arrow

१२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे मनबहादुरले

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
alaichi.jpg

इलाम ।  जिल्लाको रोङ गाउँपालिका–१ बडारे टोलका किसान मनबहादुर राईले यस वर्ष १२ रोपनी क्षेत्रफलमा १५ मन अलैँची उत्पादन गरे । 

“मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ”, किसान राईले भने, “आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

 यहाँकै कतिपय किसानले ३० रोपनी क्षेत्रफलमा खेती गर्दा १० मन अलैँची उत्पादन गर्न सकेका छैनन् । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रुपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको छ ।

“यो पालिकामा चार हजार पाँच सय किसान हुनुहुन्छ, सुरुमा करिब तीन सय जना ‘गुरु किसान’ पहिचान गर्ने तयारी छ”, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भने, “किसानको उत्पादन, परिमाण, गुणस्तर र निरन्तर उत्पादनजस्ता कुरामा एकरुपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको हो ।” 

थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई ‘गुरु किसान’ का रुपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको अध्यक्ष स्याङ्बोले बताए । 

उनीहरुलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । “गुरु किसान भनेका अगुवा, मेहनती किसान हुन् । उनफहरूबाट अरुले सिक्ने हो, त्यसैले उनहरुलाई गुरु किसान भनिएको हो”, उनले स्पष्ट गरे । 

गाउँपालिकाले गुरु किसानमार्फत उत्पादकत्वमा प्रतिस्पर्धा गराउन खोजेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ