आर्थिक विकासका सम्भावनालाई केन्द्र र प्रदेश  सरकारले अवमूल्यन गरेको मात्र हैन, उद्योग व्यवसायीदेखि उद्योगीका नीति नियम काठमाडौँको बन्द कोठाभित्र बसेर बनाउँदा त्यसको असर व्यवसायीमाथि पर्न गएको छ । 

सरकारको ढुकुटीमा सबैभन्दा बढी रकम मधेस प्रदेश र नेपाल भारत सीमाका बोर्डरबाट भरिने गरेको छ भने सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट सरकारी ढुकुटीमा योगदान पुर्याउने सूचीमा रहेको छ । सो नाकालाई विभिन्न बहाना देखाएर चिनियाँ पक्षले बन्द गर्दासमेत न सरकारले खोल्न चिनियाँ  पक्षलाई दवाव दियो न व्यवसायीहरूका नेता अर्थात् उद्योग वाणिज्य महासंघको नेतृत्व लिएका पूर्वअध्यक्षहरूले नै दिए । 

विभिन्न समयमा व्यवसायीहरूको दबाबलाई थेक्न नसकेर सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्व लिएकाहरूबाट सरकारलाई घच्घच्याउने कार्य गरे पनि त्यो प्रभावकारी हुन सकेन । जसका कारण अहिले सो नाका खुले पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । जुन दोष हाम्रै व्यवसायीक नेताहरूमाथि जान्छ ।

व्यवसायीहरूको हकहितका लागि लड्ने संस्था भएको भन्दै व्यवसायीलाई एकै थलोमा बाँधिन पुगे । सो संस्थाले व्यवसायीको हकहितमा गर्नुपर्ने कार्य गर्नमा संघको नेतृत्व लिएकाहरूको अकर्मण्ड्ताका कारण आम उद्योगीहरूले अहिले दुःख भोग्दै आएका छन् । 

समयमा नेपाल सरकार र चिनियाँ सकारलाई दवाब दिन सकेको भए चीनसँगको छोटो स्थलमार्ग बन्द हुने थिएन । यो अवस्था आउनुमा पहिलो दोष सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्व लिइसकेका र नेतृत्व पूरा गरी निवर्तमान हुनै लागेका अध्यक्षमाथि जान्छ । त्यसपछिमात्र सरकारमाथि यो दोष जान्छ । 

कुनै समय सरकारको राजश्व संकलनको सूचीमा तेस्रो नम्बरमा रहेको तातोपानी भन्सार अहिले प्रायः शून्य छ भन्दा पनि फरक पर्दैन । अर्थ–वाणिज्यको अवस्था, त्यसबाट नेपालले लिन सक्ने लाभ र उद्योगी व्यवसायीले भोगिरहेको समस्या केन्द्र सरकारलाई सुनाउन काठमाडौँ धेरै पटक गए पनि उनीहरूले प्रष्ट रूपमा सुनाउन र कुुरा राख्न सकेनन् । 

देशको अर्थ व्यवस्था धान्ने नाकाको रूपमा रहेको तातोपानी भन्सार कार्यालयबाट आर्थिक कारोबार रोकिँदासमेत केन्द्र सरकार वा प्रदेश सरकारको प्राथमिकतामा नपर्दा उद्योग धन्दा, व्यापार र जनशक्ति पलायन हुँदै गए । 

जुन रोक्न सक्ने आँट जिम्मेवारी लिएकाबाट हुन सकेन । सिन्धुपाल्चोकमा भएका उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन, काम गर्ने जनशक्ति विदेश हिँडिरहेका छन् । देशभरका नाकाहरू देखाउँदै काठमाडौँका तारे होटलभित्र बसेर ‘नीति निर्माण’ भयो, जुन नीति सवै भन्सार नाकामा लागू हुन नसक्ने अवस्थामा रहेको छ । 

व्यापारीका नेतादेखि राजनीतिक नेतृत्व र नीतिनिर्माताले समेत सो कुरा नबुझेकाले अधिकांश व्यवसायीहरू पलायन हुन पुगेका छन् । सरकार र व्यवसायीका नेताहरूले खास समस्या के–के हुन् भनेर काठमाडौँलाई बुझाउन सकेनन् । सरकारको अवैज्ञानिक कर तथा भन्सार नीतिका कारण व्यापारी र उपभोक्ता दुवै मारमा परेका छन् । 

अहिले सीमा क्षेत्रमा चोरीपैठारी मौलाउँदा औपचारिक रूपमा उद्योग र व्यवसाय गर्नेहरू गम्भीर समस्यामा परेका छन् । वाणिज्य र व्यापारका नीतिहरू अर्थतन्त्रसँग झुकाव रहेका छिमेकी मुलुकसँग भन्दा पनि उन्नत मुलुकहरू युरोप, अमेरिकाको उदाहरण हेरेकै कारण समस्या जहाँको त्यहीँ रहन गएको छ । 

एउटा स्मरणमा आएको घटना यहाँ राख्दा उपयुक्त होला । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले २९ औँ स्थापना दिवस गत साउन महिना मनायो । संघको कार्यालय सिन्धुपाल्चोकको बाह्रबिसेमा केक काटेर स्थापना दिवस मनाइरहँदासमेत उद्योगी व्यवसायीमाथि परेको समस्या समाधानका लागि कुनै पहल कदम गर्न चाहेनन् । 

जिल्लाका पूर्वअध्यक्षहरू उद्योग व्यवसायीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उपाय खोज्नेभन्दा पनि चर्चा बटुल्ने कार्यमा सीमित भए । संघको नेतृत्व लिन सबै उपाय प्रयोग गर्न पछि नहट्ने तर नेतृत्व लिएपछि आम उद्योगी व्यवसायी र संघमा आबद्ध भएका सदस्यहरूलाईसमेत बेवास्ता गर्ने गरेका कारण सिन्धुपाल्चोकमा बसेर व्यवसाय गर्ने गराउनेहरू अहिले भाग्नु पर्ने अवस्था आएको हो । 

सो समस्यालाई दीर्घकालीन रूपमा समाधान नगर्ने हो भने अब बाँकी रहेका उद्योगी व्यवसायीहरू पनि राताराता भाग्नु पर्ने या भूमिगत हुनु पर्ने दिन नआउला भन्न सकिँदैन । जसका लागि अब संघको नेतृत्व लिनेले काठमाडौँ महानगरपालिकाका मेयरको टिमले गरेझैँ आक्रामक रूपमा आफ्नो गतिविधि नगर्ने हो भने त्यसको असर सबैमा पर्ने देखिन्छ । 

संघको नेतृत्व गर्नेमा सामाजिक अवधारण भएको, समाज अनि त्यसपछि देश र अरुका लागि काम गर्ने नेतृत्वको आवश्यक रहेको छ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा । संघको ११ औँ अधिवेशन यही चैत ९–१० गते हुँदैछ । जति–जति अधिवेशन नजिकिँदै गएको छ त्यति नै संघको नेतृत्व लिनेको आकांक्षा पनि बढ्दै गएको छ । 

संघको अध्यक्ष भएर नाममात्र लेखाउने भन्दा पनि काम गरेर देखाउने नेतृत्वको खाँचो सिन्धु उद्योग वाणिज्य संघलाई परेको छ । संघको नेतृत्व लिन व्यवसायी साथीहरू जुरमुराउनु राम्रो पक्ष हो । तर यहाँ आफ्नो शक्ति प्रदर्शन गर्नेभन्दा पनि संघलाई आत्मनिर्भर बनाउने र आम व्यवसायीहरूको समस्यालाई निर्मूल पार्ने नेतृत्वको खाँचो परेको छ । 

संघको अध्यक्ष हुनु कुनै नौलो कुरा होइन तर नेतृत्वमा पुगेपछि सामाजिक भावनाले काम गर्नुपर्ने चुनौती रहेको छ । त्यो पूरा गर्छु भन्ने मित्रहरूले संघको जिम्मेवारी लिनु आवश्यक छ । अब संघमा आबद्ध भएका करिब २ हजार ५ सय सदस्यहरूले पनि काम गर्न सक्ने साथीलाई छान्नु आवश्यक रहेको छ । 

नेतृत्व छान्ने समयमा विचार पुर्याउन नसक्दा अहिले भएको समस्या हुने त परै जाओस् झन् थपिँदै जाने देखिन्छ । विभिन्न तबरबाट लामो समयदेखि संघमा रहेका व्यवसायी साथीहरूले पनि संघको नेतृत्व लिने घोषण गर्नुभएको छ । तर संघको नेतृत्वकै भूमिकामा रहेका मित्रहरूले व्यवसायीको समस्याको समाधानका लागि खासै ध्यान दिएनन् । 

संघको विभिन्न समूह उपसमूहमा बसेरसमेत व्यवसायीहरूको समस्या समाधान गर्ने पाटोमा कुनै योजना दिन नसक्ने साथीहरूले संघको नेतृत्व नै लिए पनि समाधान गर्ने छन् भन्ने विश्वास लिने ठाउँ छैन । 

व्यवसायीहरूको हकहितमा लड्ने भन्दै चुनावी समयमा मात्र भाषण दिनु उचित देखिँदैन । व्यापारी, व्यवसायी र उद्यमीका लागि केही गर्ने उद्देश्य राखेर नेतृत्व लिनुपर्छ । साथै नयाँलाई अवसर दिने परिपाटी बसाउनु पर्नेछ । साना तथा मझौला उद्योगी तथा साना घरेलुमैत्री उद्योगलाई लक्षित गरेर कुनै बैंकसमेत नहुनु र त्यस्ता उद्योगीका लागि सहयोग पुर्याउने बैंक स्थापना गर्नमा संघका पूर्व नेतृत्वकर्ता चुकेकाले सो कार्यसमेत गर्नु आवश्यक रहेको छ । जिल्लाभित्र रहेका साना तथा मझौला उद्योगहरू जस्तै कुटानीपिसानी मिलदेखि फर्निचर उद्योग हुँदै हाइड्रोपावरसम्म निर्माणको वातावरण बन्दा नै दक्ष जनशक्तिले जिल्लामै रोजगारी पाउने छन् । 

हाम्रो विगतका नेतृत्वले यतातिर कहिल्यै ध्यान दिन सकेनन् । भोलि हामी नेतृत्वमा पुग्दै गर्दा नेपाल–चीन व्यापारदेखि जिल्लाका साना तथा मझौला उद्योग हुँदै हाइड्रोपावरसम्मलाई जनताकै योजना बनाउने विषयमा हामीले पूरा ध्यान केन्द्रित गर्नुपर्ने अवस्था छ । 

हाम्रो हातमा नेतृत्व आउँदै गर्दा व्यापारदेखि उद्योगसम्म सहजरूपमा सञ्चालन गर्ने वातावरण निर्माणका निम्ति हामी राज्यसँग जुनसुकै मूल्य चुकाउन पनि तयार हुनेछौँ । हामीले केबल नेतृत्व प्राप्तिका निम्ति यी विषय उठाइराखेका छैनौँ । 

हामी नेतृत्वमा पुगौँ वा नपुगौँ माथि उल्लेख गरिएका विषय वस्तुहरूको कार्यान्वयन नगरी बस्ने छुट अब हामीलाई छैन । जुरेको पहिरोदेखि २०७२ को भूकम्पले बिग्रिएको तातोपानी बाह्रबिसे सडक खण्ड अझै पूर्णरूपमा बन्न सकेको छैन । 

जुन बाटो सुरक्षित बनाउन नसक्दा त्यसको असर राष्ट्रिय अर्थतन्त्रमा पर्न गएको छ । जुन जिल्लादेखि राष्ट्रिय अर्थतन्त्र विकासको मुख्य आधार नै बाटो भएकाले यसको पनि सुधारको खाँचो रहेको छ ।

यी माथिका सबै कार्य आजका मितिसम्मका अध्यक्ष स्वयंले पनि दवाबमूलक कार्यक्रम संचालन गर्न नसकेका कारण समस्या समाधान हुन सकेको छैन । सोही कार्य सम्पन्न गर्न युवा नेतृत्वका लागी हाम्रो जोड गर्दै अगाडि बढ्नु अत्यावश्यक भैसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ