arrow

असिनापानीले हिउँदे बालीमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
asina-myagdi.jpg

बेनी । म्याग्दीमा सोमबार साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पुर्‍याएको छ ।

लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पुर्‍याएको हो ।

रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो ।

असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।

असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ ।

रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो ।

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यवालीसँगै तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको बेनी नगरपालिका-९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिए ।

‘‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक अनिसा पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’, कृषक बानियाँले भने ।

असिना पानीले हिउँदेबालीमा क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन् ।

अनिसा पानीले पुर्‍याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ