arrow

३३ किलो सुन तस्करीका नाइके पक्राउ, एसएसपी खत्री हिरासतमै

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
gold-pure.jpeg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । 
 
सिआइबीका अनुसार उनीहरू ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए । 
 
पक्राउ परेकामध्ये केहीले भारतमा सुन पठाउने र केहीले नेपालकै सुनपसलमा बेच्दै आएका थिए । 
 
उनीहरूमाथिको अनुसन्धानबाट सुनपसलको पनि पहिचान हुने प्रहरीले जनाएको छ ।
 
अनुसन्धान अन्तिम चरणमा
 
सिआइबी निर्देशक डिआइजी नवराज सिलवालले तस्करीमा संलग्न थप व्यक्तिलाई पक्राउ गरिएको बताए ।
 
 ‘सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आइतबारसम्म अनुसन्धान पूरा गरी मुद्दा दायरको प्रक्रियामा जान्छौँ ।’ 
 
मुख्य नाइके अझै फरार छन् । तस्करीमा संलग्न प्रमोद श्रेष्ठलगायत व्यापारी दुबईमा रहेको प्रहरी स्रोतले बतायो । 
 
एयरपोर्टका भन्सार कर्मचारी तथा प्रहरीको मिलेमतोमा लामो समयदेखि दुबईबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो । 
 
सिआइबीले गत २१ पुसमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन बरामद गरेको थियो ।
 
एसएसपी श्याम खत्री सिआइबी हिरासतमै
 
अनुसन्धानका क्रममा भन्सार र प्रहरीकै मिलेमतो रहेको खुलेपछि एयरपोर्टका प्रहरी र भन्सारका कर्मचारीसमेत पक्राउ परेका छन् । 
 
एसएसपी श्याम खत्री सुन तस्करीको मिलेमतोकै आरोपमा सिआइबी हिरासतमा छन् । भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् ।
 
तस्करीमा संलग्न भएको आरोपमा विभागका ६ कर्मचारी निलम्बनमा परेका छन् भने अरू ३० जनालाई जिम्मेवारीबाट हटाई विभागमा हाजिर गराइएको छ ।  
 
पक्राउ परेका सबैलाई संगठित अपराध मुद्दामा सिआइबीले अनुसन्धान गरिरहेको छ । विगतमा सुन बरामद भएलगत्तै भन्सार तथा राजस्व कार्यालयमा बुझाउने गरिएकोमा यसपटक प्रहरीले उनीहरूमाथि संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएकाले सञ्जालमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन् ।
 
तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की पनि सिआइबी हिरासत छन् । सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । 
 
मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी साँझबाट विभिन्न सुनपसलमा त्यसरी तस्करीको सुन बिक्री गर्दै आएका थिए । 
 
तस्करी गरेर भित्राउँदा एक किलो सुनमा व्यापारीले आठ लाख रुपैयाँसम्म नाफा कमाउने गरेका छन् । 
 
उनीहरूले एकैपटकमा ३० किलो सुनसम्म विमानस्थलबाट भित्राउने गरेका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ