arrow

किन कमजोर पारिँदै छ नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय ?

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
fncci-building-teku-11.gif
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको तात्कालीन अध्यक्ष महेशलाल प्रधानको कार्यकाल महासंघको इतिहासमा महत्वपूर्ण कालखण्डको रुपमा मान्ने गरिन्छ । 
 
उनको पालमा भएको आर्थिक सुदृढीकरणको प्रयासले गर्दाखेरी नै महासंघ मीरा होमको चारकोठे संस्थाबाट तीनकुनेको डाबर नेपाल बसेको घर हुँदै टेकुको अहिले बसेको सुविधासम्पन्न घरमा सर्न सकेको थियो । त्यो सबै कामको पृष्ठभूमि महेशलाल प्रधानको कार्यकालमा नै भएको महासंघलाई चिनेकाहरु बताउने गर्दछन् । 
 
वि सं २०४४ सालमा आफू अध्यक्ष बनेको केही समयपछि काठमाडौंकै कुनै पार्टी प्यालेसमा भएको एक कार्यक्रममा महासंघका अध्यक्ष प्रधानको भेट भयो विराटनगर जुट मिल उद्योगमा काम गरिरहेका बद्री प्रसाद ओझासँग । महासंघको इतिहासमा प्रधान पछाडिसम्मको समयलाई विश्लेषण गरेर अघि बढ्ने दूरद्रष्टाको रुपमा लिन्छन्’ उनलाई चिन्नेहरु । 
 
त्यस्ता प्रधानलाई पहिलेदेखि नै चिनजान राम्रै भएका ओझाले हाँसीठट्यौली पाराले आफूलाई पनि ‘महासंघमा काम लगाइदिन’ आग्रह गरे । उनी सरकारी जागिरबाट दिक्क पनि भईसकेका थिए । तर, त्यतिसाह्रो अस्तित्वमा आउन नसकेको संस्थामा गएर काम गर्न मन भएर नै भने आफूले कुरा नगरेको उनी बताउँछन् । 
 
उनको ठट्यौली प्रस्तावलाई महासंघका अध्यक्ष प्रधानले गम्भीर रुपमा मात्रै लिएनन् त्यस लगत्तै बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकबाट ओझालाई महासचिवको रुपमा नियुक्त गर्ने निर्णय पनि गराउन भ्याए । 
 
त्यतिबेला काजमा वाणिज्य मन्त्रालय तानिएका तथा मितव्ययिताको नाममा पाएको एउटा गाडी पनि सरकारलाई नै फिर्ता दिनु परेका ओझा भन्छन् ‘त्यतिबेला सरकारी तलबको त कुरै बाँच्नै मुस्किल थियो । खर्च पनि धान्न नसक्ने । त्यसैको बीचमा महेशलाल जीले उता, जिस्केर भनेको कुरालाई साँच्चै सम्झिएर केन्द्रीय समितिबाट नै पारित गराईस्क्नुभएछ ।’ 
 
यसरी त्यसभन्दा पहिले निर्वाचित महासचिव हुने गरेको संस्थामा सचिवालयलाई बलियो बनाउनकै लागि एउटा सक्षम सचिवालय प्रमुख खोजीरहेका प्रधानले ओझालाई महासचिव पदमा नियुक्त गरे । 
 
प्रधानको सोचाई जस्तै एकजना अनुभवी र सक्षम महानिर्देशक पाएकै कारण पनि हुनसक्छ महासंघ त्यसपछि विस्तारै सवल र संमृद्ध संस्थाको रुपमा अघि बढ्न थाल्यो । 
 
‘सुरूसुरूका केही दिन त बेकारमा यस्तोमा कर्मचारी बनेर आईएछ भन्ने पनि लागेको थियो ।’ ओझा सम्झन्छन् ‘महेशलाल प्रधान जीले सधैभरी तिमी कर्मचारी होईनौ, तिमीपनि महासंघको सदस्य नै हौ भनी–भनी काम लगाएका हुन् त्यतिबेला ।’ 
 
त्यतिबेलाको सचिवालय एकदमै अधिकार सम्पन्न रहेको थियो । लामो समय महासचिवहुँदै महानिर्देशक समेत बनेका ओझा भन्छन् ‘महासंघ बलियो बन्नको लागि यसको सचिवालयलाई पनि बलियो र अधिकारसम्पन्न राख्नुपर्छ ।’ 
 
तर, अहिलेको महासंघको नेतृत्व भने महासंघको सचिवालय कमजोर बनाउने खेलमा लागेको छ । पछिल्लो समय महासंघको नयाँ विधानले पनि महासंघलाई कमजोर बनाउने संकेत देखिएको जानकारहरुले बताउने गरेका छन् । 
 
विधानमा कोषाध्यक्षको पद थप गरिएको तर्फ संकेत गर्दै महासंघ निकट स्रोतले भन्यो ‘सचिवालयलाई कमजोर बनाउनेगरी भागवण्डा मिलाउनकै लागि कोषाध्यक्षको पद थपिएको छ । सचिवालयले आर्थिक लेखाजोखा गर्न नसक्ने र आर्थिक लेखाजोखा सदस्यबाट नै हुँदा महासंघका सदस्यहरु संस्थाप्रति भन्दापनि व्यक्तिवादमा केन्द्रीत हुने गरेको आरोप लागेपछि यस भन्दा अगाडि पनि रहेको कोषाध्यक्षको व्यवस्था हटाईएको थियो । तर, अहिले फेरि सोही पद थप गर्नुले महासंघको सचिवालय कमजोर बन्ने निश्चित नै छ । 
 
उता, लामो समयदेखि महासंघले महानिर्देशकको नियुक्ति पनि गर्न सकेको छैन । महासंघ निकट स्रोतका अनुसार गत चैत २९ गतेदेखि महासंघमा महानिर्देशकको पद खाली रहेको छ । अहिले निमित्त महानिर्देशकबाट नै महानिर्देशकको काम चलिरहेको छ । 
 
यसरी लामो समयसम्म महानिर्देशकको पद समेत परिपूर्ति नहुँदा महासंघको अहिलेको नेतृत्वले स्वर्ण महोत्सवमा गर्ने भनेर बनाएका कार्यतालिकाअनुसार अहिलेसम्म केही पनि काम हुन सकेको छैन । 
 
त्यसो त सही व्यवस्थापन गर्नको लागि महानिर्देशक नहुँदा अहिले महासंघले त्यति सक्रियताका साथ काम पनि गर्न नसकिरहेको महासंघ निकट स्रोतले जानकारी दियो । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ