arrow

सहकारी प्रकरणमा कांग्रेस कठोर बन्दै, योजना बनाउन संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेसले शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशनबारे छलफल गर्न बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको हो । 

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ । यसअघि कांग्रेसको वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । 

सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बारेमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको कांग्रेसप्रति सत्ताधारी दलहरु सकारात्मक नदेखिएपछि कांग्रेस रुष्ट भएको छ । 

मंगलबारमात्रै सभामुखले बोलाएको शीर्ष पाँच दलको बैठकमा पनि सत्ताधारी दलहरु सकारात्मक देखिएनन् । बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रविबारे छानबिन अस्वीकार गरेको थियो । 

एमाले र माओवादीले कांग्रेस गलत बाटोमा हिँडेको आरोप लगाएका छन् । 

शुक्रबारदेखि बजेट अधिवेशन शुरु हुँदैछ । यसअघि हिउँदे अधिवेशनमा कांग्रेसले रविबारे छानबिन गर्न समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको थियो । 

सरकारले विपक्ष दलको माग सम्बोधन गर्नुको सट्टा पेलेर जाने योजना बनाएपछि कांग्रेस पनि थप कठोर बन्ने भएको छ । 

यसअघि ग्वार्को ईपीएस प्रकरणमा सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग्ने रवि अहिले भने आफू सहकारी प्रकरणमा मुछिएका प्रमाणहरु दिनानुदिन बाहिरिँदासमेत पेलेर जाने मनस्थितिमा छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता सञ्चालनमा कुनै असर नहोस् भन्दै समीकरण मिलाउने नाममा छानबिन समिति बनाउन दिइरहेका छैनन् । 

जबकि सहकारीमा लाखौँ नेपाली ठगिएका छन् । यसलाई गम्भीर भएर रविकामात्र हैन सबै सहकारीको छानबिन गर्नुपर्नेमा सरकार भने टाढिँदै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ