arrow

दुई कर्मचारीसहित तीन जना कोदालो प्रहारबाट गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
Dilasaini_Gaunpalika.png

बैतडी । बैतडीमा कोदालो प्रहारबाट बिहीबार तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् । 

डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् । 

बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार किसनले आफ्नो घरमै श्रीमती पार्वतीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । त्यस लगत्तै उनकै घरमा डेरा गरी बस्दै आएका कलौनी र भट्टमाथि पनि किसनले कोदालो प्रहार गरेका थिए । 

घाइते तीनै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

किसनले कोदालो प्रहार गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ