arrow

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
akabare-khursani-news-a.jpeg

तेह्रथुम । जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दै आएका ४० घर परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन् ।

पोहोर गाउँका सबै परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भने, ‘विगतका पुराना बोटसहित गरेर यो वर्ष धेरै परिवारले कम्तीमा ३० देखि डेढ लाखसम्मको खुर्सानी बेचेका छन् ।

छोटो समयमा कम मेहनत र सजिलो तरिकाबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि उनीहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुलाई अकबरे खुर्सानीको खेतीबारे तालिम, बीउ अनुदान र व्यावसायिक बन्ने प्रेरणा दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले दिएको हो ।

पहिल्यैदेखि कृषि पेसा अङ्गाल्दै आएका उनीहरु खासै अन्नबालीको उत्पादन नभएपनि तरकारी, फलफूल र नगदेबालीबाटै घर खर्च चलाउँदै आएका छन् । यो वर्ष पनि बस्तीका धेरै किसानले गरेको अकबरे खेतीबाटै गुजारा चलाइरहेको अध्यक्ष खड्काले बताए ।

आफूले चार रोपनी जमिनमा लगाएको चार हजार बिरुवाबाट यो वर्ष एक लाख २० हजार आम्दानी भएको स्थानीय सीता खड्काले बताइन् । गाउँमा सबैले गरेको देखेर मैले पनि यसवर्षबाट थालेकी थिएँ, उनले भनिन्, ‘तर पहिलो वर्ष नै राम्रो उत्पादन भयो र आम्दानी पनि भएकाले सन्तुष्ट छु । गाउँका महिलाले घर खर्च, नानीहरुको पढाइ र चाडपर्वसमेत अकबरेकै आम्दानीबाट धान्न थालेको खड्काले बताइन् ।

गाउँमा भएको उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि खासै समस्या नभएकाले करेसासम्मै पुगेका सडक भएर शुक्रबारे बजार हुँदै धनकुटाको सिधुवामा पुर्‍याएर बिक्री गर्ने गरेको कृषक यानादेवी खड्काले बताइन्। यसवर्ष आफूले एक लाख ५० हजारको अकबरे खुर्सानी बेचेको उनले बताए ।

जिल्लामा अलैँची अदुवा र अम्लिसोपछि सबैभन्दा धेरै खेती र आम्दानी हुने नगदेबाली अकबरे खुर्सानी हो । अकबरेबाट बर्सेनी सात करोडभन्दा बढी आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ