arrow

इलाम २ निर्वाचन

बैशाख १५ गते इलाम २ रुख चिन्हमय भएर ब्युँझने महामन्त्री शर्माको दाबी

फोन रेकर्डका भरमा सांसद बर्खास्त गर्ने रवि लामिछानेले आफूमाथि लागेका सहकारीका दर्जनौँ आरोपछि किन राजीनामा नगरेको ?  माओवादीलाई विगतमा जस्तै रुखमै भोट हाल्न अपील

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
vishwaprakash-sharma-81-01-11.jpg

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ रुख चिन्हमय भएर ब्युँझने बताएका छन् । मंगलबार इलामको चुलाचुलीस्थित आइतबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले इलाम क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार डम्बर खड्काको जीत सुनिश्चित भएको दाबीसमेत गरे  । 

‘इलाम  क्षेत्र नम्बर २ का मतदाता विकासप्रेमी उम्मेदवार डम्बर खड्कालाई जिताउन बैशाख १५ को व्यग्र प्रतीक्षामा छ्न्’ इलाम २ उपनिर्वाचन केन्द्रीय समन्वय समितिका संयोजकसमेत रहेका शर्माले चुनावी सभालाई सम्बोधन गर्दै बताए ।

महामन्त्री सर्माले पार्टी पूरै एकढिक्का भएर उभिएको र अहिले पार्टी भित्रका सबै वैचारिक समूह एकताबद्ध भएर लागेकोले परिणाम कांग्रेसको पक्षमा आउने बताउँदै डम्बर खड्काको विजयले मात्रै इलाम २ को विकास सम्भव हुने जिकिर गरे  । 

ईलामको विकासको आधार तयार गर्ने अधिकार इलाम २ का मतदाताको हातमा रहेकोले इलामेली जनतालाई इलाम २ को  विकास गर्ने आधार तयार गरिदिन अनुरोध गर्दै डम्बर खड्कालाई जिताएर विकासको फाइल बोकाएर पठाए इलाम २ को विकासका लागि सिंहदरबारमा लड्न आफूहरु तयार रहेको महामन्त्री शर्माले बताए ।

धरानबाट दुई महिनाअघि इलाम आएका निर्भिक हराएको र गृहमन्त्री रवि लामिछाने पटकपटक इलाम आउँदा पनि उनको खोजीमा चासो नराखेकोतर्फ लक्षित गर्दै सहकारी ठगीको आरोपमा संसदीय छानबिन समिति बनाउन नमान्ने र दुई महिनादेखि हराइरहेका निर्भिक तामाङको खोजी गर्न नसक्ने गृहमन्त्री रवि लामिछाने नेतृत्वको पार्टीलाई मत दिएर केही पनि नहुने शर्माले तर्क प्रस्तुत गरे । 

‘कसैले कसैसँग टेलिफोनमा पैसा मागेको आरोप लाग्दा सांसद बर्खास्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूमाथि सहकारी ठगीका दर्जनौँ प्रमाण हुँदासमेत थाहा छैन भनेर बसेका छन् । फोन रेकर्डको आधारमा सांसद बर्खास्त गर्ने व्यक्ति आफूलाई दर्जनौँ आरोप लाग्दा थाहा छैन भनेर पन्छन मिल्छ ? यस्तो सभापति भएको पार्टीलाई कसरी भोट दिनुहुन्छ ?’, महामन्त्री शर्माले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता उपर हाकाहाकी ठगी गरेको शर्माले टिप्पणी गर्दै इलामेली जनता समक्ष  प्रश्न गरे । 

संघीयताको हकमा रास्वपाले गरेको हाकाहाकी ठगीको प्रमाण संघमा उम्मेदवार दिने तर प्रदेशमा नदिने भएको बताउँदै वैशाख १५ गते नै बझाङमा पनि प्रदेश सभाको निर्वाचन रहेको र त्यहाँ रास्वपाको उम्मेदवार नै नभएकोले संघीयता र सहकारीका क्षेत्रमा गरिएका कर्मले पनि रास्वपाको परिचय स्पस्ट  झल्केको शर्माले बताए । 

गत निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रमा आस्था राख्ने नेता कार्यकर्ताले कांग्रेसलाई भोट हालेकाले यसपटक पनि चुनाव चिन्ह रुखमा मतदान गर्न अप्ठेरो नमान्न शर्माले अनुरोध गरे । 

 नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवार डम्बर खड्का पहिचानको पक्षमा उभिएकाले पहिचान पक्षधर नेता कार्यकर्ताले पनि रुखमा भोट हाल्न हिच्किचाउनु नपर्ने शर्माले बताए । इलाम २ का अधिकांश मतदाता त्यही मनोविज्ञानमा रहेको शर्माले  टिप्पणी गरे ।  

शर्माले  इलाम २ मा कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने र पहिचानवादी तेस्रो शक्ति बन्ने सम्भावना रहेको बताए ।


शर्माले नाम नै नलिई नयाँ दललाई मत दिनु अघि गम्भीरतापूर्वक सोच्न मतदातालाई आग्रहसमेत गरे  ।

कांग्रेस उम्मेदवार डम्बर खड्का, इलाम कांग्रेसका नेताद्वय भेषराज आचार्य र केशव थापा लगायतले सम्बोधन गरेको कार्यक्रममा छिमेकी जिल्ला झापा र मोरङबाट कांग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ