arrow

लुम्बिनी गुरुयोजना पूरा गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
hit-bahadur-tamang-minister.jpg

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न निर्देशन दिएका छन् । 

कोषका पछिल्ला गतिविधि र अवस्थाबारे आज यहाँ जानकारी लिँदै उनले बुद्धजन्मस्थल लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताए । 

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । 

उनले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने बताए । 

त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न पर्याप्त बजेटको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन मन्त्री तामाङसँग आग्रह गरे । 

छलफलमा सदस्यसचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि, यसको कार्यक्षेत्रलगायत विषयमा जानकारी गराए ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, परिषद्का सदस्य गोपिकृष्ण शर्मालगायतको उपस्थित थियो । 

लुम्बिनीमा अनलाइन टिकट प्रणाली आरम्भ

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकका लागि आजदेखि अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले आज सो कार्यको शुभारम्भ गरे । 

त्यस अवसरमा मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गरे । उनले यस कार्यले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अनलाइनमार्फत टिकट काट्ने कार्यले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए ।  

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पर्यटकहरु लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताए । 

लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी’ लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।

इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ