arrow

बेथानचोकका किसानलाई सुन्तलाको तालिम

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० चैत ९ शुक्रबार
farmer-orange-farming-80-12.jpg

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका ४ का किसानलाई सुन्तला खेतीबारे दुई दिने तालिम प्रदान गरिएको छ । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ४० जना किसानहरुलाई उक्त तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले जानकारी दिए । 

गाउँपालिकाको सुन्तला प्रवर्धन कार्यक्रम अन्तर्गत वडा नं ४ को सभाहलमा दिइएको तालिममा कृषि विकास कार्यालय काभ्रेकी बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले सहजीकरण गरेका थिए । 

कार्यक्रमबारे प्रष्ट पार्दै बेथानचोक ४ का अध्यक्ष कृष्णबहादुर लामाले बगैंचामा बोटहरु सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउने जस्ता समस्या किसानले भोग्नु नपरोस्, सुन्तलाजात फलफूलको स्वस्थ्य बगैंचाबाट राम्रो उत्पादन दिँदै आइरहेका बोटहरुले केही वर्षपछि नै रोगग्रस्त लक्षणहरु देखाइ क्रमिक रुपले फल सानो हुने भइ उत्पादन घट्ने र केही वर्षपछि नै बगैँचा अनुत्पादित हुने र बोट मर्न सक्ने हुँदा किसानलाई समयमै जानकारी गराउन गाउँपालिकाले तालिमको आयोजना गरेको बताए । 

बेथानचोक गाउँपालिका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतीबाट राम्रो लाभ लिन सक्ने बताए । उनले सुन्तलाजात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तलाजात फलफूल बगैंचा मासिएर जाने कारण भएको हुँदा गाउँपालिकाले यस क्षेत्रमा किसान सचेतिकरण गर्दै आइरहेको बताए । 

उनले सुन्तलाका लागि बेथानचोकको वडा नं ४ र आसपासका क्षेत्र उर्वर भएका कारण किसानले सुन्तलाको खेतीमा मेहनत गर्दा राम्रो लाभ लिन सक्ने बताए । उनका अनुसार फल झर्ने समस्या न्यूनीकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई किटनाशक औषधी र बिरुवाका लागि प्रोटिन ब्रेट वितरण गरिरहेको छ । 

यस्तै सुन्तला खेती बगैँचा निर्माणका लागि आगामी असारमा ५ हजार बिरुवा किसानहरुलाई बाँड्ने तय गरिएको पनि उनले जानकारी दिए । गाउँपालिकाले गत वर्ष पनि किसानहरुलाई प्रोटिन ब्रेट वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ