arrow

कर्णालीमा पाठ्यपुस्तक वितरण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
janak-shikchiya-samagri-boo.jpg

नेपालगञ्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक बिक्री वितरण शुरु गरेको छ ।

प्राथमिकताअनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक क्रमशः वितरण गर्ने नीति अनुसार पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य शुरु गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताए । 

उनका अनुसार हाल व्यापारीहरुमार्फत प्याकिङको कार्य भइरहेको र अन्य व्यापारीहरु आउने क्रम जारी रहेकाले अबको एक हप्ताभित्रै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पुगिसक्ने प्रमुख ढुङ्गेलले बताए । 

सबै पाठ्यपुस्तकहरु सेटमा नै रहेकाले विद्यार्थीले विद्यालय खुलेको शुरुको दिनमा नै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेश नेपालगञ्जको रहेको छ । 

हाल भने हिमाली जिल्लाहरुलाई प्राथमिकातामा राखेर वितरणको कार्ययोजना बनाएको र क्रमशः पहाडी र तराईका जिल्लाहरुमा वितरण गर्दै लगिने प्रादेशिक प्रेश नेपालगञ्जका प्रमुखले ढुङ्गेलले बताए ।  

प्रादेशिक प्रेस नेपालगञ्जले गत वर्ष पनि सहज रुपमा समयमा नै पाठ्यपुस्तक पुर्याएको र अहिले पनि समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन पाउँदा खुशी लागेको प्रमुख ढुङ्गेलले बताए । 

प्रादेशिक प्रेस नेपालगञ्जबाट कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जारजरकोट, सल्यानसहित ५ जिल्ला र लुम्बिनीका रुकुम पूर्व, रोल्पा, दाङ, बाँके र बर्दियासहित ५ जिल्ला गरी १० जिल्लामा बिक्री वितरण गर्ने तालिका रहेको छ । 

जसमा हुम्ला जिल्लामा बहत्तर हजार थान, डोल्पामा एक लाख आठ हजार थान, रुकुम पूर्वमा एक लाख चवालीस हजार थान, रुकुम पश्चिममा एक लाख असी हजार थान, दाङमा दुई लाख अठासी हजार थान, बर्दियामा दुई लाख ५२ हजार थान र बाँकेमा दुई लाख ५२ हजार थान गरी जम्मा सत्र लाख बयासी हजार थान बिक्री गर्ने लक्ष्य रहेको जानकारी प्रमुख ढुङ्गेलले दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ