arrow

रमेश खरेलले रवि लामिछानेलाई जवाफ हैन राजीनामा नै बुझाए

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
swirnim-ravi-ramesh-kharel.jpg
तस्बिर– रमेश खरेल (दायाँ) लाई पार्टीमा स्वागत गर्दै रवि लामिछाने (बीचमा), फाइल ।

काठमाडौँ । इमानदार प्रहरीको उपमा पाएका पूर्वडीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएको विषयमा रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेपछि उनले जवाफको सट्टा राजीनामा नै पठाइदिएका हुन् । 

उनले राजीनामा पत्रमा पछिल्लो समय आएको परिवर्तनले पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्य नमिलेको भन्दै अब स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने निर्णयमा पुगेको उल्लेख गरेको स्रोतले बताएको छ ।  

खरेलले हाम्राकुरासँग भने खुलेर कुरा गर्न चाहेनन् । उनले भने, 'राजीनामा बुझाएको हुँ । त्यसको विस्तृत भने फेसबुकमा लेख्छु । अहिले भन्न असमर्थ भएँ ।' 

खरेलले पार्टीलाई नेपालीमा नभइ अंग्रेजीमा जवाफ पठाएकोसमेत बताए । रवि लामिछाने जसरी टेलिभिजनमा कार्यक्रम चलाएपछि राजनीतिमा होमिए अहिले खरेलले टेलिभिजनमै कार्यक्रम चलाउँछन्। 

स्पेस फोके टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउने क्रममा रवि लामिछाने कसरी गृहमन्त्री बने भन्ने खुलाएर कडा आलोचना गरेका थिए । 

खरेल रास्वपाको कुनै जिम्मेवारी पदमा नभए पनि बारामा गत वर्ष भएको उपनिर्वाचनमा पराजित भएपछि निष्क्रिय भएका थिए । 

केन्द्रीय सदस्य प्रस्ताव अस्वीकार गरेपछि उनी पार्टीमा निष्क्रियजस्तै बसेका हुन् । 

तर सभापतिको आलोचना भएपछि उनलाई अनुशासन समितिले सोधको स्पष्टीकरणको जवाफ नदिइ राजीनामा दिएका हुन् । 

यसले भने रास्वपालाई ठूलो धक्का लाग्ने देखिएको छ । 

सभपाति लामिछाने स्वयं सहकारी प्रकरणमा मुछिए पनि गृहमन्त्रीमा विराजमान छन् । उनले नैतिकताका आधारमा राजीनामा दिएर सहकारी प्रकरणका ‘क्लिन चिट’ भएर आउन आग्रह गरिरहँदा अन्य दलहरुका कमजोरी देखाएर शक्तिमै रमाउन खोजिरहेका छन् । 

संसदमा नेपाली कांग्रेसले उनको राजीनामा माग्दा उल्टै कांग्रेस दूधले धोएको पार्टी हैन भनेर ब्यङ्ग्य गरेका थिए । 

तर उनको त्यो ब्यङ्ग्यले उनको चरित्र झन् उदाङ्गो भएको विश्लेषण गरिएको छ । असन्तुष्ट भएपछि त्यसको कारण भन्ने अधिकार नेता कार्यकर्तालाई नदिएपछि उनी कुन मार्ग पछ्याउँदै छन् भन्ने स्पष्ट भएको छ । 

केही दिनअघि त उनले संचारमाध्यमलाई गृह प्रशासनले नै तह लगाउने गरी परिपत्र गरेका थिए । जहाँनियाँ शैलीमा ७७ ओटै जिल्लामा गरिएको परिपत्रको विरोध भएपछि उनी तत्काल पछि हट्न बाध्य भएका थिए । 

अहिले आएर एउटा इमानदार कार्यकर्ता पूर्व डीआईजी खरेलसँग स्पष्टीकरण सोधेसँगै लामिछानेको पार्टीको हैसियत पनि छर्लङ्ग हुँदै गएको छ । 

जसरी हात माथि उठाएर पार्टीमा खरेललाई स्वागत गरेका थिए त्यसरी नै अचानक खरेल पार्टीबाट बिदा हुनु परेको छ ।

वाक् स्वतन्त्रतासमेत नभएको पार्टीमा बस्नुको के अर्थ भन्ने मान्यता उनको हकमा लागू हुन्छ । 

खरेल नेपाल प्रहरीमा छँदा पनि स्पष्ट वक्ताका रुपमा चिनिन्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ