arrow

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
lukla_airport.jpg
तस्बिर-फाइल

सल्लेरी । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् । 

पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको पर्यटन व्यवसायी फूर्वा शेर्पाले बताए । 

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार आज काठमाडौँ र मन्थलीबाट लुक्लामा ४०  उडान तालिका भए पनि मौसमका कारण अधिकांश रद्द भएको छ । 

“मन्थलीबाट बिहान पर्यटक लिएर लुक्ला आएको चार वटा विमान मौसमका कारण लुक्लामा नै रोकिएको प्रमुख पन्थीको भनाइ छ । बिहान मौसम अलिक खुलेकाले विमान आयो तर फर्किन सकेन, भिजिभिलिटी नपुगेकाले जहाज यही रोकिएको छ”, उनले भने । बुधबार पनि मौसमले साथ नदिँदा लुक्लाको अधिकांश उडान स्थगित गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । 

सगरमाथा क्षेत्रबाट काठमाडौँ फर्किन चहाने १०० जना भन्दाबढी पर्यटकहरु अहिले लुक्लामा रोकिएको तारा एयरलाइन्स लुक्लाका प्रमुख अमृत मगरले बताए ।

मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौँ फर्किएका छन् । 

रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरु लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको स्थानीयवासी जगत थापाले बताए । 

उनका अनुसार काठमाडौँबाट सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटक उडान प्रभावित हुँदा मन्थलीमै रोकिएका पुगेका हुन् ।

‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाल बताए । उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ