arrow

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता

logo
रासस,
प्रकाशित २०८० चैत १४ बुधबार
rajendra-lingden-rpp-usa-ambassdor-r-thompson.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको उक्त भेटघाटका अवसरमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएको पनि प्रवक्ता श्रेष्ठले बताए।

त्यस प्रसङ्गमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरेका थिए। साथै नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनः स्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले जानकारी दिए।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ